१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गैँडाको अस्थिपञ्जर भेटियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ। बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षात्का कारण निगरानी पुर्याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ।

सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको हो। उनका अनुसार गैँडाका खाग, खुरलगायतका अङ्गहरु सुरक्षित रहेका छन्। खाग ठूलो भएकाले भाले गैँडा भएको अनुमान गरिएको छ।

नयाँ आर्थिक वर्ष शुरु भएयता कालगतिका कारण मृत गैँडा भेटिएको यो तेस्रो हो। वर्षात्को समयमा बाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुँच सबै ठाउँमा पुग्न कठिन हुन्छ।

वर्षात् सकिएसँगै बाटो बनाउँदै निकुञ्जले संवेदनशील क्षेत्रहरुमा गस्ती गर्ने गर्दछ। रुपाखेतीले अहिले निकुञ्जका ठाउँ–ठाउँमा खानतलासी कार्यलाई तीव्रता दिइएको जानकारी दिए। 

पूरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ। निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिमार्फत सुरक्षा दिने गरिएको छ।

यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका लागि प्रख्यात रहेको छ। यसै आर्थिक वर्षको चैतको पहिलो साता गैँडा गणनासमेत गरिँदैछ। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App