१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सौर्य बत्ती जडान अझै सकिएन

काठमाडौं— काठमाडौं महानगरपालिकाले तिहारसम्म महानगरका सबै वडाका भित्री सडकमा सौर्य बत्ती जडान गरी झिलिमिली पार्ने भनेको एक महिना बित्दा पनि जडान सकेको छैन। महानगरपालिकाले लक्ष्मीपूजाको दिन नै भित्री सडक सौर्य बत्तीले झिलिमिली हुने दाबी गरेको थियो।

दसैंअघि आवश्यक संख्यामा ब्याट्री नआइपुगेकाले जडान गर्न नसकेको भन्दै तिहारमा सबै वडा झिलिमिली पार्ने दाबी गरेको थियो । 

‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अन्तर्गत महानगरका भित्री सडकमा सौर्य बत्ती जडानको गर्ने जनाएको थियो । ‘तिहारमा सबै सडक झिलिमिली बनाउने भनेरै लागेका हौं । तिहारमा विभिन्न कारणले सबै वडामा सौर्य बत्ती बाल्न सकिएन,’ महानगरपालिका सहरी पूर्वाधार विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले भने, ‘आजको दिनसम्म बत्ती जडान ७० प्रतिशत सकिएको छ । बाँकी केही दिनभित्र सकिन्छ ।’ 

रेग्मीका अनुसार बत्ती जडान गर्न आवश्यक पोल, ब्याट्री, प्यानललगायत सामग्री समयमै उपलब्ध नहुँदा ढिलाइ भएको हो । महागरपालिकाले दसैंअघि नै बत्ती जडान गर्ने जनाएको थियो । दसैंअघि आवश्यक संख्यामा ब्याट्री नआइपुगेकाले जडान गर्न नसकेको भन्दै तिहारमा सबै वडा झिलिमिली पार्ने दाबी गरेको थियो । 

करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ भित्री सडकमा १ हजार ७ सय सौर्य बत्ती तिहारसम्ममा जडान गरिसक्ने महानगरको योजना थियो । सौर्य बत्ती जडान लागतको ६० प्रतिशत सरकारी अनुदान, २५ प्रतिशत महानगरपालिकाले र बाँकी १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोरेका छन् । स्थानीय सहभागिता भए दिगो संरक्षण हुने भन्दै महानगरपालिकाले स्थानीयलाई सहभागी गराएको हो । कतिपय ठाउँमा भने स्थानीयकै कारणले पनि बत्ती जडान ढिलाइ भएको महानगरपालिकाले जनायो । 

विभाग प्रमुख रेग्मीका अनुसार स्थानीयले जडान गरिरहेका ठाउँमा शुक्रबारसम्म काम सक्न निर्देशन दिइएको छ । उनले काममा केही ढिलासुस्ती भए पनि समुदायमा आधारित सडक बत्ती कार्यक्रम सफल भएको दाबी गरे । कार्यक्रम सफल भएकाले नै स्थानीय १५ प्रतिशत लागत बेहोर्न तयार  भएको प्रस्ताव लिएर महानगरपालिका आउने गरेको उनले जनाए । ‘कार्यक्रम सफल भएकै मान्नुपर्छ,’ रेग्मीले भने, ‘अहिले धेरै ठाउँका स्थानीय प्रपोजल लिएर टोलटोलमा बत्ती राख्न महानगरपालिका आउन थालेका छन् ।’ उनका अनुसार यस वर्ष भने थप सडक सौर्य बत्ती जडानमा ५ करोड रुपैयाँ खर्च गरिनेछ। 

सौर्य बत्तीले लोडसेडिङका बेला पनि सडक उज्यालो हुने र विद्युत बचत गर्न सघाउ पुगेकाले पनि स्थानीयको सहभागितामा सौर्य बत्ती कार्यक्रम सफल भएको महानगरपालिकाले दाबी ग¥यो । महानगरपालिकाले बत्तीका लागि सौर्य पाता कम्तीमा २० वर्ष टिक्ने, ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष टिक्ने ग्यारेन्टी भएको हुनुपर्ने मापदण्ड बनाएको छ । 

 

प्रकाशित: १६ मंसिर २०७३ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App