१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन महिनायता चोरी तस्करीमा संलग्न १३ पक्राउ, ५० लाख बढीको सामान बरामद

राजविराज – पछिल्लो तीन महिनायता सप्तरी प्रहरीले तस्करी गरी भित्र्याइएका ५० लाखभन्दा बढीको अवैध मालसामान पक्राउ गरेको छ। उक्त अवधिमा तस्करीमा संलग्न रहेको आरोपमा एक महिलासहित १३ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तस्करीको सामान पक्राउ गरिए पनि तस्कर छाड्ने गरेको आरोप यसअघि सप्तरी प्रहरीमाथि लाग्ने गरेको थियो। पछिल्लो लामो समयपछि यसरी प्रहरीले तस्करीको मालसामानसँगै तस्करीमा संलग्न रहेको आरोपमा यति धेरै मानिसलाई समातेको हो। ‘प्रहरीको सेटिङमै तस्करी हुने गरेको र बेलाबखत देखाउनलाई मात्रै प्रहरीले सामान बरामद गर्दै तस्करलाई उन्मुक्ति दिने गरेको’ आरोपलाई चिर्न पनि प्रहरीले पछिल्लो समय चोरी तस्करी नियन्त्रणका लागि विषेश अपरेसन नै थालेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाइ गरेपछि भन्सार छली तथा तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार आठ सय ९९ रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गर्नुका साथै चोरी तस्करीमा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको हो। जिप्रकाको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ को साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको सवारी तथा मोटरपार्ट्सतर्फ मात्रै २८ लाख ६ हजार पाँच सय मूल्य बराबरको सरसामान नियन्त्रणमा लिइएको छ। जिल्लाको मुख्य नाका तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालयका अनुसार उक्त नाकाबाट मोटरपार्टको भन्सार नगण्य मात्रै काटिने गरिएको छ। 

भारतसँग जोडिएको सप्तरीको मुख्य भन्सार नाका कुनौलीसहित जिल्लाको आधा दर्जन विभिन्न छोटी भन्सार नाकाहरुबाट किराना सामान, मटर, मरिच, मदिरा र गाँजादेखि लिएर बालुवा ढुंगासम्म अवैध रुपमा निकासी हुने गरेको गुनासो सरोकारवालाले गर्दै आएका छन्।

यस अवधिमा भन्सार छली ल्याउन लागिएको १३ लाख २७ हजार ७५ रुपैयाँको किराना सामग्री तथा तीन लाख १६ हजार पाँच सय ८४ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ। सोही अवधिमा पशु चौपाया चोरी तस्करीतर्फ चार लाख ५० हजार र मोबाइल तथा विद्युतीय उपकरणतर्फ एक लाख १० हजार मूल्य बराबरको मालसामान जफत गरी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाको डाक्नेश्वरी, बोदेबसाइन, हनुमाननगर कंकालिनी तथा खडक नगरपालिका र तिलाठी कोइलाड, बलान बिहुल र विष्णुपुर गाउँपालिकालगायत क्षेत्रबाट बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए। सीमा क्षेत्रमा गरिएको कडाइले राजस्व असुलीमा समेत वृद्घि भएको बताउँदै एसपी प्रसाईले नाकामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निगरानी बढाएपछि चोरी तस्करी नियन्त्रणतर्फ प्रहरीले आंशिक सफलता पाइरहेको एकपछि अर्को सफलता मिल्दै गएको सुनाए। 

भारतसँग जोडिएको सप्तरीको मुख्य भन्सार नाका कुनौलीसहित जिल्लाको आधा दर्जन विभिन्न छोटी भन्सार नाकाबाट किराना सामान, मटर, मरिच, मदिरा र गाँजादेखि लिएर बालुवाढुंगासम्म अवैध रुपमा निकासी हुने गरेको गुनासो पछिल्लो लामो समयदेखि सरोकारवालाले गर्दै आएका छन्। पछिल्लो समय खासगरी मटर, मरिच, मदिरा तथा गाँजा तस्करिका लागि सप्तरीका नाका प्रयोग हुँदै आएको सीमा सुरक्षामा खटिएका सुरक्षा स्रोतकै दाबी छ।

