१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाका केन्द्रीय नेतामाथि विप्लव समूहको आक्रमण

जाजरकोट– सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य  डम्बरबहादुर सिंहमाथि बुधवार विहान आक्रमण भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा बीच बाटोमा उनीहरुमाथि आक्रमण भएको हो। 

नेकपाको वारेकोट गाउँपालिका समितिका पदाधिकारीको सपथग्रहण कार्यक्रममा जाने क्रममा सोही गाउँपालिका वडा नम्बर ८ लैखमस्थित राहपानी झरना नजिककैको भीरमा केन्द्रीय सदस्य आचार्य र प्रदेश समिति सदस्य सिंहमाथि आक्रमण भएको बताइएको छ। बाटोमा हिँडिरहेको बेला एक्कासी विपरीत दिशाबाट आएका पाँच जना मध्येका एक जनाले लठ्ठीले कुटेर आफूहरुलाई घाइते बनाएको कर्णाली प्रदेश समिति सदस्य डम्बरबहादुर सिंहले फोनमा जानकारी दिए। 

‘सुरुमा डम्बरबहादुर सिंह भन्ने को हो भन्दै सोधे, अनि मैले म हुँ भन्ने वित्तिकै  लठ्ठीले हान्न सुरु गरे’, सिंहले भने। एमालेका नेतालाई बेस्सरी कुटनु पर्छ भन्दै आफू र केन्द्रीय सदस्य आचार्यलाई हिड्न नसक्ने गरि ती युवाले कुटेको  सिंहले बताए। आफूलाइ विप्लव नेतृत्वको नेकपाको बटालियन कमान्डर बताउने अर्जुन नाम गरेका ती युवाले आफूहरु दुवै जनालाई एमालेका नेता भनेर गाली गर्दै कुटेको सिंहले बताए। ती युवाको आक्रमणवाट घाइते भएर हिड्न नसक्ने भएपछि वारेकोटको कार्यक्रममा नगएर आफूहरु दल्लीतिर फर्किएको पनि सिंहले बताए। आचार्य पूर्वएमालेको भातृ संस्था युवा संघ नेपालका पूर्व महासचिव हुन भने सिंह पूर्व एमाले जाजरकोटका पूर्वअध्यक्ष हुन्।  घटना नियोजित जस्तो देखिएको सिंहले बताए। 

नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटना निकै दुःखद भएको भन्दै दोषीलाई कडा कारवाही हुनुपर्ने बताए।  उता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबहादुर खत्रीले घटनाबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइसकेको बताए। घटनामा खास के भएको हो र आक्रमण गर्नेहरु को हुन भन्नेबारे एकिन जानकारी नआएको डिएसपी खत्रीले बताए। घटनाबारे  विप्लव नेतृत्वको नेकपाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। 

प्रकाशित: ६ कार्तिक २०७६ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App