१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिजुलीको खम्बा नसार्दा सडक निर्माणमा ढिलाइ

भजनी- कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक विद्युत खम्बा नसार्दा सडक निर्माणमा समस्या हुन थालेको छ।

नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनका कारण टीकापुरमा निर्माण भइरहेको छ लेन सडकको काम प्रभावित बनेको हो। सडक क्षेत्रभित्र ३३ केभी अन्तर्गतका १४ वटा खम्बा परेका छन्। त्यहाँ सात वटा टावर र सातवटा टिबलर खम्बा रहेको नेपाल विद्युत प्राधिकरण टीकापुरका छोटेलाल यादवले जानकारी दिए।

सङ्घीय सरकारको २८ करोड रुपैयाँको योजनामा १३ करोड रुपैयाँको बोलपत्र मार्फत निर्माण भइरहेको टीकापुर नगरपालिका–१ जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको छ। यसको निर्माण रमण केएस जेभीले सुरु गरेको छ। अहिले सडकमा माटो भर्ने र सम्याउने काम भइरहेको छ।

सडक निर्माणमा कार्यरत इञ्जिनीयर गगन शाहीले काममा निकै समस्या भइरहेको बताउँदै बारम्बार पत्राचार गर्दा पनि विद्युत कार्यालयले प्रसारण लाइन हटाउने बारेमा वास्ता नगरेको गुनासो गरे। 'हामीले पटक/पटक पत्र बुझायौँ, कैयौँ पटक भेट्यौँ, तैपनि कार्यालयले वास्ता गरेको छैन', उनले भने, 'काम गर्न निकै समस्या भइरहेको छ। विद्युत खम्बा नसारेकै कारण समयमै काम सम्पन्न गर्न कठिन हुनसक्छ।' उनले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत समस्याका बारेमा जानकारी दिएको भन्दै दुई वर्षभित्र सक्नुपर्ने काममा विद्युतको खम्बा नसारेकै कारण ढिलाइ हुनसक्ने बताए।

'विद्युत प्राधिकरणले हिउँद महीनामा विद्युतको खम्बा सार्ने कुरा गर्दैछ', शाहीले भने, 'जति ढिलो विद्युत प्राधिकरणले विद्युत खम्बा सार्छ, त्यति नै ढिलो काम सम्पन्न हुनेछ। अहिलेको अवस्थामा सडक निर्माणको बाधक विद्युत खम्बा नै भएको छ।'

नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख हिमांशु यावदले भने यस बारेमा लिखितरूपमा कुनै जानकारी नआएको बताए। उनले केही व्यक्तिले फोनमै सोधेको र आफूले फोनबाटै जवाफ दिएको बताए। 'केही व्यक्तिले फोनमा सोधेका थिए। मैले पनि फोनमै जवाफ दिएको हुँ', उनले भने, 'कसरी सार्ने ? कहाँ सार्ने ? भन्ने बारेमा आधिकारिक रूपमा कोही आएको छैन। योजनासहित सरोकारवाला आए म विकल्प खोज्न तयार छु।'

तत्कालीन अवस्थामा टीकापुर नगरपालिका–१, ब्लक नं–११ स्थित कार्यालयसँगै रहेको सव–स्टेशनसम्म पुर्‍याउन ३३ केभी लाइनबीच बजारबाटै ल्याइएको थियो। तर, केही वर्षअघि सव–स्टेशन मुनुवा रोडस्थित खाध्य गोदाम नजिकै सारिएको छ। बजार क्षेत्रको ३३ केभीए विद्युत लाइनसँंगै अन्य स–साना विद्युत लाइनसमेत हटाउनुपर्ने देखिएको छ। निर्माण कम्पनीले विद्युत खम्बाका कारण काम गर्न समस्या भइरहेको भन्दै निर्माणको काममा समेत सुस्तता देखाएको छ।

विद्युत खम्बाको समस्या देखाएर काम लम्ब्याउने ठूलो आधार निर्माण कम्पनीले पाएको स्थानीय व्यापारी विकास चौधरीले बताए। 'राज्यकै कमजोर नीतिका कारण नै विकास निर्माणको काम लम्बिरहेको छ', चौधरीले भने, 'जमरा पुलदेखि बसपार्कसम्मको सडकको समस्या होइन यो सबै ठाउँको समस्या हो। काम सुरु हुनुभन्दा पहिला नै विद्युत खम्बा हटाइएको हुनुपर्ने हो।' रासस

प्रकाशित: १३ कार्तिक २०७६ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App