१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मर्दी काखको न्यानो

तस्बिरःशाेभा ज्ञवाली

सपना देख्नु पनि आफैँमा राम्रै रहेछ। रात/दिन यो सपना कसरी पूरा हुन्छ भन्ने मनमा लागिरहँदो रहेछ। यसपालि दसैँको टीका थिएन। त्यसैले मनमा एउटै कुरा खेलिरहेको थियो– कसरी बादलपारि वा हिमालपारि पसूँ ? तीव्र इच्छा भए पनि परिवारमा भन्न सकिरहेको थिइनँ। दसैँपछि बिस्तारै आँट गरेर इच्छा सुनाएँ। सबैको अनुमति पाएपछि के चाहियो र, एक घण्टामै तयार भएँ। तयारी पनि यस्तो बेजोडको रह्यो कि दिउँसो १ बजेको फ्लाइटको टिकट काटेर एयरपोर्ट पुगिहालेँ।

दुनियाँ आफूले चाहेजस्तो मात्र के हुन्थ्यो र ! त्यसरी हिमाल चुम्न पाइने खुसीले तुरुन्तै एयरपोर्ट पुगेकी म करिब ५ घण्टा त्यहीँ खुम्चनु प-यो। भिआइपीको म्यानमार सवारी रे ! चुपचाप बस्नुको कुनै विकल्प थिएन। पोखरा गएर हाई अल्टिच्युडको औषधिका साथै केही सामान किनौँला भन्ने लागेको थियो। पथप्रदर्शकको व्यवस्था पनि गरिएको थिएन। यस्तैयस्तै पिरलो सँगालेर निकै कष्टसँग बिताइयो एयरपोर्टको करिबकरिब बन्दी जीवन।

छेकेन ‘सरी’ ले
वर्ष दिनअघि अन्नपूर्ण बेस क्याम्पमा सँगै गएकी थिइन् गाइड एलिना केसी। उनीसँग केहीअघि कुरा भएको थियो फेरि सँगै जाने भनेर। म त्यतिबेला झसङ्ग भएँ जतिबेला उनले आफू जर्मन महिलासँग जानु पर्ने भएकाले ‘सरी’ भनिन्। तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ विकल्प फु-यो। एलिना ती जर्मन महिलासँगै दीपक र मलाई पनि लैजान तयार भइन्। यसरी असोज ३० गते सुरु भयो मर्दी हिमाल बेस क्याम्पको हाम्रो यात्रा। जाने बाटा धेरै थिए। मैले काँढे हुँदै जाने बाटो रोजेँ। अलिकति तेर्सो अनि उकालो। आफूलाई उकालोसँग अभ्यस्त गराउनुको विकल्प मसँग थिएन, अरू साथी जस्तै। बरु उकालो सहज तुल्याउन प्रकृतिको मनोरम दृश्यको सहारा लिँदै अघि बढेँ। डाँडाकाँडा हरिया थिए। सयपत्रीले जस्तै भिरमा पनि आफ्नो राज कायमै राख्न सकेको देखियो। न्यानो घामको स्पर्शसँगै रमणीय दृश्यहरूले हर पाइला अघि बढाउन प्रेरित गरिरहेका थिए मलाई। मानौँ, १६ वर्षको जोश/जाँगरयुक्त ऊर्जा फर्किएको थियो पुनः जीवनमा।

त्यही दिन सिदिङ पुग्ने विचार थियो। तर मनमा भने एउटा चिन्ताले नराम्रोसँग बास गरिरहेको थियो– लो क्याम्पको होटलमा सिरानमुनि राखेको सामान पाइएला कि नपाइएला ? धन्न होटलवालाले राखिदिएका रहेछन्। खुसी हुँदै दिए। अहो कति सहृदयी मानिस  !

काठमाडौँमा अलिकति तलमाथि गर्दा पनि खुइय्य गर्थे तर त्यहाँ जति दौडे पनि थाकेको महसुस भएन। मनोरम प्रकृतिको दृश्यले हुनुपर्छ सायद ! पोखराको ८ सय मिटर उचाईबाट उकालो चढ्दै अघि बढियो। गाउँघरको मोहीले कम्ता मोहनी लगाएन। चाँदी जस्तै टल्केको मर्दी हिमाल, साउथ अन्नपूर्ण अनि माछापुच्छ्रे (कुमारी हिमाल) का दृश्य आँखामा अटाउन्जेल कैद गर्दै धम्पुस र त्यहाँबाट पोथना पुगियो। विदेशीको घुइँचो त्यत्तिकै। सयपत्री मात्र हैन, गोदावरी र लाउरेजस्ता फूलले पनि ढकमक्कै फुलेर आफ्नो फुर्ती प्रदर्शन गरिरहेका १७ सय मिटर उचाईको धम्पुस कम्ता लोभलाग्दो थिएन। जहाँ पुग्न अढाई/तीन घण्टा लाग्यो।

