१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दियोको उज्यालो

काठकाडाैं – लक्ष्मी पूजाको दिन बालिने दियो माटोको बनाउन अहिले भक्तपुरस्थित कुमाले टोलका रोसन प्रजापतिको परिवार व्यस्त छ। फूल र दीप तथा उज्यालको पर्वको रुपमा चिनिने तिहारमा अन्य समयभन्दा बढी माग हुने भएकाले उनको परिवारलाई माटाका भाडा बनाउन भ्याइनभ्याई भएको हो।

दैनिक दुई दर्जन बिक्री नहुने पाला तिहारको समयमा दैनिक तीन हजारसम्म बिक्री हुने गरेकाले आफ्नो परिवार दसैं अगाडिबाटै काममा जोडतोडका साथ लागेको उनले सुनाए। तिहारमा माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चा, घडालगायत सामग्रीको महत्वसँगै माग बढ्ने उनको भनाइ छ।

विगत ३० वर्षदेखि उक्त पेसामा आवद्ध रोसनसहित उनको पाँच जनाको परिवार तिहारलाई लक्षित गरेर माटोको भाडा बनाउने, सुकाउने तथा उक्त बनेका भाडालाई पोल्ने काममा व्यस्त रहँदै आएको करिब एक महिनाभन्दा बढी भइसकेको छ।

भक्तपुर नगर तथा मध्यपुर थिमि क्षेत्रका बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, मध्यपुरको चपाचो, लिवालीलगायत स्थानीय प्रजापति समुदायलाई अहिले उनको जस्तै कामको चाँप रहेको पनि उनी बताउँछन्। ‘अन्य समयभन्दा तिहारको समयमा माटाका भाँडाको बढी माग हुँदै आएको छ,’ रोशनले भने, ‘आफ्नो पुर्खाले अँगालेको पेसा भनेर काम गरिरहेका छौं। अबको आउने पुस्तामा भने यो सम्बन्धी चाँसो घट्दै गएको छ।’

आफू बालकै हुँदा बुवा बाजेसँगै बसेर मुछेको माटो बिगार्दै पेसामा लागेको बताउने उनी उक्त व्यवसायबाटै आफ्नो परिवारिक खर्च चलिरहेको बताउँछन्। ‘आफूले सिकेको सीपको सदुपयोगबाट र आफ्नो संस्कृति र परम्परालाई जीवित राखिरहेका छौं।’ पछिल्लो पुस्तामा आफ्नो पेसाप्रतिको मोह घट्दै गएकामा भने रोशन केही खिन्न देखिए। ‘अहिलेको जमना प्लास्टिक र बिजुलीले खाइसक्यो। पहिलेको जस्तो नजिक माटो पनि पाउन छाड्यो। पेसा संकटमा जादैछ,’ उनले भने।

गत वर्ष ठ्याक्कै कति माटाका भाडा बनाए भन्ने याद नभए पनि उनले यो तिहार तथा छठलाई मध्यनजर गर्दै २० हजारभन्दा बढी दियो बनाएको बताउँछन्। तिहारकै लागि आफूले पाँच हजारजति माटाको कलश बनाएको उनको भनाइ छ। तिहार र छठसम्म बनाएका उक्त सामग्री बिक्री गरिसक्ने उनको लक्ष्य छ।

अन्य समयमा दैनिक दुई दर्जनको हाराहारीमा बिक्री हुने दियो तथा माटाका पाला अहिले भने दैनिक तीन हजारसम्म बिक्री हुँदै आएको उनले सुनाए। ‘अन्य समयमा खासै व्यापार हुँदैन,’ उनले भने, ‘अहिले बनाइरहेका भाडा यो सिजनलाई मात्र हो।’

तिहारको समयमा गमला र दियोको माग अत्याधिक हुने उनको भनाइ छ। गमला बनाउने काम वर्षभर नै चल्ने भए पनि दियो तथा तथा चियाका लागि बन्ने मट्का भने सिजनमा मात्रै सुरु हुँदै आएको उनले सुनाए। ‘गमला नर्सरीका लागि पहिले नै चाहिने भएकाले उनीहरूले तिहार लक्षित उत्पादन गरुन् भनेर गमला बनाउने काममा केही महिनायता जोड दिने गरेका छौं।’

