१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहकारी पीडितलाई तिहारमा पनि पीडा

बाँके- सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। ईद, बकरईद, दसैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन्।
 
आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो छैन। 'बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्', रकम फिर्ताका लागि पहल गर्न गठित सङ्घर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्छन्।

नेपालगञ्ज–१७ परसपुरका अकबाल बेहना आठ लाख रुपैयाँभन्दा बढी रकम सहकारीमा फसेको र पर्वका बेला पनि पैसा नपाएको गुनासो गर्छन्। १० लाख रुपैयाँ सहकारीमा बचत गरेकोमा प्रेमलाल लोहार अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको सुनाउँछन्।

आफ्नो रकमका लागि काम छाडेर आन्दोलन गर्नु परिरहेको पीडितहरू बताउँछन्। बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्छ भनेर राखेको छ लाख रुपैयाँ नपाएको बताउँछन्। सहकारीमा समस्यामा आए पनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्नेलगायतको प्रयास भए पनि सफल हुन सकेन। धितो राखेर ऋण लिएकाहरू कहाँ ऋण तिरेर आफ्नो बन्धक रहेको सम्पत्ति फिर्ता लिने हो भन्ने अन्योलमा छन्।

प्रहरीले अनुसन्धानपछि ४१ जना विरुद्ध अदालतमा दायर गरेकामा उनीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भइसकेको छ। तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि सुरु हुने भएको छ। रासस

प्रकाशित: १२ कार्तिक २०७६ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App