१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टहरामै तिहार

भक्तपुर - २०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ। घर पुनःनिर्माण गर्न नसकेका उनीहरूकवर्षको तिहार पनि टहरामै बित्ने निश्चित भएको हो। विविध कारणले भूकम्पले भत्केका घर उनीहरूले चाहेर पनि पुनःनिर्माण गर्न सकिरहेका छैनन्।

भक्तपुर नगरपालिका–६ देकोचास्थित सामूहिक टहरामा बस्दै आएका पुरुषोत्तम मानन्धरले अहिलेसम्म नयाँ घर बनाउन नसकेर टहरामै बस्न बाध्य भएको दुखेसो पोखे। घर बनाउन त के अहिलेसम्म भूकम्पले भत्कन लागेको घरको भग्नावशेषसमेत हटाउन नसकेको उनले जनाए। ‘हाम्रो घर भत्काउन लाग्यो कि सँगै जोडिएको छिमेकको घर पनि भत्किन्छ,’ घरको भग्नावशेष अहिलेसम्म पन्छाउन नसक्नुको कारण खोतल्दै पुरुषोत्तमले नागरिकसँग भने, ‘छिमेकीले घर भत्काउन चाहेपछि मात्रै आफूले पनि घर भत्काएर नयाँ बनाउन पाउने अवस्था छ।’

अर्का भूकम्पपीडित अष्टबहादुर मानन्धर आर्थिक अभावका कारण अहिलेसम्म घर पुनःनिर्माण गर्न नसकेको बताउँंछन्। उनको घर भक्तपुर नगरपालिका–७ गोल्मढीमा हो। उनीसँगै त्यहाँ दर्जनौं पीडितहरूले घर बनाउन त के अझसम्म भत्काउनै नपाएको सुनाए। दुई अपांग बालबालिकासहित चारजनाको परिवार सानो टहरामा अटसमटस गरी बसिरहेका छन्।

अहिलेसम्म पनि यहाँका ठाउँठाउँमा भूकम्पपीडितहरू अस्थायी टहरामा बसिरहेका भेटिन्छन्। यहाँका व्यासी, इन्द्रायणी, कमलविनायक, लिवालीलगायतका दर्जनभन्दा बढी स्थानका सयभन्दा बढी परिवार अहिलेसम्म पनि टहरामै कष्टपूर्ण जीवन बिताइरहेका छन्। साथै धेरैजसो परिवार भत्कनै लागेको पुराना घरमा बसिरहेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय सल्लाघारी भक्तपुरले राखेको तथ्यांकअनुसार यस जिल्लाबा चारवटा नगरपालिकामा २८ हजार चार सय १४ जना भूकम्पपीडित पहिचान भएका छन्। पीडितहरूमध्ये झन्डै आठ हजार आठ सय १८ जनाले मात्रै तेस्रो किस्तासम्मको अनुदान रकम पाएका छन्। यही हिसाबले एक चौथाइले मात्रै घर पुनःनिर्माण गर्न सकेका छन्। एउटा होइन, अनेक कारणले सोचेअनुसार पुनःनिर्माण हुन नसकेको कार्यालयको भनाइ छ। घर बनाउन पैसा नहुनु, ऋण नपाउनु, दाजुभाइबीच कुरा नमिल्नु, जग्गाको लालपुर्जा नहुनु, कित्ताकाट नहुनुलगायत कारणले तीव्र पुनःनिर्माण हुन सकेको छैन।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सल्लाघारी भक्तपुरका प्रमुख ध्रुव गैंडाले पीडितहरूको छिटो घर पुनःनिर्माण गरोस् भनेर इकाईले सहयोगीको भूमिका खेल्दै आएको जनाए। ‘हामी जतिसक्दो धेरै पीडितहरूको घर पुनःनिर्माण होस् भन्ने चाहन्छौं,’ उनले नागरिकसँग भने, ‘धेरै पीडितहरूले छिटोभन्दा छिटो घर बनाउनु नै हाम्रो सफलता हो।’

