१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिहारमा पूजा गर्नलाई गाई पाइएन

खलंगामा गाई पूजाको लागि गाई डुलाउँदै स्थानीय किसान बिजयस्वरा कार्की। तस्वीर : जनक केसी/नागरिक

जाजरकोट- सोमबार जाजरकोट खलंगाका स्थानीयहरु बिहानै देखि गाई खोज्न हैरानी गर्दै थिए। तिहारमा पूजा गर्ने गौमाताको रुपमा पूजिने गाईको खोजीमा उनीहरुलाई हैरानी परेको थियो। गाईपूजा गर्नका लागि बजार र घरआँँगनमा कसले गाई ल्याउला र पूजा गरौंला भनेर उनीहरु व्यग्र पर्खाइमा थिए।

बिहानै देखि हातमा पन्चेपाला भरि टीका, हजारीको माला, नगद रुपैयाँका दक्षिणा र गाईका लागि मिठा मिठा खानेकुरा लिएर घरको आँगनमा उनीहरु कुरेर बसेका थिए। खलंगा बजारमा मात्र होइन गाउँ बस्तीमा बस्ने सर्वसाधारणहरुले समेत गाई पाल्न छोडेपछि तिहारका बेला जिल्लामा पूजा गर्ने गाईको अभाव भएको हो।

आधुनिकता, प्रविधि र देखाशिखी, सुखी जीवनशैलीका नाममा कृषि उत्पादनमा अर्गानिक खेती किसानी शुन्य हुदैं गएपछि बजार र गाउँमा गाई पाल्नेहरुको संख्या नगन्य हुदैं गएको छ। यसैको परिणामस्वरुप जाजरकोट खलंगाका स्थानीयहरुलाई तिहारमा पूजा गर्ने गाई पाउँन हम्मे हम्मे परेको हो। स्थानीयहरुका लागि बजारमा दुईवटा गाई घुमाउँदै आएका किसानहरुले सबैका घर आँगनसम्म गाई पुर्‍याउदै सर्वसाधारणको गाईपूजा गर्ने धोको पुरा गरिदिएका थिए।

गाई खोज्ने हैरानी यो वर्षको मात्र होइन धेरै वर्ष अघि देखि भएको स्थानीय व्यवसायी प्रेम नेपालीले बताए। गाउदेखि बजारसम्म रहेका किसानहरुले समेत गाई पाल्न छोडेपछि खलंगा लगाएतका बजारहरुमा  दुध गोबरको पनि चरम अभाव देखिएको उनले बताए। तिहारमा गाईपूजाको दिन मात्र गाईको आवश्यक्ता महशुस गर्ने किसानहरु र गैरकिसानहरुले गाई पाल्ने तिर भने ध्यान नदिएको व्यवसायी नेपालीले बताए।

किसानहरुले अल्छी गरेर गाई पाल्न छाडेका कारण तिहारमा पूजा गर्ने गाई खोज्न हैरानी हुने गरेको स्थानीय कुशलराज थापाले बताए। उनले सबैका घरमा गाई छैनन् बजार भरि एक दुईवटा गाई घुमाएर पूजा गराइन्छ अनि पूजा गर्ने पालो पनि कुर्नुपर्ने अवस्था भएको बताए।

केहि आर्थिक आय हुने उद्देश्यले एक दुई जनाले गाउँतिरबाट एक दुइदिनका लागि गाई ल्याउने पनि गरेका छन्। खलंगावासीको  गाई पूजा गर्ने धोेको पुरा गरिदिन आफुले बजारमा गाई घुमाएको बिजयस्वरा कार्कीले बताइन्।

आफुले पनि खलंगाको क्षेत्रवालामा एउटा दुध र गोबरका लागि गाई पालेको बताइन्। तिहारका बेला खलंगावासीको गाई पूजाको धोको पुरा गरिदिन बजारमा गाई पुर्‍याएको पनि उनले बताइन्। यस्तै अर्का एक किसानले पनि तिहारमा गाईको पूजा गर्न चहाने सर्वसाधारणको धोको पुरा गर्न आफुले गाई बजारमा घुमाएको बताए। उनले केहि दुई पैसा कमाई पनि हुने र तिहारमा मान्छेहरुले गाईको पूजा पनि गर्न पाउने भएपछि आफुले सबैका घर घरमा गाई पुर्‍याइ दिएको बताए।

पछिल्लो समयमा गाउँ देखि सहरवजार सम्मका सबै सर्वसाधारणहरु आफैं उत्पादन गरेर भन्दा किनेर खाने भएपछि गाईको मात्र होइन अर्गानिक खाद्य बस्तुको चरम अभाव हुन थालेको छ। बजारमा  भैसीको सिमित दुध बाहेक अन्य अधिकांश कृषि उत्पादन अर्गानिक नभएको स्थानीय सरोकारवालाहरु बताउँछन्। राज्यले कृषि क्षेत्रमा मनग्य लगानी गरेको बताए पनि नतिजा भने नगन्य जस्तै भएको  उनीहरुको भनाइ छ।

जिल्ला सदरमुकाम देखि गाउँका बस्ती र बजारहरुमा भारतबाट आयात गरिएका अखाद्य बस्तुहरु छ्याप्छ्याप्ती भएपछि स्थानीयहरुमा दुख गरेर शुद्ध खाद्य उत्पादन गर्ने तर्फ कुनै रुचि नभएको कुशेका स्थानीय पत्रकार कालीप्रसाद थापाले बताए। गाउँमा कुनै पनि अर्गानिक खानेकुरा पाउन लगभग छोडिसकेको थापाले बताए।

स्थानीय उत्पादन बढाउन र अर्गानीक कृषि उत्पादनका लागि सरकारले विशेष अभियान सञ्चानल गरे मात्र किसान र गैरकिसानका घरघरमा अर्गानीक खाद्यन्न र गाई भैसीहरु उल्लेख्य मात्रामा देख्न पाइने छ।  

यसका लागि कृषि उत्पादन गर्न राज्यले गरेको लगानीको कडा अनुगमन हुन जरुरी देखिएको छ।
 
     
 

प्रकाशित: १२ कार्तिक २०७६ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App