१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मनले देखेको संसार

कुनै समय थियो दृष्टिविहीनको संसार घरआँगनमै सीमित रहन्थ्यो। बाटोघाटो, शिक्षा र प्रविधिको अभावमा उनीहरू खुम्चिएका थिए। अहिले समय फेरिएको छ। शिक्षा र प्रविधिमा पहुँच बढेसँगै दृष्टिविहीनको संसार फराकिलो बनेको छ। त्यसको एक उदाहरण हुन् जोरपाटी आरुबारीका सुशील अधिकारी। दृष्टिविहीन अधिकारीलाई यति बेला सिंगो संसार घरआँगनजस्तै लाग्न थालेको छ।

हुन पनि हो, अधिकारीले चार वर्षको समयमा भारत, बंगलादेश, कोरिया, मंगोलिया, जर्मनी, स्पेन हुँदै अमेरिका तीनपटक घुमिसके। अमेरिका भ्रमणको क्रममा अधिकारीको चर्चित नियाग्रा फल्समा रमाएको समुद्रमा तैरिएको अनुभवमात्र हैन, मंगोलियाको मरुभूमिमा ऊँट चढेको, कोरियाको अत्याधुनिक बाथरुममा निथु्र्रक्कै भिजको, बंगलादेशमा माछा खाएको अनि स्पेनमा युवतीको अँगालोमा बाँधिएको अनुभव रहेछ। अंग्रेजी साहित्यमा एमए अधिकारीले पछिल्लो समयमा इमेल इन्टरनेटमा पहुँच पुगेसँगै यो खुसीको यात्रा सम्भव भएको सुनाए।

अन्तर्राष्ट्रिय अपांग दिवसतीन वर्षमा तीनपटक अमेरिका घुमिसकेका दृष्टिविहीन सुशील अधिकारीले शिक्षा र प्रविधिको पहुँचले दृष्टिविहीनको दुनियाँ फैलिएको बताए।

२७ वर्षीय अधिकारीले बाल्यकालमा आँखामा बढ्दै गएको समस्याका कारण १० वर्षको उमेरमा पूरै दृष्टि गुमाए। उनले हिँड्दै गरेको बाटो एकाएक अँध्यारो भयो, साथीहरू चिन्न छाडे तर उनले हिम्मत हारेनन्। सेतो छडीको सहारामा नयाँनयाँ बाटो पहिल्याउँदैछन्। उनी छडीको सहाराले संसार नाप्दैछन्।

नेपालका विभिन्न ठाउँ घुम्दै आएका अधिकारी आफ्नो पहिलो विदेश यात्रा भने सन २०१२ मा भारतको दार्जलिङ भएको सुनाउँछन्। कालिङपोङमा केही समय बिताएका उनले आफूले त्यहाँ सानो नेपाल भेटेको सुनाए। त्यसको एक वर्षपछि भारतीको राजधानी नयाँदिल्ली पुगेका उनले यात्रामा केही असजिलो भोगेको सुनाए। 'ट्रेनमा सिटको हानथाप हुँदोरैछ,' उनले भने, 'ठूलो ठाउँमा भए पनि सानासाना कुरामा समस्या पाइयो।'

भारतबाट सुरु भएको उनको यात्राले गति लिँदै गयो। अधिकारीले सन् २०१४ मा बंगलादेशको ढाका घुम्ने अवसर पाए। जीवनमा पहिलोपटक जहाज चढेेका उनी परिचारिकाको व्यवहारबाट निकै प्रभावित भएको सुनाए। ढाका ओर्लनेबित्तिकै भीडभाड महसुस भएको बताउँदै उनले हिँड्न समेत समस्या परेको सुनाए। दिल्लीमा महिलासँग पनि कुराकानी गरेका अधिकारीले ढाकामा भने त्यस्तो अवसर नपाएको बताए। 'महिलामा स्वतन्त्रताको कमी भएको महसुस भयो,' उनले सुनाए। बिहान बेलुका समुद्रका माछा खाएर रमाएका उनको समुद्रमा तैरिने रहर भने त्यहाँ पूरा भएन। उनको यो रहर सन् २०१४ मा एक कार्यक्रममा भाग लिन अमेरिकी सहर बोस्टन पुगेका बेला पूरा भयो।

बोस्टनसम्मको अधिकारीको यात्रा कम्ता रोमाञ्चक छैन! तोकिएको दिनको कार्यक्रम भ्याउन समयमै अमेरिका उड्न विमानस्थल पुगेका उनी प्राविधिक कारण एक दिन नेपालमै रोकिँदा अन्योलमा परे। जहाज एक दिन ढिलो हुँदा उनको सबै कार्यक्रमको तालिका प्रभावित भयो। तर, मनकारी सहयात्रीको सहयोगले उनको यात्रा सहज भयो।