इकाई कार्यालयका अनुसार जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा बढी पीडित चाँगुनारायण नगरपालिकामा रहेका छन्। त्यहाँ ११ हजार भूकम्पपीडित छन्। चाँगुनारायणपछि भक्तपुर नगरपालिकामा सात हजार ६ सय ५६, सूर्यविनायक नगरपालिका क्षेत्रमा सात हजार चार सय २५ र सबैभन्दा कम मध्यपुर थिमि नगरपालिकामा दुई हजार तीन सय ३३ रहेका छन्। तीमध्ये हालसम्म चाँगुनारायण नगरपालिकामा तीन हजार ६ सय ६०, सूर्यविनायक नगरपालिकामा दुई हजार आठ सय १८, भक्तपुर नगरपालिकामा एक हजार ६ सय ३४ र मध्यपुर थिमि नगरपालिकामा सात सय ६ जना पीडितहरूले तेस्रो किस्तासम्मको रकम पाएका छन्।

निजी घरहरूको पुनःनिर्माणमा ढिलाइ भएको भन्दै सरकारले अनुदान रकम दिने मिति निश्चित गरिसकेको छ। २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले दोस्रो किस्ता लिने अन्तिम समय कात्तिक मसान्तसम्म, २०७५ असार मसान्तसम्म दोस्रो किस्ता लिएकाले दोस्रो किस्ता लिने अन्तिम समय माघ मसान्तसम्म तोकिएको छ।

भूकम्पले घर भत्केका परिवारलाई तीन किस्ता गरेर तीन लाख रुपैयाँ अनुदान दिने सरकारी योजना छ। पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो तथा अन्तिममा एक लाख गरी तीन लाख रुपैयाँ अनुदान सहयोग गर्ने सरकारी योजना छ। पहिलो चरणको सहुलियत रकम पाउनका लागि भूकम्पपीडितको नामावलीमा समावेश हुनुपर्ने, दोस्रो चरणको सहुलियत किस्ता पाउनका लागि टाइ–बिमभन्दा माथि आइसक्नुपर्ने र तेस्रो किस्ताका लागि निर्माण सम्पन्न गरिसक्नुपर्ने सरकारी सर्त छ।

भक्तपुर नगरपालिकामा पहिलो किस्ता पाउने पाँच हजार ६ सय ३७, दोस्रो किस्ता पाउने एक हजार आठ सय २२, तेस्रो किस्ता पाउने एक हजार ६ सय ३४ जना रहेका छन्। त्यस्तै सूर्यविनायक नगरपालिकामा पहिलो किस्ता लिने ६ हजार नौ सय ९८, दोस्रो किस्ता लिने ६ हजार नौ सय ९८, र तेस्रो किस्ता लिने दुई हजार नौ सय ८२ छन् भने चाँगुनारायण नगरपालिकामा पहिलो लिने किस्ता नौ हजार आठ सय २६, दोस्रो किस्ता लिने तीन हजार सात सय ८८ र तेस्रो किस्ता प्राप्त गर्ने तीन हजार ६ सय ६० जना रहेका छन्। मध्यपुर ठिमी नगरपालिकामा दुई हजार ८० जनाले पहिलो, सात सय २७ जनाले दोस्रो तथा सात सय ६ जनाले तेस्रो किस्ता प्राप्त गरेका छन्।

स्थानीय पूर्वाधारको कार्यालय सल्लाघारीका अनुसार भक्तपुरका जम्मा लाभग्राही संख्या २८ हजार चार सय १४ रहेका छन् भने तीमध्ये चारवटै नगरपालिकामा पहिला किस्ता प्राप्त गर्ने २४ हजार पाँच सय ४१, दोस्रो किस्ता प्राप्त गर्ने नौ हजार तीन सय १९ र तेस्रो किस्ता प्राप्त गर्ने आठ हजार आठ सय १८ जना रहेका छन्।..

प्रकाशित: ८ कार्तिक २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App