भिलेन भेजिटेबेल र मःमः
हामी त्यहीँ बस्न चाहन्थ्यौँ तर ब्वाइल्ड भेजिटेबल र चिकेन मःमः अवरोधकका रूपमा देखा परे। यिनीहरू पेटमा के परेथे, ऊर्जा राम्रै दिएछन् क्यार, हिँडूँहिँडूँ पो लाग्न थाल्यो। पानी दर्किरहेको थियो। उत्तिकै थियो जुकाको डर। सँगैका साथीसँगी भने त्यहीँ बस्न चाहन्थे। मलाई पनि बसौँ भने। तर मेरा ऊर्जाकारहरूले मान्दै मानेनन्। छहरा/पहरा त कति हुन् कति। हामी पनि के कम ? झेल्यौँ ती सबै र पुगिछाड्यौँ प्रितम देउराली। थकाइ नलाग्ने कुरै भएन। तर बसेको ठाउँको सफा कोठा र साहूनी दिदीको मीठो बोली अनि न्यानो स्वागत नै थकाइ मेटाउन काफी भयो। हट सावर, गारलिक सुप, अदुवा चिया आदिले त थकाइलाई यति टाढा धपाएछन् कि तिनीहरूको गन्धसमेत आएन रातभर। अतिथि सत्कारका लागि होटलवालाले गरेका अथक प्रयास सराहनीय लाग्यो।

न राम्रो बाटोघाटो न त उचित सुरक्षा व्यवस्था। फोन, इन्टरनेट राम्रोसँग चले पनि त हुन्थ्यो नि। यस्तो अवस्थाबीच पनि एक पटक आएको विदेशी दोहो-याईतेहे-याई नेपाल आउन चाहनुको एउटा मुख्य कारण यही अतिथि सत्कारलाई ठम्याएँ मैले। प्रकृतिको सौन्दर्य र हिमाल/पहाडका मानिसको आत्मीयताले कम्ता छुँदैन यस्ता पर्यटकलाई। जुन हामीले पनि यात्राभर नजिकैबाट अनुभव गर्न पायौँ। अर्को दिनको बसाइ फरेस्ट क्याम्प (२,६०० मिटर)मा गर्ने योजना थियो तर पुगियो लो क्याम्प (२९५० मिटर)। त्यस क्रममा हाम्रो राष्ट्रिय फूल लालीगुराँसको मनमोहक जङ्गल पार गर्नुपर्ने रहेछ। जसले सारा थकान बिर्साउँदै वाह...भन्न बाध्य तुल्यायो। अनि मनले प्रतिबद्धता व्यक्त नगरी मान्दै मानेन कि मार्च/अप्रिलमा यो लालीगुराँसको प्राकृतिक बगैँचा हेर्न पक्कै आउँछु भनेर।

विदेशी गुनासो
लो क्याम्पस्थित होटल स्तुपा हाम्रो बासस्थान हुने तय भयो। पर्यटकको चापका कारण मैले स्विस केटीसँग रुम सेयर गर्नु प-यो। चुप लागेर किन बस्थेँ र ? आफ्नो देशको बारेमा कुरा गरियो उनीसँग। उक्त होटलमा नेपालीभन्दा विदेशी बढी थिए। जर्मनी, इङ्गल्यान्ड, हल्यान्ड, डेनमार्क, स्विजरल्यान्ड जस्ता देशका नागरिक थिए। ती स्विस केटीको मात्र हैन, हामीले बातचित गर्न भ्याएका सबै विदेशीको एउटै गुनासो थियो– दुर्गम क्षेत्रमा बाटो डरलाग्दो छ। वाइफाइ पनि चल्दैन। सुरक्षाको प्रबन्ध पनि छैन। इन्टरनेट चलेको भए उनीहरू स्नाप च्याट गर्थे रे। स्टोरी बनाएर सेयर गर्थे रे। जसलाई हेरेर उनीहरूका धेरै साथी आउँथे रे। किनकि यस्तो प्रकृतिप्रदत्त उपहार हाम्रो देशमा मात्र छ भनेर सुनाउँथे उनीहरू। त्यो पनि एक पटक हैन, बारम्बार। म भने उनीहरूलाई आश्वस्त तुल्याउँथेँ– हाम्रो देशमा दु्रत गतिमा विकास हुँदै छ। तिमीहरूका गुनासो अहिलेको सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ। थाहा छैन, उनीहरू मेरा कुराप्रति कति विश्वास गर्थे।