काठमाडौंको विमानस्थलबाट उडेका उनी अबुधाबी विमानस्थलमा ट्रान्जिटमा रोकिए। अन्जान ठाउँमा अपरिचित मान्छेले उनको ह्विल चियर डोर्‍याए। उनले अंग्रेजीमा कुरा थाले। एकै छिनमा ह्विल चियर डोर्‍याउने मान्छेले सुशील नेपाली भएको थाहा पाइहाले। 'मेरो ह्विल चियर डोर्‍याउने दाइ स्याङ्जाको हुनुहुँदो रहेछ,' उनले भने, 'मलाई निकै खुसी लाग्यो। उहाँको सहयोगले त्यहाँको बसाइ सहज भयो।'

अबुधाबीबाट लामो उडानपछि अमेरिकाको बोस्टन विमानस्थलमा ओर्लनेबित्तिकै जीवनमा पहिलोपटक बिलकुलै नौलो अनुभव भएको उनले सुनाए। अमेरिकी भूभागको फरकफरक गन्ध, जमिनमा टेक्दा पनि फरक आवाज। सेतो छडीको फरक धुन। एकछिन त उनी टोलाएछन्। 'मतर्फ हेर' भन्दै इमिग्रेसन अफिसर बोलेपछि उनले टाउको उठाएको सुनाए।

उनी बोस्टनबाट न्युयोर्क जानचाहिँ केही समस्यामा परे। उनको टेलिफोनले काम गरेको थिएन। उनलाई लिन आउने मानिसको टुंगो थिएन। उनी तोकिएको समयभन्दा एक दिन ढिलो भइसकेका थिए। उनले एक अमेरिकी महिलासँग फोन प्रयोग गर्न अनुरोध गरे। ती महिला निकै दयालु परिछन्। उनी न्युयोर्कसम्मकै यात्रामा सहयोगी बनिन्। यात्राका क्रममा उनीहरूले थुप्रै कुरा गर्न भ्याए। उनीहरूबीच मित्रता गाँसियो। नेपालबाट आएका दृष्टिविहीनप्रति एक अपरिचित अमेरिकीले देखाएको सद्भाव उनको मनमा गढेर रह्यो। 'अमेरिकाप्रति भित्रैबाट पहिलोपल्ट सम्मान जाग्यो,' उनले भने, 'जब यात्रा सुरु गरें पाइलैपिच्छे खुसी बनें।' ती महिला अहिले पनि सम्पर्कमा रहेको उनले सुनाए।

तीनपटकको अमेरिका यात्रामा इमेल इन्टरनेटमार्फत बनाएका साथी र अमेरिकामा बसोवास गर्दै आएका छिमेकीले उनलाई त्यहाँको थुप्रै भाग घुमाए। उनले राष्ट्रपति भवनअगाडि तस्बिर खिचाए। पानी परेको समयमा बर्साती ओढेर नायग्रा झरनालाई महसुस गरे। 'झरनाको आवाज नै सुन्दर,' उनले भने, 'सिरेटोले ल्याएको पानीको थोपासँगै मैले झरनामा नुहाएँ।'

उनले प्लोरिडामा भएका अमेरिकी दृष्टिविहीनको भेलामा सहभागी हुने अवसरसमेत पाए। त्यहाँ उनले नेपालका दृष्टिविहीनको समस्या बताए। 'मैले नेपालका दृष्टिविहीनको अवस्था सुनाउँदा उनीहरू एकादेशको कथा सुन्दाजस्तै छक्क परेका थिए,' उनले भने, 'उनीहरूको अवस्था देख्दा मलाई सपनाजस्तो लाग्यो।' अमेरिकामा कुकुरको सहारामा डुल्ने दृष्टिविहीनले राज्यका हरेक अंगमा अवसर पाएको उनले सुनाए।

उनले सन् २०१६ अप्रिलमा दक्षिण कोरियाको राजधानी सोल घुम्ने अवसर पाए। उनले त्यहाँ ५० वर्षअघिको कोरियाको अवस्था नेपालको जस्तै रहेको तर अहिले नेपाल र कोरियामा आकाश–जमिनको फरक भएको बुझे। 'उति बेला नेपालले कोरियामा चामल पठाउँथ्यो रे,' उनले सुनाए, 'अहिले हामी त्यही देशसँग सहयोग माग्दैछौं।'

