१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक वर्षमा २७ प्रतिशत काम सम्पन्न, समयमै निर्माण पुरा गर्न कठिन

फाइल तस्वीर

काठमाडौं– विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ।

गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य  एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन। दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको गति हेर्दा अबको पाँच वर्षमा समेत पूर्णत पाउने स्थिति नदेखिएको सरोकारवालालाहरूले बताएका छन्। 

नेपाल र चिनियाँ निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीसँग विसं २०७५ असोज १४ गते दुई वर्षमै धरहरा निर्माण गर्ने र  विसं २०७७ असोज २१सम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेसम्झौता भएको थियो।

पुनःनिर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रङक्रिट भरिएको र बिम तथा स्ल्याब उठाउने कार्य शुरु गरिएको छ। त्यस्तै गोश्वारा हुलाक कार्यालय रहेको भवन भत्काएर सफाइ गर्ने काम भइरहेको छ। 

धरहरा निर्माणका लागि आवश्यक जग्गा गोश्वारा हुलाक कार्यालयले प्राधिकरणलाई हस्तान्तरण गर्न ढिला गरेकाले निर्माणले गति लिन नसकेको हो। हाल हुलाकले हामीलाई ९० प्रतिशत मात्रै जग्गा दिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले  समयमै जग्गा उपलब्ध नगराउँदा निर्माणमा ढिलाई भएको भन्दै आलटाल गरेको छ।

‘निर्माण कम्पनी र हुलाक कार्यालयका कारण धरहरा पुनःनिर्माणमा ढिलाइ भएको हो’, उनले भने,‘अझै हुलाकले १० प्रतिशत जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न बाँकी छ। जग्गा दिन ढिला भएकै कारण निर्माण कम्पनीले ढिला गर्ने बहाना बनाएको हो तर  सकेसम्म छिटो काम गर्न हामीले निर्देशन दिएका छौँ।’

तीन अर्ब ८० करोड रुपैयाँको लागतमा धरहरा निर्माण र गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो भूमिगत तह खनेर तीनतले पार्किङस्थल निर्माण गर्ने सम्झौता भएको थियो।

धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरिसकेकाले पहिला धरहरा रहेको पाँच रोपनी जग्गाबाहेक राष्ट्र बैंकअन्तर्गत रहेको टक्सार विभाग, नेपाल बैंक लिमिटेड र गोश्वारा हुलाक कार्यालयको जग्गामा धरहरा पुनःनिर्माण हुँदैछ।

ती दुबै कार्यालयलाई अन्यत्रै सारिएको छ। विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाउन लगाएका थिए।

एघार तले धरहरा विसं १९९० को भूकम्पले भत्काएको  दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले  नौ तले धरहरा पुनःनिर्माण गराएका थिए।सम्पदा विज्ञ मानन्धरका अनुसार निर्माणतर्फ २७ प्रतिशत काम हुँदा हालसम्म ५५ करोड रुपैयाँ खर्च भइसकेको छ।  रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App