म्यानपावर कस्दै सरकार

बुधबार, ०६ कार्तिक २०७६, ०८ : ०५ रुद्र खड्का

काठमाडौं – वैदेशिक रोजगारीमा जाने युवासँग तोकिएभन्दा बढी रकम असुलेको आरोप खेपिरहेका म्यानपावर कम्पनीहरुलाई सरकारले कडाइ गर्ने संकेत गरेको छ।

म्यानपावरलाई कडाइ गर्ने प्रयासस्वरुप वैदेशिक रोजगार विभागले म्यानपावर सञ्चालक र कर्मचारीको सम्पूर्ण विवरण मागेको छ। विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावरको धरौटी वृद्धि र मर्जरपछिको अवस्था यकिन गर्न विवरण माग गरिएको नागरिकसँग बताए।

धरौटी बढाउने सरकारी निर्णयपछि अघिल्लो महिना करिब १४ सय म्यानपावर मर्ज भएर आठ सय ५४ मा झरेका थिए। ‘कैयौं म्यानपावर गाभिइसकेपछि ती संस्थामा काम गर्ने कर्मचारी र सञ्चालकको तथ्यांक संकलन गर्न विवरण मागेका हौं,’ मंगलबार भुसालले नागरिकसँग भने।

विभागले सात दिनभित्र सबै म्यानपावरलाई काम गर्ने कर्मचारी, सञ्चालकको विवरण नबुझाए कारोबार रोक्का गर्नेसम्मको चेतावनी दिएको छ।

विभागका अधिकारीले म्यानपावरमा काम गर्ने कर्मचारी र सञ्चालकको विवरण बुझाउन अहिले परिपत्र गर्नुपरेको जनाए पनि म्यानपावर सञ्चालक भने सरकार पेल्ने नियतका साथ अघि बढेको गुनासो गर्छन्।

सात दिनभित्र सम्पूर्ण विवरण बुझाउन परिपत्र

एक म्यानपावर व्यवसायीले कर्मचारी र सञ्चालकको विवरण संकलन गर्ने बहानामा म्यानपावरको आर्थिक विवरण संकलन गर्न खोजेको बताए। महानिर्देशक भुसाल भने म्यानपावरमा काम गर्ने कर्मचारीको विवरणले एजेन्ट पहिचान गर्न सहज हुने बताउँछन्।

सरकारले केही समयअघि विदेश पठाउँदा एजेन्ट प्रयोग गर्न नपाइने निर्णय गरेको थियो। एजेन्टमार्फत विदेश जाँदा ठगी बढेपछि सरकारले एजेन्ट खारेज गर्ने निर्णय गरेको थियो। त्यसयता पनि म्यानपावरले एजेन्ट प्रयोग गरिरहेको गुनासो व्याप्त छ।

भुसालले म्यानपावरमा काम गर्ने सबै कर्मचारीको विवरण संकलन भइसकेपछि एजेन्ट र कर्मचारीको विवरण खुल्ने बताए। ‘कर्मचारीको विवरण प्राप्त भएपछि विदेश पठाउने एजेन्टलाई कारबाही गर्न सहज हुनेछ,’ उनले भने।

वैदेशिक रोजगार ऐनले म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था गरेको छ। म्यानपावरमार्फत वैदेशिक रोजगारीमा गएका व्यक्ति समस्यामा परेको खण्डमा उद्धार र क्षतिपूर्ति दिन सहज हुने भए पनि चेतना अभावको फाइदा उठाउँदै एजेन्ट प्रयोग हुने गरेको छ। पछिल्लो समय म्यानपावरको तुलनामा एजेन्टबाट ठगिएको भन्दै विभागमा उजुरी पर्ने गरेका छन्।  आर्थिक वर्ष ०७५/७६ मा विभागमा करिब ७५ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ।

वैदेशिक रोजगारीमा जानेसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने प्रावधान भए पनि प्रतिव्यक्ति ७० हजारदेखि दुई लाख १० हजार रुपैयाँसम्म असुलिन्छ।

केही समयअघि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको एक अध्ययन अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ५५ प्रतिशतले सम्झौता अनुसार तलब र सुविधा पाउँदैनन्। ३६ प्रतिशतलाई फरक काममा लगाइन्छ भने ५६ प्रतिशतले ओभरटाइम काम गरेको पारिश्रमिक पाउँदैनन्।

वैदेशिक रोजगारीमा जानेसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी रकम लिन नपाउने सरकारी निर्णय भए पनि अध्ययनका क्रममा प्रतिव्यक्ति ७० हजारदेखि दुई लाख १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथ्य भेटिएको छ।

कामदारसँग ठूलो रकम असुल गर्दासम्म विभागले कुनै म्यानपावरमाथि कारबाही नगर्दा मिलेमतोको आरोप लाग्दै आएको थियो। सरकारले २०७२ असार २१ गते खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय लागू गरेको थियो।

म्यानपावरको संख्या घटाउन सरकारले एक वर्षमा तीन हजारभन्दा थोरैलाई विदेश पठाउने कम्पनीलाई ५० लाख नगद र डेढ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने नियम लगाएको थियो। त्यस्तै वर्षमा तीनदेखि पाँच हजार  विदेश पठाउनेले एक करोड नगद र तीन करोड बैंक ग्यारेन्टी तथा पाँच हजारभन्दा बढी पठाउनेले दुई करोड नगद र चार करोड रुपैयाँ बैंक ग्यारेन्टी धरौटी राख्नुपर्ने नियम थियो। सोही नियमले म्यानपावरको संख्या संख्या आठ सय ५४ मा झारेको थियो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले विभागले माग गरेको विवरण बुझाउन व्यवसायीलाई कुनै आपत्ति नभएको बताए। निःशुल्क भिसा र टिकटको हकमा भने दक्षिण एसियाली मुलुकमा भइरहेको अभ्यास अनुसार नै श्रमिकले पाउने एक महिनाको पारिश्रमिक बराबर पाउनुपर्ने माग यथावत रहेको उनले बताए।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad