१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतलाई सफलता

मोहाली (एएफपी)– रवीन्द्र जडेजाको अलराउन्ड प्रदर्शनप्रेरितभारतले मंगलबार तेस्रो टेस्टमा इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै शृंखलामा २–० को अग्रता लिएको छ।

टेस्ट वरीयताको शीर्ष टोली भारतले१ सय ३ रनको विजय लक्ष्य पछ्याएको थियो । चौथो दिनको अन्तिम सेसनमा पार्थिव पटेलले विजयी रन बटुले। ८ वर्षपछि टेस्ट टोलीमा पुनरागमन गरेका पटेलले अविजित ६७ रन बनाए।

बायाँहाते जडेजाले पहिलो इनिङमा टेस्ट करिअरकै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दा ९० रन बनाएपछि भारतले पहिलो इनिङमा ४ सय १७ रन जोड्यो । २०१४ मा इङ्ल्यान्डविरुद्ध लडर््समा बनाएको ६८ रन नै जडेजाले टेस्टमा बनाएको राम्रो स्कोर थियो । आफ्नो नाममा ४ विकेट लेखाएका जडेजा म्यान अफ दी म्याच भए।

बिहानी चिया सत्रअघि भारतले पाहुना टोलीलाई २ सय ३६ रनमा अलआउट गरेपछि १ सय ३ रनको सहज लक्ष्य पाएको थियो ।

क्रिस वोक्सले ओपनर मुरली विजयलाई खाता खोल्न नदिई पवेलियन पठाए पनि पटेल र चेतेश्वर पुजाराले जितको आधार खडा गरे। उनीहरूले दोस्रो विकेटमा ८१ रनको साझेदारी गरे । ५४ बल खेलेका पटेलले ११ चौका र १ छक्कासहित अविजित ६७ रन जोडे । एडिल रसिदको बलमा बोल्ड हुनुपूर्व पुजाराले ५० बलमा ४ चौकासहित २५ रन बनाए। कप्तान विराट कोहली ६ रनमा अविजित रहे ।

राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा खेलेको भारतले विशाखापट्टनमको दोस्रो टेस्टमा २ सय रनको विजय पाएको थियो । तल्लोक्रमका ब्याट्सम्यानले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दा भारतले जितआधार बनाएको हो । ७२ रन बनाएका रविचन्द्रन अश्विनले ३ विकेट लिए ।

‘दोस्रो दिन हाम्रो प्रदर्शन सन्तोषजनक भएन । तर ड्रेसिङ रूममा जुनखाले आत्मविश्वास देखियो त्यो गज्जबको थियो,’ अश्विनले भने, ‘तल्लोक्रमका ब्याट्सम्यानलाई सधैँ हौसला प्रदान गरिन्छ । हामीमा पनि १२५–१५० सम्मको रन जोड्न सक्ने आत्मविश्वास छ । मलाई लाग्छ हामीले आफूलाई प्रमाणित ग¥यौं।’

त्यसअघि ७८–४को स्थितिबाट चौथो दिनको खेल सुरुगरेको इङल्यान्डका गारेथ बाटीलाई दोस्रो ओभरमै जडेजाले एलबिडब्लु आउट गरे।त्यसपछि ब्याटिङमा आएका जोस बट्लर १८ रन बनाउँदा जयन्त यादवको बलमा मिडअनमा जडेजाबाट क्याचआउट भए। आफ्नो २५ औं टेस्ट अर्धशतक पूरा गर्दा जोए रुटले १ सय ७९ बलमा ७८ बनाए भने घाइते हसिब हमिदले १ सय ५६ बलमा अविजित  ५९ रन बनाए । रुटलाई जडेजाको बलमा अजिन्क्या रहानेले क्याचआउट गराए।

भ्रमणकारी टोलीलाई सस्तोमा समेट्ने क्रममा भारतका अश्विनले ३ तथा मोहम्मद सामी,जयन्त यादव र उमेशकुमार यादवले २–२ विकेट लिएका थिए ।

‘टस जित्नु सुखद पक्ष थियो तर २ सय ८० रनमै अलआउट भयौं भने खेल जित्न सकिँदैन भन्ने थियो,’ इङ्ल्यान्डका कप्तान एलिस्टर कुकले भने, ‘यो पिचमा जित्न कम्तीमा ४ सय माथिको स्कोर बनाउन सक्नुपथ्र्यो । यो ४ दिन निकै निराशजनक रह्यो । भारतले उत्कृष्ट प्रदर्शन ग¥यो । उनीहरू जितको हकदार छन् ।’

यसअघि टस जित्दै ब्याटिङगरेको इङ्ल्यान्डले  २ सय ८३ रनमात्र जोड्न सकेको थियो । जोनी बेरिस्टोले १ सय ७७ बलमा  ८९ रन बनाउँदा जोस बट्लरले ४३ र बेन स्टोक्सले २९ रनको योगदान गरेका थिए ।

इङ्ल्यान्डलाई सस्तोमा समेट्ने क्रममा भारतका मोहम्मद सामीले ३ तथा उमेश यादव ,जयन्त यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिएका थिए । भारतले भने रवीन्द्र जडेजाको ९० रन मद्दतमा ४ सय १७ रन बनाउँदै १ सय ३४ रनको अग्रता लिएको थियो ।अश्विनले७२,कोहलीले ६२,जयन्त यादवले ५५ रन बनाएका थिए।इङल्यान्डका बेन स्टोक्सले ५ र एडिल रसिदले ४ विकेट लिएका थिए ।

चौथो टेस्ट डिसेम्बर ८ बाट मुम्बईमा हुनेछ।

प्रकाशित: १५ मंसिर २०७३ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App