१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीको प्रतिद्वन्द्वी मनाङ

अमर खड्का/चुमन बस्नेत

दुहबी- लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब बिहीबारको खेल जित्दै मनमोहन स्मृति दुहबी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। दुहबी रंगशालामा बिहीबार मनाङले दोस्रो सेमिफाइनलमा रमपम झापा–११ लाई २–१ ले हराउँदै त्रिभुवन आर्मीविरुद्धको फाइनल पक्का गरेको हो। मनाङले शनिबार विभागीय टोली आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

मनाङ र झापाबीच यो चौथो भेट हो। दुवैले २–२ जित बाँडेका छन्। काठमाडौंमा ०७१ मा भएको एन्फा कप र राष्ट्रिय लिगमा झापाले मनाङलाई हराएको थियो। मनाङले आहा र दुहबी गोल्डकपमा सफलता पायो।

मनाङले यहाँ पहिलो खेलमा आयोजक एलेभन एरोज दुहबीलाई पनि २–१ ले नै हराएको थियो।

बिहीबार दुवैले उत्कृष्ट खेल प्रदर्शन गरे पनि खेलमा मनाङ बढी हाबी भयो। मनाङका ओलवालेले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई फाइनल पुर्‍याए। उनले ४८ र ६६ औं मिनेटमा गोल गरेका थिए।

झापाले इन्जुरी समयको अन्तिममा विशाल राईको गोलमार्फत अन्तर कम गरेको थियो।

ओलावाले म्यान अफ दी म्याच भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए।

खेलको २३ औं मिनेटमा ओलावालेको पासमा विमल घर्तीमगरले राम्रो अवसर चुकाए। ४९ औं मिनेटमा ओलावालेले बक्स नजिकबाट गरेको प्रहार विपक्षी गोलरक्षक दिनेश थापामगरले बचाएर संकट टारे। ५३ औं मिनेटमा सुमिन मैनालीको पासमा योगेश गुरुङको प्रहार मनाङका गोलरक्षक किरण चेम्जोङले बचाए। लगत्तै योगेशले डी बक्स अगाडिबाट गरेेको अर्को प्रहार गोलरक्षक किरणले विफल पारे। ५८ औं मिनेटमा मनाङका विमल घर्तीमगरले हेडबाट मिलाइदिएको बलमा हेमन गुरुङको प्रहार पोलमा लागेर बाहिरियो। खेलको ६० औं मिनेटमा झापाका कर्ण लिम्बुले मध्यभागबाट एक्लै अगाडि बढाउँदै डी बक्सभित्रबाट प्रहार गर्दा सिसोकोले स्लाइड हानेर बल क्लियर गरे। मनाङका अनिल गुरुङले ६४ औं मिनेटमा दिएको लामो पासमा ओलावालेले गोल गर्न चुकेका थिए।

मनाङका प्रशिक्षक हेमन्त आलेमगरले खेलाडीबीच राम्रो तालमेल हुँदा जित पाउन सफल भएको बताए। …खेल टिमको रणनीतिअनुसार नै सफल हुन पुग्यो,' उनले भने, …अब फाइनलमा पनि रणनीतिक रूपमै खेल्नेछौं।'

झापाका प्रशिक्षक संजय राईले साइड डिफेन्सको कमजोरीले गर्दा खेलमा हार बेर्होनुपरेको बताए। …खेलाडीले खेल राम्रै खेले पनि डिफेन्सको कमजोरीले गर्दा अरु खेलाडीलाई पनि दबाब पर्दा हार हुनपुग्यो,' उनले भने।

प्रकाशित: १७ मंसिर २०७३ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App