१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकालाई उपाधि

काठमाडौं – पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ। लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो।

पहिलो क्वार्टरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वार्टरमा १६–४ को अग्रता बनाएको थियो। यस्तै तेस्रोमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वार्टरमा भने ७–८ ले पछि परेको थियो। श्रीलंकालाई प्रभावशाली जित दिलाउन प्लेयर अफ दी म्याच हिरोनी हिसानीले २५ अंकको योगदान गरिन्।

च्याम्पियनसिपमा घरेलु टोली नेपाल भने चौथो स्थानमा सीमित भयो। तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा माल्दिभ्ससँग ३५–१८ ले पराजित भएपछि नेपाल चौथो स्थानमा सीमित भएको हो। माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन्।

च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी दिननायके सर्वोकृष्ट खेलाडी बनेकी छिन्। श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन्। श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन्। उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन्। यस्तै माल्दिभ्सकी मिस्का अफराह हसन बेस्ट डिफेन्डर घोषित भइन्।

विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए। नेपाल नेटबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका थिए।
 

प्रकाशित: ६ कार्तिक २०७६ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App