अमेरिकामा आधुनिक प्रविधिको अनुभव गरिसकेका अधिकारलाई कोरियाली प्रविधि अझै उत्कृष्ट लागेको सुनाए। हरेक ठाउँमा प्रविधिको समुचित प्रयोग भएको उनी सुनाउँछन्। कोरियामा आफू बसेको होटलको बाथरुममा स्विच थिच्न नजानेर रुझेको प्रसंग पनि उनले भन्न छुटाएनन्। 'दिसा धुने, फ्लस गर्ने, हात धुने स्विच हुँदा रहेछन,' उनले भने, 'मैले दबाएको स्विच नमिल्दा नुहाउन पुगियो।'

दक्षिण कोरियाबाट फर्केको केही समयमै मंगोलिया पुगेका उनले त्यहाँ भने अझै फिरन्ते जीवन बाँकी रहेको सुनाए। मरुभूमिमा ऊट चढेर यात्रा गरेका अधिकारीले एकै सिजनमा तातो र जाडो दुवै ठाउँको अनुभव भएको बताए।

उनी पछिल्लो समय युरोप यात्रामा पनि रमाए। जर्मनी पुगेका उनी त्यहाँको सेवाबाट प्रभावित त बने तर भाषा समस्याका कारण सेवा सहज हुन नसकेको सुनाए। 'सबै देशमा चलेको अंग्र्रेजी जर्मनी आएपछि कमजोर भयो,' उनले भने, 'सार्वजनिक सवारीमा समेत स्थानीय भाषामा बोलिँदा समस्या पर्‍यो। बर्लिन पर्खाल भएको ठाउँमा समेत पुगेका अधिकारीले देश एकीकरण हुँदा झनै बलियो महसुस भएको सुनाए।

उनी जर्मनीबाट स्पेनसमेत पुग्न पाए। स्पेन यात्रा रोमाञ्चक भएको उनले बताए। उनले एक दिन त स्पेनको संसद्अगाडि धर्ना बस्न समेत भ्याएछन्। निर्वाचन प्रणालीमा सहज पहुँचको माग राख्दै स्पेनका दृष्टिविहीनले आयोजना गरेको दुईघन्टे धर्नामा उनी पनि ऐक्यबद्धता जनाउँदै पलेंटी मारेर बसेछन्। उनले त्यहाँ धेरै कुरा अपांगमैत्री रहेको सुनाए। नेपालमा भर्खरै बनाइएका दृष्टिविहीन हिँड्ने पहेंलो बाटोमा समेत अवरोध खेपेका उनले त्यहाँ जहाँ जाँदा पनि सहयोग पाएको सुनाए। उनले त्यहाँका संग्रहालय दृष्टिविहीन मैत्री रहेको बताए। 'हेर्न मात्र हैन, छामेर महसुस गर्न पनि पाइँदो रहेछ,' उनले भने, 'यो मेरा लागि निकै रमाइलो बन्यो।' उनलाई अझ रमाइलो त त्यति बेला लागेछ जति बेला आगन्तुकलाई स्वागत गर्दा अँगालो मारेर चुम्बन खाने चलन थाहा पाए। स्पेनी साथीहरूले अँगालो मादर्ेै चुम्बन लिन थालेपछि त उनी केही बेर लजाएछन् पनि। 'सुरुमा त रक्सी खाएर मात्तिएका कारण यस्तो भएको होला भन्ठानेको थिएँ,' उनले भने, 'जब मानिसहरूसँग भेटघाट बढ्न थाल्यो, यो चलन हो भन्ने बुझें।'

अधिकारीले २५औं अन्तर्राष्ट्रिय अपांग दिवस मनाइरहँदा नेपालमा भने अपांगमैत्री वातावरण बनाउन अ्कभै धेरै प्रयत्न गर्नुपर्ने सुनाए।

यसैबीच 'हासिल गरौं दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य' भन्ने मूल नाराका साथ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपालको संयोजकत्वमा शनिबार २५औँ अन्तर्राष्टिय अपांग दिवस मनाइँदैछ। बृहत् जनचेतना र्‍याली तथा सभा आयोजना गरी कार्यक्रम मनाउने अपांग महासंघले जनाएको छ। शनिबार बिहान ८ः३० बजे भृकुटीमण्डपबाट जनचेतना र्‍याली सुरु हुनेछ भने सोही ठाउँमा बृहत् सभासमेत आयोजना हुने संघले जानकारी दिएको छ।

प्रकाशित: १८ मंसिर २०७३ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App