१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा डिसेम्बरमा आमनिर्वाचन, तल्लो सदनबाट प्रस्ताव पारित

लण्डन- बेलायतमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने भएको छ। यहाँको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै डिसेम्बर १२ मा आमनिर्वाचन हुने निश्चित भएको छ। 

ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमचुनाव हुनेछ। निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसद उभिएकाे बीबीसीले जनाएकाे छ।

प्रधानमन्त्री जोनसनले मुलुक र ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर जनतालाई दिइनुपर्ने बताएका छन्। आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास छ।

संसद्‌मा उत्पन्न गतिरोधले नै ब्रेक्जिट जनवरी ३१ तारिखसम्मका लागि लम्बिएको हो। प्रधानमन्त्री जोनसनले ब्रक्जिट प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका निम्ति सिङ्गो देश एकसाथ उभिन आवश्यक भएको बताए। 

प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मुलुकलाई रुपान्तरण गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तो भएको बताए। अहिलेसम्म मुलुकले नदेखेको परिवर्तन ल्याउनका निम्ति आफ्नो पार्टीले एकदमै महत्त्वाकाङ्क्षी र फरक किसिमको चुनावी अभियान चलाउने उनको भनाई छ। 

प्रकाशित: १३ कार्तिक २०७६ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App