१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

बुटवल– नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन्।

नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर कमिटिले शनिबार मणिग्राममा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले नेकपालाई कम्युनिस्टहरुको मोर्चाको संज्ञा दिएका हुन्। ‘नेपाल कम्युनिस्ट पार्टी पार्टी होइन कम्युनिस्टहरुको एउटा मोर्चा हो। त्यो मोर्चाभित्र कहिल्यै पनि एकता हुन सक्दैन’, नेता खाँणले भने। जब जब आफ्नो अस्तित्व तथा नेतृत्व संकटमा पर्छ तब तब कम्युनिस्टहरु एक भए पनि शक्ति प्राप्त गरेपछि फेरि फुट्ने र आपसमै लड्ने भएकाले नेकपा कम्युनिस्टहरुको मोर्चा भएको टिप्पणी नेता खाँणले गरे। 

काँग्रेस संसदीय  दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले कार्यशैली, नीति, दृष्टिकोण तथा सिद्धान्तका कारणले पनि कम्युनिस्टहरुको शासन सत्ता लोकतान्त्रिक पद्धतीमा सफल हुन नसक्ने दावी गरे।  कम्युनिस्टहरुले मन मष्तिक्सले लोकतान्त्रिक पद्धतीलाई स्वीकार नगरेकाले देश र जनताको हित यो सरकारबाट हुनै नसक्ने खाँणको दावी थियो। नेपालका कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिबीचको राजनीतिक द्वन्द्वकै कारण कम्युनिस्टहरु लामो समय टिक्न नसक्ने बताए।

दुइ तिहाइको कम्युनिस्ट सरकारले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसकेको उनले बताए। ‘कम्युनिस्टहरु भारतीय प्रधानमन्त्री आए नेपालालाई पुरै मोदीमय बनाउँछन्। चिनियाँ राष्ट्रपति आउँदा सीमय बनाइदिने’, नेता खाँणले भने। 

पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले भारतमा जाँदा मोदी नीति र चीनमा जाँदा सी नीति भनिदिने दोहोरो चरित्रकै कारण नेपालले आजसम्म जोगाउँदै आएको निष्पक्ष नीति, हैसियत तथा अडान  खतरामा परेको उनको भनाई छ। 

नेपालमा कम्युनिस्ट सत्ता स्थापित गर्ने कोसिस भइरहेको दावी गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच नेपालमा चिनियाँ शासनको प्रयोग गर्ने सम्झौता भएको दावी गरे। काँग्रेस कमजोर हुँदा राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक मुल्य मान्यता कमजोर हुने भएकाले राष्ट्र हितका लागि काँग्रेसलाई सुदृढ र बलियो बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। 

प्रकाशित: २ कार्तिक २०७६ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App