१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की २ मा साझा पार्टीबाट केसी उम्मेदवार

पोखरा- आगामी मंसिरमा हुने उपनिर्वाचनमा साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाएको छ। साझा पार्टीको दुईदिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। केसीलाई उम्मेवार चयन गरेको निर्णय पत्रकार सम्मेलन गरेर साझा पार्टीले सार्वजनिक गरेको छ।

'लामो समयदेखि समाज रुपान्तरणका लागि परेको अभियान्ता भएकोले केन्द्रीय समितिको बैठकले केसीलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ,’ उम्मेदवारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले भने, 'साझाले उपनिर्वाचन मार्फत इतिहास बनाउने अपेक्षा गरेको छ।’ पार्टीलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्यका साथ केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए।

आचार्यका अनुसार कास्की जिल्ला र गण्डकी प्रदेशको शिफारिसको आधारमा केसीलाई उम्मेदवार चयन गरिएको हो। मुलुकको राजनीतिमा नयाँ सन्देश दिनसक्ने उम्मेदवारको रुपमा केसीलाई चयन गरेको उनले बताए।'देशको राजनीतिमा हलचल ल्याउने गरि यो उपनिर्वाचनमा हामी होमिएका हौं,’ आचार्यले भने, 'एउटाको भोट काटेर अर्कालाई जिताउन आएका होईनौं। हामी यहाँ जित्न आएका हौ।’

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले साझाले कास्कीमा हुने उपनिर्वाचनलाई ठूलो महत्व दिएको बताए। उनले कास्की बाहेक अन्यत्र केही महत्वपूर्ण क्षेत्रमा मात्र निर्वाचनमा उम्मेदवार उठाउने जानकारी दिए। 'हामीलाई उपनिर्वाचनमा राम्रो, इमान्दार, सक्षम र सक्रिय मान्छे चाहिएको थियो। केसीमा त्यो क्षमता छ,’ मिश्रले भने, 'देश रुपान्तरण गर्ने इच्छा र क्षमता केसीमा छ।’

एक पुस्तामा देश रुपान्तरण गर्ने लक्ष्य लिएकोले उपनिर्वाचनमा साझा पार्टीको जित्ने आधार रहेको मिश्रले बताए।  आजका राजनीतिक दलबाट सम्भव नभएका केही काम गर्ने लक्ष्य साझा पार्टीको रहेको उनले बताए। 'आजका राजनीतिक दलले २०४६ पछि उच्च तहमा बसेका प्रशासक, राजनीतिज्ञको सम्पत्ति छानविन गर्न सक्दैनन। यिनै राजनीतिक दलले कर्मचारी संगठन, भातृ संगठन भंग गर्न सक्दैनन,’ उनले भने, 'हामी त्यसमा परिवर्तन ल्याउन चाहेका हौ।’

'उपनिर्वाचनमार्फत कास्कीका जनताले नत विरासतको राजनीति स्वीकार्छन, नत विकृत राजनीतिको प्रतिकलाई स्वीकार्नेछन,’ मिश्रले भने, 'हामी विकृत र विरासतको राजनीति गर्दैनौ। हामी इमान्दार र क्षमताको राजनीति गर्छौ, यो हाम्रो जित्ने आधार हो।’ निर्वाचन प्रतिवद्धताले पनि जनताले केसीलाई विश्वास गर्ने मिश्रले बताए। पुरानो राजनीतिबाट पीडित भएका जनतालाई राहत दिनका लागि चुनावमा साझा पार्टीलाई विश्वास गर्ने उनले बताए।

उम्मेदवार केसीले विगतलाई अनुभवको रुपमा लिएर अघि बढ्दै जाँदा विजयी हुने बताईन। गलत क्रियाकलाप छाडेर राम्रा क्रियाकलाप अंगाल्नका लागि साझा पार्टीमा लागेको उनले बताईन। 'जुन दिनदेखि राजनीति सुरु गरेकी थिए। त्यो दिनदेखि देश बनाउने धोको थियो,’ उनले भनिन, 'जनताको जीवनस्तर उकास्नका लागि राजनीतिमा लागेकी थिए। तर, अघिल्लो दलबाट सम्भव नदेखेपछि साझामा आएकी हुँ।’ विद्यार्थीकालदेखि कांग्रेसको राजनीति गर्दै आएकी केसीले कांग्रेसमा महाधिवेशन प्रतिनिधिको प्रतिश्पर्धासम्म पुगेकी थिइन। गत भदौमा उनी साझा पार्टी प्रवेश गरेकी थिईन।

गत वैशाखमा पोखरा विश्वविद्यालको उप्रशासकबाट राजीनामा दिएर उनी साझामा लागेकी थिईन। जनसंख्या, लैंगिक, अध्ययन तथा विकासमा उनले स्नातकोत्तर गरेकी छिन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की – २ रिक्त छ।

प्रकाशित: ६ कार्तिक २०७६ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App