१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वार्तामा अझै बाधा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओए) मा वरिष्ठताका आधारमा डिन नियुक्तिमा सरकारी वार्ता टोलीले 'आलटाल' गरेपछि अनशनको २०औं दिन पनि सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति हुन सकेन।

अत्यन्त गम्भीर बनेको डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सरोकारवाला मन्त्रीहरूसहित उच्च सरकारी अधिकारी खटे पनि उपकुलपति खनियाँको असहमतिका कारण शुक्रबार पनि वार्ता विफल भयो।

स्वाास्थ्यमन्त्री गगन थापा सहमति गराउन मध्यरातसम्म खटेे पनि सफल भएनन्। केसीले माग गरेअनुसार वरिष्ठताका आधारमा डिन नियुक्ति गरेर राति नै सहमति गराउने प्रयास भए पनि अन्त्यमा त्रिवि रजिस्ट्रार बाधक बनेका थिए। एमाले कोटामा रजिस्ट्रार बनेका डिल्लीराम उप्रेतीले त्रिवि कार्यकारी परिषद्को निर्णयमा असहमति जनाएपछि बैठक बस्न सकेन।

स्रोतका अनुसार उपकुलपतिको राजीनामा र नयाँ डिन नियुक्तिबाहेक डा. केसीले उठाएका अन्य मागमा भने सहमति भएको छ। विश्वविद्यालयमा हुने नियुक्तिका लािग राजनीतिक दल निकट नभई योग्य, सक्षम र दक्ष व्यक्ति सिफारिस हुनेगरी मापदण्ड निर्माण गर्न सरकार तयार भएको छ। मापदण्ड निर्माण समितिको अध्यक्षता त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले गर्ने तय भएको छ। त्यसैगरी आइओएमलाई थप आर्थिक प्राज्ञिक स्वायत्तता दिनेसम्बन्धी सिफारिस गर्न छुट्टै समिति बनाउने सहमति भएको छ।

त्यसैगरी संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधयेकमा पूर्वसम्झौताअनुसारका बुँदा थप्ने, नयाँ चिकित्सा शिक्षा ऐन नआउँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन एवं विस्तारिक कार्यक्रमको अनुमति नदिनेसमेत सहमति भएको छ। एमबिबिएिस र बिडिएसको शुल्क गत सालकै कायम गर्ने सहमति भएको छ।

आइओएमका डिन डा. केपी सिंहले शुक्रबार दिउँसो राजीनामा दिएसँगै डा. केसी पक्षलाई सम्झौताका लागि दबाब परेको थियो। तर, केसीले नयाँ डिन नियुक्ति र त्रिवि उपकुलपति खनियाँको राजीनामासम्बन्धी मागमा अडान नछोडेपछि सरकारी पक्ष थप छलफलमा जुटेको थियो। मन्त्री थापा मुख्य सचिव सोमलाल सुवेदीसहित शिक्षा र स्वास्थ्य सचिवलाई लिएर प्रधानमन्त्री निवास पुगेका थिए। थापाले सुझाएको विकल्पमा सहमत भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर त्रिवि उपकुलपतिलाई आवश्यक निर्देशन दिएका थिए।

सोही अनुसार त्रिविले सिंहको राजीनामा स्वीकृत गरेर नयाँ डिन सिफारिसका लागि आइओएमकै पूर्वडिन डा. कुमुद काफ्ले संयोजकत्वको सर्च कमिटी बनाएको थियो। सर्च कमिटीले राति नै वरिष्ठताका आधारमा डा. जगदीशप्रसाद अग्रवालसहित तीनजनाको नाम सिफारिस गरेको थियो। सोलगत्तै खनियाँको विषय छानबिनमा पार्नेगरी सहमतिको वातावरण बन्न लागे पनि रजिस्ट्रार उप्रेती बिच्किएकाले प्रयास सफल भएन। उनलाई शिक्षामन्त्री र प्रधानमन्त्रीले समेत फोन गरेर निर्देशन दिएपछि भने शनिबार बिहान कुरा मिल्ने सम्भावना बढेको छ।

उता चिकित्सकहरूले प्रत्येक पल महŒवपूर्ण हुने भन्दै तत्काल निकास निकालेर डा. केसीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरेका छन्। अनशनस्थलमै महŒवपूर्ण औषधि उपकरण राखिए पनि मुटुमा समस्या आए केसीको जीवन रक्षाका लागि कुनै पनि प्रयास सफल हुने ग्यारेन्टी नरहने चिकित्सकले बताएका छन्।

चिकित्सक देशव्यापी स्वास्थ्य हडतालमा गइसकेको र डा. केसीको स्वास्थ्यसमेत गम्भीर भएपछि स्वास्थ्यमन्त्री गगन थापासहित सरकारी वार्ता टोली शुक्रबार मध्यरातसम्म सहमति जुटाउन सक्रिय भए पनि सफलता हात लागेन।

