१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चर्चामा गौर नरसंहार

काठमाडौं – राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता महम्मद आफताब आलम पक्राउ परेपछि यति बेला गौर नरसंहार काण्ड पनि चर्चामा आएको छ। तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमबीच एकै स्थानमा कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको मृत्यु भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ।

उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या गरेको आरोपमा हालका उपप्रधानमन्त्री यादवसहित फोरमका एक सय २७ जनाविरुद्ध रौतहट प्रहरीमा उजुरी परेको थियो। सो घटना २०६३ चैत ७ गते दिउँसो भएको थियो।

फोरमको नेतृत्वमा कार्यक्रम हुनुअघि नै मोर्चाको कार्यक्रम हुने तय भएको जानकारी पाएपछि फोरमले अवरोध गरेको र कार्यक्रम स्थलमा मञ्च भत्काउँदा तत्कालीन माओवादी कार्यकर्ताको हत्या भएको थियो। सो घटनामा हाल राजपामा रहेका बाबुलाल साह, समाजवादी पार्टीमा रहेका रामकिशोर यादव, पूर्वसभासद् बबन सिंह, गौरका मेयर अजय गुप्ता, पूर्वउपसभापति चन्द्रिकाप्रसाद सिंह, बलरासिंह कुँवर, गगनदेव बैठा, भूषण सिंह, ललन सिंह, शम्भु साहलगायतविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

हाल नेकपा केन्द्रीय सदस्य तथा तत्कालीन माओवादी नेता प्रभु शाहले उनीहरुका विरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले यस विषयमा हालसम्म पनि अनुसन्धान अघि बढाएको छैन। नेकपा केन्द्रीय सदस्य साहले आपराधिक घटनाको अनुसन्धान हुनुपर्ने बताए। ‘कुनै पनि आपराधिक घटनाको अनुसन्धान हुनुपर्छ। गौर हत्याकाण्डका पीडित पनि न्यायको पर्खाइमा छन्’, उनले नागरिकसँग भने, ‘तर यति बेला रौतहट प्रहरीले अर्को घटनाबारे अनुसन्धान गर्दैछ। यसलाई छायामा पार्नेगरी गौर हत्याकाण्डको कुरा उठाउनु सान्दर्भिक होइन।’

प्रकाशित: ६ कार्तिक २०७६ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App