मटर तेस्रो मुलुकबाट नेपाल भित्रिने खाद्यान हो। भारतमा महँगो पाउने भएकाले तस्कर यसतर्फ सक्रिय भएका हुन्। त्यस्तै सप्तरीसँग जोडिएको भारतको बिहार राज्य सरकारले मदिरा बन्द गरिदिएपछि पारीका मदिराप्रेमी मदिराको व्यवस्था गर्ने तस्करको मुख्य काम भएको छ। नेपालमा ३०/४० रुपैयाँ प्रतिबोतल पाइने मदिरा पारी दुई सयदेखि तीन सय भारुसम्ममा बेच्ने गरिन्छ। गाँजाका लागि त झन् सप्तरी ट्रान्जिट प्वाइन्ट नै बन्दै गएको हो। भोजपुर, ओखलढुंगालगायत पहाडी जिल्लाबाट आउने गाँजा सप्तरीकै नाका हुँदै भारत पठाउने गरिन्छ। यस कार्यका निम्ती दक्ष म्यानपावरसहितको गिरोह नै सक्रिय रहेको समाचार बेलाबखत सार्वजनिक हुँदै आएका छन्।
स्रोतका अनुसार मुख्य भन्सार नाका कुनौलीका अतिरिक्त सप्तरीको पश्चिमी दक्षिणी नाका स्वर्णपट्टी, कुसहा, पातो, रामनगरको दरकट्टी, बननियाँ, छिन्नमस्ता, को. बर्साइनसहित नाकाबाट दैनिक लाखौ मूल्यबराबरको किराना सामान, लत्ताकपडा, खाद्यान, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स सामान, बालुवा, ढुंगा, स्याउ, काठलगायत सामग्री अवैध रुपमा वारिपारि हुने गरेको छ।

उक्त स्रोतले भन्यो, ‘सीमा क्षेत्रमा कार्यरत जवानदेखि ठूला हाकिमसम्म तस्करको सेटिङ हुने गर्छन्, यदाकदा समन्वय तथा तालमेलको अभाव भनौ वा देखाउनलाई पनि बीचबीचमा केही सामान समातिने गरिन्छ।’ स्रोतका अनुसार सप्तरीको तिलाठी तथा रम्पुरा मल्हनियाँ नाकाबाट मटर, गाँजा, रक्सी भारत निकासी हुने गरेका छन् भने भारतबाट भन्सार छलेर किराना सामान, खाद्यान, मोटरपार्ट्स, इलेक्ट्रोनिक्स आइटम नेपाल भित्रिन्छ। यसैगरी स्वर्णपट्टी नाका हुँदै रक्सी र गाँजाका अतिरिक्त एलबेस्टर, किराना आइटम, खाद्यानसहित आइटम नेपाल भित्रिने गरेका छन् भने बालुवाढुंगा, स्याउसहित सामान नेपालबाट भारत भित्रिने गरेको छ।

यता पातो, कुसहा, छिन्नमस्ता, भारदह, को. वसाइन, रामनगर कोदरकट्टीलगायत नाकाबाट पनि अत्यधिक मात्रामा किराना सामान, मोटर पार्ट्स, खाद्यान, इलेक्ट्रोनिक्स आइटम आवातजावत हुने गरेको त्यस क्षेत्रका स्थानीयको भनाइ छ। नाम नछाप्ने सर्तमा सप्तरीको रामनगर कोदरकट्टीका एक स्थानीयले भने, ‘रातिको समयमा टायरगाडा, साइकल, ठेला, ट्र्याक्टर र ट्रकमा समेत अवैध सामान नेपालबाट भारत तथा भारतबाट नेपाल भित्र्याउने गरिएको छ।’

सीमा क्षेत्रका नाम चलेका केही व्यापारी यस्ता कार्यमा करोडौं लगानी गरिरहेका छन्। पूर्वको झापा, मोरङ तथा पश्चिममा पर्सालगायत जिल्लामा चौतर्फी दवाव सिर्जना हुन थालेपछि सुपारी र लसुन तस्करसमेत सप्तरीका नाकालाई आफ्नो रोजाइ बनाउन थालेका छन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App