वरिष्ठता मिचेर २० दिनअघि डिन बनाइएका डा. सिंहले समेत पदबाट राजीनामा दिए पनि वरिष्ठताका आधारमा डिन बनाउन त्रिविले आलटाल गरेको सरकारी वार्ता टोलीको भनाइ छ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री थापा बिहीबार राति नै डिन सिंहलाई बर्खास्त गरेर नयाँ डिन नियुक्त गर्ने अन्तिम तयारीमा पुगेका थिए। सिंहले छलफल गर्ने भन्दै समय मागेपछि उनीहरू निर्णय गर्न रोकिएका थिए। सिंहले शुक्रबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका थिए। यसअघि उनले उपकुलपतिलाई राजीनामा बुझाएका थिए।

त्यसपछि सरकारी वार्ता टोलीले शुक्रबारै राजीनामा स्वीकृत गर्ने र नयाँ डिन नियुक्तिका लागि 'सर्च कमिटी' बनाएर त्यसको सिफारिसका आधारमा नयाँ डिन नियुक्त गर्न आग्रह गरेको थियो। खनियाँले भने डा. रमेशकान्त अधिकारी नेतृत्वको समितिले बिहीबार बुझाएको मापदण्डसम्बन्धी प्रतिवेदनका आधारमा काम गर्न समय लाग्ने भन्दै आग्रह मानेनन्।

वार्तामा सिंहको राजीनामा स्वीकृत भएर डा. काफ्लेको संयोजकत्वमा सर्च कमिटी गठन भइसकेको जानकारी शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले गराएका थिए। वार्ताकै बीचमा चिकित्सक संघका अध्यक्षसहित पदाधिकारी पुगेर सम्झौताका लागि दबाब दिएका थिए। उनीहरूले डिनको राजीनामा मात्रैमा सहमति गर्न दबाब दिएपछि वार्तास्थलमा केही बेर चिकित्सक–चिकित्सकबीच तनावको स्थिति पैदा भएको थियो।

चिकित्सक संघका प्रतिनिधिले ७२ घण्टाभित्र वरिष्ठताको आधारमा डिन बनाउने गरी सहमतिको प्रस्ताव गरे पनि डा. केसी पक्षधर चिकित्सकले डिन नियुक्त नभएसम्म नछोड्ने अडान दोहोर्‍याएका थिए।

साँझ सरकारी पक्षले तत्काल सिफारिस समिति बनाउने र समितिको सिफारिसका आधारमा डिन नियुक्त गर्ने भन्दै सहमतिका लागि डा. केसी पक्षधर चिकित्सकसँग आग्रह गरेको थियो। उनीहरूले उपकुलपति बर्खास्तगी वा राजीनामासहित नयाँ डिन नियुक्त नभई केसीलाई अनशन तोड्न मनाउन नसक्ने बताएका थिए।

डा. केसीले आफ्नो वार्ता टोलीलाई उपकुलपति खनियाँ नै कायम रहने र डिनसमेत रिक्त राख्ने हो भने फेरि पनि चलखेल हुने भन्दै दुवै माग पूरा नभई सम्झौता नगर्न निर्देशन दिएका थिए। 'त्रिविको गरिमा धान्न सक्ने मान्छे उपकुलपति हुनुपर्छ,' डा. केसीले भने।

डा. केसीले वरिष्ठताका आधारमा तत्काल डिन नियुक्त नभए फेरि आफू अनुकूलको मान्छे ल्याउन चलखेल हुने बताए। 'नयाँ डिन नियुक्ति र उपकुलपतिको बर्खास्तगीबिना सम्झौता हुन सक्दैन,' उनले भने।

बारम्बारको आग्रह नटेरेका कारण शिक्षा मन्त्रीसमेत खनियाँलाई हटाउने पक्षमा पुगिसकेका छन्। 'सक्तासाझेदार दलका प्रमुख नेता, प्रधानमन्त्री, मन्त्रीहरू, सबैले आग्रह गरे पनि उपकुलपतिले समस्याको मर्म बुझेर कामै गरिदिएनन्', वार्तामा संलग्न एक सरकारी अधिकारीले भने, 'अब नयाँ राजनीतिक सहमति बनाएर उहाँलाई हटाउनुको विकल्प छैन।'

सिंहलाई राजीनामा गराउन सहमत भए पनि उपकुलपतिलाई बर्खास्त गर्न सत्तासाझेदार कांग्रेस सहमत छैन। स्रोतका अनुसार शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उपकुलपतिको बर्खास्तगीबारे छलफल गर्ने तयारी छ।

