१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थापाको आत्मकथा आउने

काठमाडाैँ – ‘मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवम् एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्ष गणेश थापाले भावुक हँुदै आइतबार यस्तो प्रतिक्रिया दिए।

कार्यक्रम थियो, थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशनसम्बन्धी घोषणा कार्यक्रम। खेलाडी र व्यवस्थापकका रूपमा नेपाली फुटबलमा तीन दशकभन्दा बढी समय बिताएका थापाले यसो भनिरहँदा उपस्थितमा पनि एक किसिमको सन्नाटा छाएको थियो।

बुकहिल पब्लिकेसनबाट आगामी फागुनमा प्रकाशन गर्ने भनिएको उक्त आत्मकथाको आइतबार आवरण सार्वजनिक गरिएको हो। सो अवसरमा थापाले आफूले नेपाली फुटबलमा गरेको योगदानको कदर नभएको र आफूमाथि कयांै किसिमका भ्रामक आरोप लगाएकाले त्यो पीडादायी भएको बताए। सोही बेला उनले जिउँदो छँदै नगरिएको कदर आफ्नो मरणपछि नगर्नसमेत आग्रह गरे।

साथै थापाले आफूले २२ वर्ष अध्यक्ष रहँदा बिताएको समयमा नेपाली फुटबलमा भएका गतिविधि र आफू बाहिरिएपछिका विगत ५ वर्षका गतिविधिलाई राम्रोसँग केलाउन आग्रह गरे। सफलता, चर्चा, विवादलगायत सबै कोणबाट फुटबलको केन्द्रबिन्दुमा रहेका थापाको आत्मकथामा उनको जीवनगाथासँगै नेपाली फुटबलको विकासक्रम पनि समेटिनेछ। थापासँगै जोडिएका चर्चित काण्ड भ्रष्टाचार अभियोगमा सार्वजनिक लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय, फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको निर्णय, एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामसँगको सम्बन्धलगायत विषय समेटिनेछन्।

‘मलाई लेखा समितिले बिनाप्रमाण ५८ करोड भ्रष्टाचारको आरोप लगाउँदै हचुवाको भरमा गणेश थापा दोषी हो भन्यो। जबकि अख्तियारले मलाई यही मुद्दामा सफाइ दियो,’ थापाले भने, ‘हो, फिफाले मलाई बिन हमामसँग रकम लिएको आरोपमा १० वर्षको प्रतिबन्ध लगायो।’

थापाले नेपाली सञ्चारमाध्यममा आएका समाचारका आधारमा समाजले आफ्ना बारेमा बनाएका गलत धारणालाई चिर्न गरिएका प्रयासहरूले आशातीत प्रतिफल नदिएपछि पाठकसामु सबै खुलस्त पार्नुपर्छ भन्ने हेतुले आत्मकथा लेखेको बताए।

‘मेरा बारेमा आएका गलत समाचारको खण्डन गर्ने मौकासमेत मलाई मिलेन। कतिपय अवस्थामा मेरो बानीका कारण पनि पत्रकार चिढिए होलान्। तर सत्यतथ्य बाहिर ल्याउनैपर्छ, नत्र मैले फुटबलमा समर्पण गरेको मेरै जीवनमै ऊर्जाशील समयको पनि अवमूल्यन हुने ठानेर आत्मकथा लेख्ने जमर्को गरेको हुँ,’ थापाको भनाइ थियो, ‘यो आत्मकथा मेरो सफाइ नभई सत्यतथ्य उजागर तथा आफ्नो जीवनवृत्त आमजनमानससम्म पु¥याउने उद्देश्यका लागि तयार पारिएको हो।’

थापाले नेपाली सञ्चारमाध्यममा आएका समाचारका आधारमा समाजले आफ्ना बारेमा बनाएका गलत धारणालाई चिर्न गरिएका प्रयासहरूले आशातीत प्रतिफल नदिएपछि पाठकसामु सबै खुलस्त पार्नुपर्छ भन्ने हेतुले आत्मकथा लेखेको बताए।

 

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App