१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जथाभावी रुख कटान, करोडौंको काठ बाहिरिँदै

सिन्धुलीकाे एक सामुदायिक वनको काठ कटान गरि घाटगद्धी गरेर राखिएको गोलिया । फाइल तस्बिर

सिन्धुली- वैज्ञानिक वन व्यवस्थापन भन्दै यहाँको बहुमुल्य रुख धमाधम काटिन थालेको छ। वर्षौ बितेका रुखहरु हाल धमाधम काटिन थालेको हो। सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापनमा वन कार्यालयका कर्मचारी ठेकेदारको मिलेमतोमा धमाधम रुख कटान हुन थालेको हो।

वैज्ञानिक वन व्यवस्थापन भन्दै जिल्लाका सखुवाका काठ धमाधम कटान हुन थालेको स्थानीयले बताएका छन्। बुढा रुखहरु निकाल्दै विरुवाहरु जोगाउने तथा हुर्काउने भन्दै छिप्पिएका रुखहरु धमाधम कटान हुँदा सखुवानै सकिने खतरा बढ्न थालेको छ। डिभिजन वन कार्यालय सिन्धुली अन्र्तगत ३३ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। चुरे क्षेत्रमा समेत वैज्ञानिक वन व्यवस्थापनको नाममा धमाधम रुख कटान भएको स्थानीय बताउँछन्। वैज्ञानिक वन व्यवस्थापन भएका विभिन्न गाउँपालिकाका सामुदायिक वनबाट करोडौंको काठ कटान गरि बाहिरिएको स्थानीय स्वयम् बताउँछन्।

हाल सात वटा नयाँ र २६ वटा पुरानो सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले भने, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अत्यन्तै राम्रो कार्यक्रम हो। उनले बजार भाउ र त्यसको मार्केटलाई हेरेर सोही जातका रुखहरु भएको स्थानमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको स्विकार गरे। मार्केट नै नभएरको र काठ भएका सामुदायिक वनमा हालसम्म वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु छैन, उनले भने जहाँ कार्यक्रम लागु छ, त्यहाका काठहरुको मार्केट पनि राम्रो छ। 

उनका अनुसार विभिन्न सामुदायिक वनको उक्त कार्यक्रम अनुसार कटान गरिएको काठ लिलाम हुन बाँकी समेत रहेको छ। जनसेवा सामुदायिक वन ३ हजार ९ सय ५१ क्यूफिट काठ लिलाम हुन बाँकी रहेको डिभिजन वन कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार लालिगुँरास सामुदायिक वन उपभोक्ता समुहको ४ हजार २ सय ९३, जाल्पादेवीको ३ हजार ९ सय ४९ जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको २ हजार पाँच सय ६८ क्यफिट काठ लिलाम हुन बाँकी रहेको छ। केहि सामुदायिक वनका लिलाम भइसके केहि सामुदायिक वनका लिलाम हुन बाँकी छन्, कार्यालय प्रमुख श्रेष्ठले नागरिक न्यूजसँग भने, लिलाम विक्रि भइसकेका सामुदायिक बन उपभोक्ता समितिले करोडौ आम्दानी लिएका छन् । सामुदायिक बनले एउटै समुहले दुई करोड बराबरको काठ यसै कार्यक्रम अन्र्तगत विक्रि वितरण गरेको सामुदायिक वन स्वयम्ले बताएका छन्।

बैज्ञानिक वन व्यवस्थापनको नाममा करोडौको वन फडानी गरि मनपरी भएको कमलामाई नगरपालिकाका एक स्थानीयले बताए छ। सामुदायिक वन उपभोक्ता समितिले आम्दानीको १५ प्रतिशत राजस्व जम्मा गरेपनि अरु बजेट सामुदायमै रहने वन डिभिजन कार्यालयले जनाएको छ। वैज्ञानिक वन व्यवस्थापनको नाममा आफ्नो गाउँपालिकाभित्रका सामुदायिक वनबाट करोडौंका रुख कटान भएको तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर बताउँछन्।

एउटै वडाका विभिन्न सामुदायिक वनबाट १० करोड भन्दा बढीको काठ कटान भएको देखिन्छ, उनले भने। वर्षौदेखिका रुखहरु धमाधम काटन थालिएपछि चुरे क्षेत्रका स्थानीयसमेत चिन्तित बनेका छन्। समुहले माग गरेको आधारमा एउटा सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्न तीन लाखसम्म अनुदान दिइएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ। हामीले १० वर्षे योजना बनाएर यो कार्यक्रम लागु गरेका छौ, डिभिजन प्रमुख श्रेष्ठले भने, यो कार्यक्रम अझै धेरै पहिलादेखिनै लागु हुनुपथ्र्यो। उनले ठुला भनिएका सखुवाका रुख रोगी भइसकेको जनाए। रुख काट्न वर्षौ ढिलो भइसक्यो, जति बुढो हुँदै जान्छ रुखको क्वालिटी घट्दै जान्छ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम भन्दै जथाभावी रुख कटान हुँदा बहुमुल्य सखुवाको काठ घट्दै गएको छ। ठुला रुख कटान हुने र सानाको समेत संरक्षण नहुँदा यो कार्यक्रमबाट सिन्धुलीको हरियाली देखिने सखुवाका जङगल मासिने खतरा भएको हो। कार्यक्रम लागु भएको स्थानमा चरिचरण बन्द गर्नुपर्ने, आगलागीबाट बचाउनुपर्ने जस्ता नियम र मापदण्ड भएपनि ति मापदण्ड पुरा नहुँदा वन मासिने खतरा भएको हो।

प्रकाशित: ३ कार्तिक २०७६ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App