१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका सेमिफाइनलमा

टोकियो – दक्षिण अफ्रिकाले आइतबार घरेलु टोली जापानलाई स्तब्ध बनाउँदै जारी रग्बी विश्वकपको सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको छ। टोकियो स्टेडियममा आइतबार जापानलाई २६–३ स्कोरले स्तब्ध बनाउँदै दक्षिण अफ्रिकाले सेमिफाइनलमा वेल्ससँगको भेट पक्का गरेको हो। वेल्सले पनि आइतबार ओइतामा भएको खेलमा फ्रान्सलाई २०–१९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। यी दुई बीचको प्रतिस्पर्धा आगामी आइतबार योकोहामा स्टेडियममा हुनेछ।

यसअघि इङ्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा भेट पक्का गरिसकेका छन्।  आइतबार आत्मविश्वासी घरेलु टोलीविरुद्ध सफलता निकाल्न दक्षिण अफ्रिकाका फाफ डे क्लर्कले उत्कृष्ट प्रदर्शन गरे। घरेलु टोलीले पनि पहिलो हाफमा उत्कृष्ट रक्षात्मक रणनीति अपनाउँदा ५–३ ले मात्र पछाडि परेको थियो। तर, दोस्रो हाफमा भने जापानविरुद्ध दक्षिण अफ्रिका हाबी भयो।

विश्व वरीयतामा चौथो स्थानको दक्षिण अफ्रिकाले दोस्रो हाफमा २१ स्कोर गर्दा जापानले भने एक स्कोर पनि गर्न नसकेपछि घरेलु मैदानमा जारी विश्वकपको यात्रा टुङ्ग्यायो। जापानले पहिलो हाफमा पेनाल्टीबाट तीन अंक प्राप्त गरेको थियो। पहिलो हाफको ४० मिनेटमा ८० प्रतिशत पोसेसन आफ्नो नियन्त्रणमा राखेको जापानका लागि यु टामुराले २०औं मिनेटमा पेनाल्टीबाट स्कोर गरेका थिए।

खेलको चौथो मिनेटमा माकाजोले मापिम्पीको ट्राइबाट दक्षिण अफ्रिकाले अग्रता लिएको थियो। दोस्रा हाफमा भने आक्रामक बनेको दक्षिण अफ्रिकाका लागि फाफले ६६औं र मापिम्पीले ७०औं मिनेटमा ट्राइ गरेका थिए। त्यसअघिको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले वेल्सलाई कडा चुनौती दिए पनि २०–१९  स्कोरले खेल सुम्पियो।

फ्रान्सका लागि तीन खेलाडी सेबास्टियन भाहामाहिना, चाल्र्स ओलिभन र भिर्मी भाकातावाले १÷१ ट्राइ गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। वेल्सका आरोन वेइनराइटले समान एक ट्राइ गरे। विश्व वरीयतामा सातौं स्थानमा रहेको फ्रान्सले तेस्रो स्थानको वेल्सलाई चुनौती दिँदा पहिलो हाफमा १९–१० अंकको अग्रता लिएको थियो।
तर, दोस्रो हाफमा समालिन नसक्दा हारसँगै विश्वकपको यात्रा टुंग्याउन बाध्य भयो। दोस्रो हाफमा वेल्सले १० स्कोर फर्काउँदा फ्रान्स असफल भएको थियो। खेलको ४९औं मिनेटमा सेबास्टियन रातो कार्ड खाँदै बाहिरिएपछि फ्रान्स १४ खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै वेल्सले फ्रान्सविरुद्ध स्कोर फर्काउन सफल भयो।
 
 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App