डा. केसीका मागमध्ये वरिष्ठता आधारमा नयाँ डिन नियुक्ति र उपकुलपतिको राजीनामाबाहेकका विषय भने सहमतिनजिक छन्। विश्वद्यिालयमा नियुक्तिका लागि मापदण्ड बनाउने, नयाँ सम्बन्धन रोक्ने र चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति बनाउने विषयमा सहमति भइसकेको छ।

साथीको ज्यान बचाउन छाडें :  सिंह

डिनबाट राजीनामा दिएका डा. केपी सिंहले डा. केसीको ज्यान बचाउन आफूले पद छाडेको बताएका छन्। आफू पदमा बसिरहँदा नजिकका साथी डा. केसीको ज्यान जोखिममा पर्ने अवस्था आएपछि राजीनामा दिएको उनको भनाइ छ। त्रिवि उपकुलपतिलाई राजीनामा बुझाएलगत्तै पत्रकार सम्मेलन गरेर उनी केसीविरुद्ध खनिएका थिए।

सिंहले छोटो समयमा आइओएमा गुणस्तरीयता कायम राख्न काम गरेको दाबीसमेत गरे। उनले सुरुदेखि नै डा. केसीलाई चिनेको भन्दै अहिले केसीको चिन्तन र स्वभावमा व्यक्तिवाद हावी भएको आरोप लगाए। 'ऊ (डा. केसी) माथि अस्वाभाविक समूह हावी भयो', उनले भने, 'मेरो निष्कलंक मित्र विवादमा पर्दा मलाई दुःख लागेको छ '।

नयाँ कलेजलाई सम्बन्धन दिने सर्तमा डिन बनाइएका सिंहले सुरुदेखि नै काठमाडौं नेसनल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढिसकेको बताएका थिए। त्रिविले २०७० सालमा चोर बाटोबाट सम्बन्धन दिनेगरी थालेको प्रक्रियामा साथ दिएका सिंह काठमाडौं नेसनलको पूर्वाधार पुगेको भन्दै निरीक्षण प्रतिवेदन बुझाउने समितिको सदस्यसमेत थिए। उनीविरुद्ध निर्देशक हुँदा एमआरआई खरिदमा भएको अनियमितताबारे छानबिन जारी छ।

देशव्यापी हडताल

डा. केसीको जीवन रक्षाका लागि दबाब दिन सरकारी चिकित्सकले आकस्मिक बाहेकको सेवा छोडेपछि देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। चिकित्सकको संस्था नेपाल चिकित्सक संघले भने बिहीबार एक घण्टा र शुक्रबार दुई घण्टा ओपिडी सेवा बहिष्कार गरी अस्पतालअगाडि धर्ना दिने कार्यक्रम तय गरेको थियो। पोखरा, चितवन, बुटवल नेपालगन्जलगायत क्षेत्रमा चिकित्सक स्वःस्फूर्त रुपमा सेवा छोडेर डा. केसीको समर्थनमा उत्रिएका छन्। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले शुक्रबारदेखि नै ओपिडी सेवा छोडिसकेको छन्। वीर अस्पतालका आवासीय चिकित्सकले समेत काम छाडिसकेका छन्।

चिकित्सकको कार्यक्रममा अन्य स्वास्थ्यकर्मीले समेत साथ दिएका छन्। राजधानी र ठूलासहरसहित धादिङ प्राथमिक स्वास्थ्य चौकी, उदयपुर जिल्ला अस्पताल, जनकपुर, वीरगन्ज, दमौली, बझाङ, अर्घाखाँची, हेटौंडा, ललितपुर, धनकुटा, लुम्बिनी क्षेत्रीय अस्पताललगायतका ठाउँमा समेत चिकित्सकले प्रदर्शन गरेका छन्।

देशभर प्रदर्शनको तयारी

डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाब बढाउन शनिबार डा. केसी ऐक्यबद्धता गठबन्धनको आह्वानमा राजधानीलगायत देशका प्रमुख ठूला सहरमा प्रदर्शन हुने भएको छ।

गठबन्धनले डा. केसीको जीवन रक्षाका लागि त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र वरिष्ठताका आधारमा आइओएममा डिन नियुक्तिलगायतका माग पूरा गराउन दबाब दिन आमजनसमुदायसहित सबै पेसा र वर्गका व्यक्तिसँग आग्रह गरेको छ। शनिबार ११ बजे माइतीघर मण्डलमा जम्मा भएर र्‍याली र प्लेकार्डसहित बानेश्वर पुगेर सभा गर्ने तयारी भएको संयोजक डा. जीवन क्षेत्रीले बताए। क्षेत्रीका अनुसार देशका विभिन्न सहरमा हुने प्रदर्शनसमेतमा गरी पाँच लाखभन्दा बढी मानिस सडकमा उतारेर दबाब सिर्जना गर्ने तयारी छ।

प्रकाशित: १८ मंसिर २०७३ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App