१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साँघुरिँदै अनुसन्धान, थपिँदै साबिती बयान

बमकाण्डका मुख्य आरोपी महम्मद आफताब आलम।

रौतहट – प्रहरीले राजपुर बमकाण्डमा थप साक्षी जुटाएको छ। घटना नै नभएको भनी अस्वीकार गर्ने र पोलिग्राफ परीक्षण गर्न पनि प्रमुख आरोपित महम्मद आफताब आलमले नमानेको अवस्थामा विभिन्न साक्षीले घटना भएको बताएका छन्।

प्रहरीले राजपुर बमकाण्डका मृतकको कपडा र खरानी पनि जाँचका लागि पठाएको छ। घटनामा मारिएको भनी दाबी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी प्रहरीले जाँचको लागि पठाएको हो। यसैगरी बम विस्फोटपछि मृत्यु भएकालाई जलाइएको भनिएको इँटा उद्योगको खरानी पनि प्रहरीले परीक्षणका लागि पठाएको छ।

खरानी परीक्षणबाट मानव अवशेष भए–नभएको थाहा हुने प्रहरीको विश्वास छ। मानव अवशेष भेटिएपछि मृतकले लगाएको कपडाबाट पनि त्यही व्यक्तिको हो वा अरू पनि रहेको छ भन्ने यकिन गर्न सजिलो हुने वैज्ञानिक आधार देखिने प्रहरीको विश्वास छ। मृतकको कपडा र इँटाभट्टाको खरानीको अवशेष संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सम्भव भएसम्म मृतकको अवशेषको परीक्षण काठमाडौंस्थित विधिविज्ञान प्रयोगशालामा हुने र त्यहाँ सम्भव नभए विदेशको आधिकारिक निकायमा पठाएर पनि परीक्षण गरिने जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

बम विस्फोटका कारण क्षति पुगेको घरलाई रातारात जस्ताको तस्तै बनाउने काममा प्रयोग भएका मजदुरले प्रहरीसमक्ष साबिती बयान दिएका छन्। बम बिस्फोटपछि घटनाका मृतकलाई जलाउन लगिएको इँटा उद्योगका मजदुरले पनि लास देखेको बयान दिएका छन्।

थप प्रत्यक्षदर्शीको साबिती बयान
२०६४ चैत २७ गते साँझ राजपुरमा बम विस्फोटबाट क्षति पुगेको घरलाई रातारात जस्ताको तस्तै बनाउने काममा प्रयोग भएका मजदुरले प्रहरीसमक्ष साबिती बयान दिएका छन्। बम विस्फोट भएपछि क्षतिग्रस्त घरलाई मर्मत गर्ने एका मजदुरले प्रहरीसमक्ष लिखित बयान दिएका छन्। आफूले घरको मर्मत गरेको, अन्यत्रबाट माकुराको जालो ल्याएर विस्फोट भएको घरलाई पुरानो देखाउने प्रयास गरेको र उक्त घरमा भुस ल्याएर हाल्ने काम गरेको बयान मजदुरले दिएका छन्।

मजदुरले पनि शव देखेका थिए
घटनालाई लुकाउने जति प्रयास गरे पनि घटनाका प्रत्यक्षदर्शीले एकपछि अर्को प्रमाण जुटाउन प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेका छन्। बम विस्फोटपछि घटनाका मृतकलाई जलाउन लगिएको इँटा उद्योगका मजदुरले पनि लास देखेको बयान दिएका छन्। इँटा उद्योगमा काम गर्ने एक मजदुरले राति एक बजे पालैपालो इँटाभट्टामा ल्याएर शव राखेको र जलाएको आफूले देखेको बयान दिएका छन्।

यसैबीच प्रहरीले घटनामा मृत्यु भएको भनिएका भारतीय नागरिकका आफन्त तथा घाइते भएकासित पनि सम्पर्क प्रयास गरिरहेको छ। मृतक नेपाली नागरिकका परिवार र घाइतेको समन्वयमा भारतीय घाइते र मृतक परिवारसित सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। भारतीय पीडित परिवारसित सम्बन्ध स्थापित हुन सकेमा घटनाको विषयमा थप प्रमाण हुने प्रहरी विश्लेषण छ।

शुक्रबार म्याद थप हुने
राजपुर बमकाण्डको अनुसन्धान अझै केही लम्बिने देखिएको छ। अनुसन्धान पूरा नभएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले सरकारी वकिलको कार्यालयमार्फत रौतहट जिल्ला अदालतसमक्ष आलमलाई थुनामै राखी अनुसन्धान गर्न म्याद थपको माग गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धानमा आलमले खासै सहयोग नगरेकाले केही समय अनुसन्धान लम्बिने हुँदा अदालतबाट म्याद थप हुने विश्वास रहेको जनाएको छ। अनुसन्धानका लागि अदालतले दोस्रोपटक थपेको म्याद शुक्रबार सकिँदैछ।

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App