१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मान्छेमाथि डोजर प्रकरणः छानबिन समितिको म्याद थपियो

सडक खन्ने क्रममा विवाद हुँदा डोजरले मान्छे हुत्याएको घटनाको छानबिन गर्न गठित समिति स्थानीयसँग घटनाबारे बुझ्दै । तस्बिरः बिरा/नागरिक

बैतडी– बैतडीको ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले मान्छे हुत्याएपछि भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद थप गरिएको छ। 

कात्तिक ४ गते सोमबारका दिन भएको घटनाको अनुसन्धानका लागि स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिको म्याद ५ दिन थप गरिएको हो। घटनाको अध्ययन अनुसन्धान र बिश्लेषणको काम बाँकी रहेकाले समितिको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको समितिले डोजरले महिला हुत्याएको स्थानको स्थलगत जानकारी लिइसकेको छ। घटनाको बहुपक्ष, गाम्भीयर्ता र अनुसन्धान जटील विषय भएकाले थोरै समयमा काम नसकिएकाले समितिको म्याद थपिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

समितिले अब तिहार पछि मात्रै थप काम गर्ने र तिहारको ५ दिनपछि घटनाको बारेमा सत्यतथ्य प्रतिवेदन बुझाउने समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। समितिमा दशरथचन्द नगरपालिकाका इन्जिनियर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र अनुसन्धान अधिकृत सदस्य रहेका छन्। 

ग्वाल्लेकमा चिलाउनेदेखि पार्स सम्मको सडक निर्माणका बेला सडक निर्माण पक्षले र रोक्ने पक्षबिच विवाद हुँदा स्थानीय गौरी जोशीलाई डोजर हुत्याएर फालेपछि घटनाले चारैतिर चर्चा बटुलेको हो।

घाइतेलाई थप उपचार गर्न भारत

डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। धनगढी र नेपालगञ्जमा उपचारपछि पनि गौरी बेहोस हुने समस्या ठिक नभएपछि थप उपचारका लागि भारततर्फ लगिएको उनका श्रीमान् जगदिश जोशीले बताए।

नेपालगञ्जमा औषधि दिएर दश दिनपछि आउनु भनेर डिस्चार्ज गरेको तर गौरीलाई फर्किने बेला बाटोमै असहज भएकाले थप उपचारका लागि भारत लगिएको उनले बताए। आफूलाई गौरीको उपचार खर्च जोहो गर्न निकै मुस्किल भएको उनले बताए। घरमा दुई नाबालक छोरा रहेको र उनीहरुको हेरविचार गर्ने कोही नभएको दुखेसो उनले पोखे। 

गौरीलाई डोजरले हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर मालिका भानीदत्त जोशी र स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ। 

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो। झडपमा दुवै पक्षमा अन्य सातजना समान्य घाइते भएका थिए। उनीहरु समान्य उपचारपछि घर फर्किसकेका छन्।

प्रकाशित: १० कार्तिक २०७६ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App