ब्याट्रीको सात्तो खाने चिसो
रात प-यो। आआफ्नो ट्यान्लेट देखाउने सहमति भयो। सकेसम्म मुख मिठ्याएर गीत गायौँ। कम्मर मर्काएर नाच्यौँ। चिसिएको ज्यान तताउन आगो पनि ताप्यौँ। अनि यहाँबाट अघि बढेपछि विद्युत् उपलब्ध नहुने भएको हुँदा मोबाइल, पावर बैङ्क जस्ता सबै इलेक्ट्रोनिक सामान चार्ज ग-यौँ। अगाडि पनि सोलारको लाइन त रहेछ तर पहुँचका लागि मितै लाउनु पर्ने। पाउन गाह्रो थियो। चिसो यति कडा कि मानिस मात्र हैन, ब्याट्रीलाई पनि देखिसहँदो रहेन छ ल। जति चार्ज गरे पनि एकैदिनमा चट्। त्यसैले टोपीभित्र सबै हालेर सिरानीमुनि राखेर सुतेँ।

भोलिपल्ट हाई क्याम्पतिर लागियो। डेढ/दुई घण्टाको गुराँसे जङ्गल पार गर्दै बादल डाँडा पुगियो। माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली आदि सबैलाई भ्याउन्जेल क्यामेरामा कैद गरेँ। लाग्थ्यो, सबै दृश्य एउटै अङ्गालोमा समेटेकी छु। साँच्चै चुम्बकै रहेछ अन्नपूर्ण त। त्यसैले त सबै संसार छाडेर यतै बसूँ जस्तो लाग्ने। सोचेँ, त्यसैले होला देवतादेखि ऋषिमुनिसम्म हिमालमै झुम्मिएका। महसुस भयो कि यो हिमाल भन्ने चिजमा एक किसिमको अदृश्य शक्ति पक्कै छ जसले हामी सबैलाई ऊर्जा दिइरहेको छ। रमाइलो महसुस गर्दै अघि बढ्दा हाई क्याम्प आइपुगेको  पत्तै भएन।

स्नो ल्यान्ड– आजको हामी बस्ने होटल। जुन राजु भाइको रहेछ। जताबाट हेरे पनि हिमालै हिमाल। मन फुरुङ्ङ नहुने कुरै थिएन। लोकल कुखुराको झोलले तातेको ज्यान सिरकभित्र छिरेपछि भुसुक्कै। भोलिपल्ट बिहान ३ बजे नै टाउकोमा टर्च बालेर भ्यू प्वाइन्ट र मर्दी बेस क्याम्प पुगियो। अर्थात् ३७०० मिटरबाट ४५०० मिटरको यात्रा। यहाँ बादल भिलेनका रूपमा उपस्थित भयो। त्यसैले दृश्य त्यति प्रस्ट त भएन तर पनि कल्पना गरेभन्दा सुन्दर दृश्य फेला परे। जसले साङ्ग्रिलाको खोजीमा भौतारिइरहने म जस्तो यात्रीलाई ठूलो गुन लगायो।

सहृदयी होटलवाला
फर्किँदा चौँरीको दूध पिउन पाइयो। कम्ता स्वादिलो लागेन। चिज, छुर्पी पनि हात प-यो। कतै चिप्लिँदै, कतै लड्दै र कतै घिस्रिँदै अघि बढियो। जतिबेला बाल्यपनको सम्झना वरिपरि आइरहे। त्यही दिन सिदिङ पुग्ने विचार थियो। तर मनमा भने एउटा चिन्ताले नराम्रोसँग बास गरिरहेको थियो– लो क्याम्पको होटलमा सिरानमुनि राखेको सामान पाइएला कि नपाइएला ? धन्न होटलवालाले राखिदिएका रहेछन्। खुसी हुँदै दिए। अहो कति सहृदयी मानिस !

उनीहरूको यही व्यवहारका कारण यो दिन पनि त्यहीँ बसियो। भोलिपल्ट बिहान सिदिङ हे-यौँ। र, पाँचौँ दिनका दिन पोखरा फर्कियौँ। मर्दी हिमाल ट्रेक कान्छो ट्रेकिङ रुट रहेछ। कलेज पढ्दै गरेका विद्यार्थीलाई यो रुटले बढी नै लोभ्याएको पाइयो। सुरक्षा जाँचको प्रबन्ध र सञ्चारको सुविधा हुने हो भने यो रुट निकै चल्ने सम्भावना छ। अहिलेदेखि नै बाटालाई चाउचाउ, चकलेट, चिप्स आदिका खोलले कुरूप तुल्याउन थालिसकेका छन्। यो रुटलाई व्यवस्थित र आकर्षित तुल्याउन सकिने हो भने अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङलाई पनि सघाउ पुग्नेमा दुई मत छैन।

प्रकाशित: ९ कार्तिक २०७६ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App