पछिल्लो समय काठमाडौंसँगै छिमेकी जिल्ला र पाल्पा, बुटवल, पोखरालगायत क्षेत्रमा पनि माटाको भाडाको माग हुँदै आएको र व्यवसायी निर्यात गर्दै आएको उनले बताए। देशभित्र मात्र नभएर माटाको भाडाको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दै गएको उनको भनाइ छ। उनले भने, ‘पोलेर बनाउने भाडा केही वर्षयता भट्टीबाट पोल्ने भएकाले पहिलाजस्तो अफ्ठेरो पनि घटेको छ।’ माटाका भाडामा चाहेअनुसार कलाकृति देखाउने बुट्टा कोर्न मिल्ने भएकाले उक्त काम गर्नेको संख्यामा पछिल्लो समय निकै घट्दै आएको उनले बताए।

पछिल्लो समय नेपालमा आयातित झिलिमिली बत्ती तथा मैनबत्तीले बजार ओगट्दै लगेको भन्दै उनले विदेशी माटाका भाडामा रुचि राख्दा आफ्नो पेसा उद्योगको रुपमा व्यवस्थित हुन नसकेको उनको बुझाइ छ। ‘अहिले हामीले चियादेखि खाना खाने भाडाहरू विदेशबाट आयातित माटाकै भाडा हुने गरेका छन्,’ उनले भने, ‘विदेशी माटाका भाडासँग तुलना गर्न नमिले पनि सामान्य प्रयोगमा ल्याउन सस्तोमा बेचबिखन गर्र्न सकिन्थ्यो।’

तिहारका लागि मात्रै भक्तपुरबाट करिब पाँच लाख माटाका पाला बन्ने गरेको उनको भनाइ छ। ‘एक दर्जन पालाको ४० रुपैयाँ तथा एक सय पालाको एक सय ५० देखि दुई सय रुपैयाँसम्म बिक्री हुने उनले बताए। उनले भने, ‘सहर बाक्लिदै गएपछि माटोको समस्या बढ्दै गएको छ। भनेजस्तो माटो पाउन गाह्रो छ।’ पहिले खेतमा सजिलै पाउने माटो अहिले गाडीबाट ढुवानी गरेर ल्याउनुपर्दा महंगो पर्ने भएकाले नाफा नहुने उनले बताए। उक्त समुदायमा माटो अभाव रहेको जनाउँदै उनले माटो साँखु तथा हरिसिद्धिलगायत ठाउँबाट ठेकेदारले नै खोजेर ल्याइदिने गरेको बताए। सानो गाडीले माटोको १० हजार रुपैयाँसम्म लिने गरेको रोशनको भनाइ छ।

पछिल्लो समय माटाको भाडा बनाउने पेसा संकटमा पर्दै गएको स्थानीय गोपाल प्रजापतिको भनाइ छ। आफ्नो बुवा बाजेले उक्त काम गरे पनि आफूलाई पर्याप्त सीप नहुँदा आफूले व्यवसायको बाटो रोजेको उनले सुनाए। माटो अभाव तथा पेसामा रुचि राख्नेको कमि हुँदै गएकाले पनि अहिले माटाको भाडाको मूल्य बढिरहेको उनले बताए। ‘विगतमा पाँचदेखि १० रुपैयाँसम्म पर्ने माटाका भाडा अहिले ३५ देखि ६० रुपैयाँसम्म पर्ने गरेको छ,’ उनले सुनाए।

भक्तपुरस्थित कुमाले टोलका स्थानीय उनी बनाएका माटाका भाडा सुकाउने ठाउँको पनि कमी हुँदै गएको सुनाउँछन्। ‘अहिले माटो गाडीमा ढुवानी गर्दैछौं। अबको केही वर्षभित्रै बनाएका भाडा सुकाउन पनि गाडीमै लैजानुपर्ने अवस्था छ,’ उनले सुनाए। अहिले मैनबत्ती तथा विदेशबाट आयात गरिएका विभिन्न प्रकारका लाइटका कारण माटोको दियो, धुपौरो, गमलालगायतको महत्व घट्दै गएको उनले बताए।

प्रकाशित: ११ कार्तिक २०७६ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App