१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मकैपछि कोदो र धानमा फौजी किराको आतंक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा लगाइएको कोदो र धानमा फौजी किरा (आर्मी वर्म)को प्रकोप देखिएको छ। यसअघि हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँका मकै बालीमा फौजी किराको प्रकोप देखिएको फौजी किरा क्रमशः कोदो र धान बालीमा देखा परेको हो।

११ वडा रहेको नगरपालिकाको राजापानी, धितुङ, दुर्छिम, मंगलटारलगायत वडामा लगाइएको कोदो र धानमा फौजी किराको प्रकोप फैलिएको मेयर राईले बताए। ‘सुरुमा फौजी किराले मकै बाली सखाप बनायो,’ मेयर राईले भने, ‘अहिले त्यही फौजी किरा कोदो र धान बालीमा सरेर किसानलाई हैरान बनाइरहेको छ।’

खाइ नखाई दुःख गरेर लगाएको मकै विनास गरेको फौजी किराले पुनः कोदो र धान सखाप बनाउँदा किसान चिन्तित बनेका छन्। खेतबारीमा लगाएको बाली फौजी किराले नष्ट बनाउँदा किसानमा भोकमरीको चिन्ता छाएको छ। लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करिब एक इन्च लम्बाइ भएको फौजी किराले छोटो समयमै कोदो र धानको बिरुवा सिक्राजस्तै बनाउने गरेको छ। कतिपय कोदोको फुल्दै गरेको बाला सखाप बनाएको किसानको भनाइ छ।

कोदोको बाला फुकाएर हेर्दा अधिकांश बोटमा किरा भेटिने र किरा परेको ठाउँ कुहिने गरेको पाइएको छ। कोदोमा फैलिएको फौजी किरा नियन्त्रणका लागि किसानले हारगुहार माग्ने गरेको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए। बस्नेतका अनुसार बडहरेको तल्लो खोक्सेली, घोपाटारलगायत तल्लो क्षेत्रमा लगाइएको कोदोमा फौजी किराको प्रकोप फैलिएको छ।

जिल्लाका विभिन्न ठाउँमा कोदो र धानमा फौजी किरा फैलिएको विषयमा किसानले फोनमार्फत जानकारी गराएको कृषि ज्ञान केन्द्र खोटाङका अधिकृत हरिनारायण राईले बताए।

गाढा हरियो रंगमा अलि–अलि पहेंलो रङ मिसिएको र पिठ्युँतिर शिरदेखि पुछारसम्म तीनवटा धर्का देखिने लाभ्रे आकारको किराले बालीनालीबाहेक वनजंगलमा भएका साल, सल्ला, खिरुवा, खन्यू, बाख्रीघाँस, खयरको पात तथा हरेक रुखबिरुवाको पालुवा र कलिलो मुन्टालाई एकैरातमा सिध्याएर उजाड बनाउने गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवालगायत प्रभावित क्षेत्रमा विषादी हाले पनि फौजी किरा नियन्त्रणमा आउन नसकेको बाहुनीडाँडा मैतुङका स्थानीय किसान पुष्पराज राईले बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि विकास निर्देशनालय लगायतले उपलब्ध गराएको इमिडाक्लोप्रिड १७.८५% एसएल नामक किटनाशक औषधि भदौ ८ गते प्रभावित क्षेत्रमा हालिएको थियो। मेटासिट नामक विषादी हाल्दा पनि फौजी किरा नियन्त्रणमा आउन नसकेको किसानको भनाइ छ। सुरुमा बिरुवा अवस्थाको मकैमा देखा परेको फौजी किराले घोगा लाग्दासम्म पनि आक्रमण गर्न नछाडेको च्यास्मीटार दाल्फुका किसान महेन्द्र राईले बताए।

प्रकाशित: ३ कार्तिक २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App