१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा एकको मृत्यु, दुई घाइते

पोखरा- चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका एक युवाको हिउँको ढिस्को खसेर पुरिएर ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–५ पर्स्याङका सञ्जय खनाल (१८) को हिउँको ढिस्कोले पुरिएर अन्नपूर्ण पदमार्गमा ज्यान गएको हो। उनीसँगै पदयात्रामा गएका अरु दुईजना युवा घाइते छन्।

बगर चौकीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार हिउँको ढिस्कोले पुरिएका खनालको घटनास्थलमै ज्यान गएको हो। खनालसँगै पदयात्रामा गएका पर्स्याङका निरञ्जन कोइराला (१८) र पोखरा–११ फूलबारीका सन्तोष बास्तोला (२०) घाइते भएका छन्। कोइराला र बास्तोलाको अवस्था सामान्य रहेको थापाले बताए। घाइतेद्वयको हेलिकोप्टरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

'अन्नपूर्ण आधारशिविर (एबिसी) को पदयात्रामा गएका उनीहरु बुधबार बिहान साढे ११ बजेतिर हिउँको ढिस्कोले पुरिएका थिए,’ थापाले भने, 'खनालको घटनास्थलमै ज्यान गयो। कोईराला र बास्तोलाईलाई उद्धार गरेर हेलिकोप्टरबाट पोखरा ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।’

मृतक खनालको भने खराब मौसमका कारण हेलिकोप्टर जान नसक्दा शव ल्याउन नसकेको उनले बताए। 'पहिलो उडानमा घाईतेलाई उपचारार्थ पोखरा ल्याइएको हो। तर, त्यसपछि मौसम बिग्रेपछि हेलिकोप्टर जान सकेन,’ निरिक्षक थापाले भने, 'मौसम बिग्रदा हेलिकोप्टर उड्न नसक्दा मृतकको शव ल्याउन सकिएको छैन। शव पुरिएकोले बाहिर निकाल्न समय लाग्दा एकैपटक सबैको उद्धार हुन सकेन।’

ती युवाहरु एबिसीसम्मको पदयात्रामा गएका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का घान्द्रुकस्थित प्रमुख विदुर कुँइकेलका अनुसार बुधबार घटना भएको ठाउँ पदयात्राको जोखिमक्षेत्रमा पर्छ। अन्नपूर्ण गाउँपालिका–११ को देउराली र माछापुच्छ्रे आधारशिविरको बीचभागमा घटना भएको हो।

प्रकाशित: ६ कार्तिक २०७६ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App