१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशाेधन प्रस्ताव असफल बनाउने रणनीति एमालेसँग छ : अाचार्य

काठमाडौं– नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने दाबी गरेका छन्। मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव आचार्यले संविधानको संशोधनको आवश्यकता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन्। उनले संशोधन प्रस्तावबारे सत्तारुढ गठबन्धनभित्रै एकरुपता नभएको र संशोधनको माग गरेको मधेशी मोर्चा नै असहमत रहेको उल्लेख गर्दै पहिला आफ्नो दलमा सहमति कायम गरेर देखाउन चुनौती दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले एकपछि अर्को गर्दै काँचो, अपरिपक्व कदमहरु चालिरहेको समेत आरोप लगाए। आचार्यले थपे, ‘प्रचण्डजीले एकपछि अर्को अपरिपक्वता देखाउँदै जानुभएको छ, त्यसैले उहाँ असफल भैरहनुभएको छ ।’ उनले यतिवेला मुलुक र जनताको लागि पनि चुनाव आवश्यकत्ता भएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको नाममा कथित मुद्दाहरु उठाएर मुलुकलाई ध्रुविकरण गर्न खोजिएको समेत आरोप लगाए । उनले अघि थपे,‘यो गलत छ, यस्तो गलत मुद्दा अघि बढाउने खेल र षडयन्त्र सफल हुँदैन।’ उनले सरकारले प्रस्ताव अघि सारे हाले त्यसमा आफ्नो पार्टीले ईस्युवाईज छलफल गर्ने जानकारी दिए ।

उनले अहिले सीमांकनको परिवर्तन गर्ने पक्षमा एमाले नभएको जिकिर गरे। आचार्यले विदेशीलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने प्रावधानको पक्षमा नभएको समेत स्पष्ट पारे। भाषाको विवाद समाधान आयोगले गर्छ भनेर संविधानमा स्पष्ट लेखिएको भन्दै त्यसमा अनावश्यक बखेडा झिक्नु नाटक मञ्चन गर्नुमात्रै भएको उनको टिप्पणी थियो ।

फरक प्रसँगमा आचार्यले दाहाल नेतृत्वको वर्तमान सरकार बुख्याँचा भएको टिप्पणी गरे। उनले अघि थपे,‘यो सरकारले केही गर्छ भन्ने आशा जनतालाई छैन, यो सरकार असफल भएको छ, र असफल हुन्छ भनेर जनताले पहिले नै भनिसकेका थिए, असफल भयो भनेर आश्चर्य मान्नुपर्दैन?’ उनले वर्तमान सरकार कसैले अह्राएर र खटाएर बनेको सरकार भएको आरोप लगाए ।

उनले आफ्नो दलले यतिवेला चुनाव चाहेको भन्दै सरकार परिवर्तनमा कुनै चासो नभएको समेत जिकिर गरे । आचार्यले थपे, ‘हामी चुनाव चाहन्छौं, यदि सरकारले चुनाव गर्न सक्दिन भनेर हात उठाउँछ भने मात्रै केही सोचौंला, तर सरकारको झमेलामा परेर हामी समय खेर फाल्न चाहँदैनौं ।’ उनले सरकारले गर्न नसक्ने भए आफ्नो दलले त्यसपछि प्रतिक्रिया दिने जानकारी दिए ।

उनले प्रदेशको सीमांकनको समाधान गर्ने नाममा ८ प्रदेश कुनै हालतमा नहुने समेत ठोकुवा गरे । उनले संघीयता कार्यान्वयनमा सबैभन्दा बढी जिम्मेवार आफ्नो दल भएको भन्दै यदि सबैलाई संघीयता घाँडो भएको हो भने एमालेले पनि कति दिन बोक्ने भन्दै प्रश्न समेत गरे ।

उनले संविधान कार्यान्वयनमा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको भन्दै संविधान कार्यान्वयनको लागि समयमै निर्वाचन हुनुपर्ने आफ्नो पार्टीका अडान रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो बुद्धिले भन्दापनि अर्काको बुद्धिमा संविधान संशोधनको कुरा उठाएको आरोप लगाए ।

प्रकाशित: १४ मंसिर २०७३ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App