१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

जिग्री र पाँडेविरुद्ध उजुरी

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ। आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको भूमिका टेलिसिरियल ‘भद्रगोल’ को पात्र भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका थिए।

महानगरीय प्रहरी परिसर टेकुमा उजुरी प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटीका अनुसार मिडिया हबले कपिराईटको उजुरी प्रहरीमा दिएको हो। ‘मिडिया हबले हाँस्य टेलिसिरियल ‘भद्रगोल’ को पात्रहरूको नाम प्रयोग गरेर कलाकारहरुले ‘सक्किगो नि’ सिरियल बनाएपछि प्रहरीमा कपिराईटको उजुरी दिएका थिए। उजुरी आएलगत्तै अनुसन्धान सुरु गरेका छौं। बाँकी छलफलका लागि दुबै पक्षलाई शुक्रबार बोलाएका छौं,’ उनले भने।

मिडिया हबका प्रमुख सोम धितालका अनुसार टेलिसिरियल ‘भद्रगोल’ का जिग्री, पाँडे र बले कक्रोचजस्ता पात्रको नामलाई अनुमतिविना कलाकारहरुले अर्को सिरियलमा हुबहु प्रयोग गरेका थिए। ‘मिडिया हबले उत्पादन गरेको भद्रगोल टेलिसिरियलको पात्रको नाम प्रयोग गरेर कलाकारहरुले अर्को सिरियल बनाए। भद्रगोल मिडिया हबको कार्यक्रम भएकाले हाम्रो अनुमतिबिना कपिराईट नलिइकन अर्को सिरियल बनाउनु गलत हो,’ उनले भने। यसअघि भद्रगोलमा काम गरिरहेको जिग्रीको टोलीले ‘सक्किगो नि’ सिरियल बनाएका थिए।

‘सक्किगो नि’ सिरियलका कलाकार कुमार कट्टेल जिग्रीका अनुसार पात्र र कलाकारको कपिराईट उत्पादक कम्पनीसँग नहुने बताउँछन्। ‘कुनैपनि पात्रको कपिराईट कलाकारसँग हुन्छ। मेरो पात्रको कपिराईट कसरी उत्पादक कम्पनीसँग हुन्छ ? फेरि सम्झौता अवधि सकिएपछि हामी स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ। मिडिया हबले हामीलाई शोषण गरेको छ,’ उनले भने, ‘भन्द्रगोलो स्क्रिप्ट हामीले लेखेको हुँदा छुट्टिएपछि हामीसँगै ल्याएका हौं।’

आईतबार महानगरीय प्रहरी परिसर टेकुबाट फोन आएलगत्तै कुमार कट्टेल ‘जिग्री’का टोलीले भद्रगोलको सम्झौता पत्र बुझाएको थियो। यसअघि मिडिया हबले निर्माण गर्दै आएको ‘भद्रगोल’ बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टोलीले जेपिटी क्रियसनमार्फत ‘सक्किगो नि’ निर्माण गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०७६ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App