१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याउने वेधयकविरुद्ध आक्रोशपूर्ण प्रदर्शन

संशोधन प्रस्तावविरुद्ध एमालेले राजधानीमा गरेको प्रदर्शन। तस्विरः विजय गजमेर

नेपालगन्ज— सरकारले मंगलबार संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुधबार दाङ, रोल्पा, प्युठान, अर्घाखाँची र बुटवलमा आक्रोशपूर्ण प्रदर्शन भएका छन् ।

पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम टुक्र्ययाएर चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले विधेयक दर्ता गरेपछि त्यसको विरोधमा प्रदर्शन भएका हुन् । प्रदर्शनमा सर्वसाधारण, विद्यार्थी, व्यापारी, नागरिककर्मी, सत्तासीन र विपक्षी दलका नेता–कार्यकर्तालगायत सहभागी छन् ।

सरकारबाट साबिकको पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा जिल्लाबासी आन्दोलित भएका हुन् । पूर्वघोषित संघीय प्रदेशको ढाँचाअनुसार सीमांकन कायम हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको छ ।

प्रदेश सीमांकन हेरफेर चित्त नबुझेको भन्दै बुधबार बिहानैदेखि प्युठान र अर्घाखाँची अनिश्चितकालका लागि बन्द घोषणा गरिएको छ । उद्योग वाणिज्य संघ र युवा संघको अगुवाइमा बन्द आह्वान गरिएको हो । बन्दप्रति राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । बन्दका कारण बुधबार सवारीसाधन पसल, शिक्षण संस्था, उद्योगधन्दा पूर्ण रुपमा बन्द भए ।

प्युठान सदरमुकाम खलंगा, बाग्दुला, बिजुवार, भिंग्री, बड्डाँडा, बाहाने, मच्छीलगायत क्षेत्रमा टायर बालेर नारा जुलुससहित सरकारी कदमको विरोध गरिएको छ । युवा, विद्यार्थी, व्यवसायी र नागरिक समाजका अगुवा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले जिल्लाका बजार, यातायात, शैक्षिक संस्था र कार्यालय बन्द गराए । व्यवसायीले स्वस्पूmर्त पसल बन्द गरी सरकारी कदमप्रति विरोध जनाए । प्युठानमा क्रियाशील राजनीतिक दल तथा सर्वपक्षीय निर्णयअनुसार प्रदेश टुक्र्याउने विधेयकको विरोधमा संघर्ष समिति गठन गरिएको छ । समितिको अध्यक्ष कृष्णबहादुर खड्का छन् । सत्तासीन र  विपक्षी दल दुवले संयुक्त संघर्ष समिति बनाएका हुन् ।

पाँच नम्बर प्रदेशबाट अलग्याएर चार नम्बरमा गाभ्ने सरकारी प्रयासविरुद्ध रोल्पामा पनि आन्दोलन कडा बन्दै गएको छ । मंगलबार बन्द रोल्पा बुधबार पनि ठप्प भयो । रोल्पालीले स्वस्फूर्त आ–आफ्ना व्यवसाय बन्द गरेर आन्दोलन थालेका छन् । दाङमा पनि सरकारी प्रस्तावको विरोध भएको छ । प्युठानी र रोल्पालीप्रति ऐक्यबद्धता जनाउँदै दाङमा  मंगलबारदेखि आन्दोेलन सुरु भएको हो । ‘रोल्पा र प्युठानीलाई हामीबाट अलग्याउने जुन सरकारी प्रस्ताव छ, यो दाङवासीलाई मान्य हुँदैन,’ आन्दोलनको संयोजन गरेका प्रादेशिक राजधानी सरोकार समूहका सदस्यसचिव सुदीप गौतमले भने । यसअघि प्रदेश विभाजनका क्रममा पाँच नम्बरबाट अलग्याइएको सल्यान र रुकुमको भागलाई पनि पाँच नम्बरमै ल्याउन दाङवासीको छ  ।

बुटवलमा पनि पाँच नम्बर प्रदेश टुक्राउने विधेयकको विरोधमा बुधबार दिनभरजसो प्रदर्शन भयो ।

रोल्पा–प्युठान संयुक्त संघर्षमा

पाँच नम्बर प्रदेशबाट प्युठान र रोल्पालाई छुट्याउने सरकारी प्रस्तावको विरोधमा उत्रिने दुवै जिल्लाले संयुक्त रुपमा संघर्ष समिति बनाएका छन् । राजनीतिक दलका स्थानीय नेताले सरकारले उक्त प्रस्ताव फिर्ता नलिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कांग्रेस, प्युठानका नेता मुक्तिप्रसाद शर्माको संयोजकत्वमा दुई जिल्लाको संघर्ष समिति गठन भएको छ । सीमांकन हेरफेर जनताको भावनाविपरीत रहेको भन्दै दुवै जिल्लाले संयुक्त संघर्ष समिति बनाएको शर्माले बताए । उनका अनुसार बिहीबार दुई जिल्लाको सिमानामा पर्ने चतुर्भुजमा विरोधसभा गरिनेछ ।

प्रकाशित: १६ मंसिर २०७३ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App