१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बौद्ध दर्शन होइन, अहिंसा परमोधर्म

बुद्ध र बौद्ध धर्मदर्शनले हिंसालाई ठाउँ दिएको छैन, जरुर हो। अहिंसालाई कुशल कर्मका रूपमा लिएका छन्। एक सच्चा बौद्ध धर्मावलम्बीले दैनिक पालना गर्नुपर्ने पञ्चशीलमध्ये पहिलो प्राणीको हत्या गर्नुमा विरक्त हुनु हो। यसबाहेक अन्य प्रावधानमा पनि हिंसालाई प्रश्रय दिएको पाइँदैन। यही भएर कतिपयले बुद्ध र अहिंसालाई पर्यायकै रूपमा बुझ्ने वा लिने गरेको पाइन्छ। अझ कतिपय ठाउँमा ‘गौतम बुद्ध’को सन्देश वा धर्मदर्शन भन्दै ‘अहिंसा परमोधर्म’ भन्ने वाक्यांश प्रयोग गरेको पाइन्छ। बुद्धको प्रशंसामा प्रयोग गरिने अन्य कतिपय शब्द र वाक्यजस्तै ‘अहिंसा परमोधर्म’ पनि वास्तवमा बुद्धसँग सम्बन्धित होइन, यो वाक्यांशलाई बुद्धसँग सम्बन्धित गरेर बुझ्दा आउने समस्या भनेको बौद्ध धर्मदर्शन बुझ्न र बुझाउनमा आउने कठिनाइ हो। यसबाट अलमल र गोलमाल हुन्छ। आस्था र आदर्शको स्तरमा मात्रै बस्ने तर बुद्ध र बौद्ध धर्मदर्शनको सवालमा उदासीन रहने हो भने बेग्लै कुरा, सही रूपमा बुद्ध र बौद्ध धर्मदर्शनमा प्रवेश गर्ने हो भने यस्ता अनेक पक्षलाई छिचोल्नु अनिवार्य छ।

‘अहिंसा परमोधर्म’ हिन्दू समाजमा पनि प्रचलित वाक्यांश हो। हिन्दू र बौद्ध दुवैले अहिंसालाई नै परम धर्म मान्ने हो भने दुई धर्मबीच के अन्तर रह्यो ? त्यसैले वास्तविकता अर्कै छ। धर्मदर्शनका सूक्ष्म कुराको अध्ययन गर्नेका लागि जसरी यो वाक्यांश बौद्धको होइन, त्यसरी नै हिन्दूको पनि होइन भन्ने स्पष्ट छ। यो एउटै ‘इस्यु’ले भारतीय दर्शनशास्त्रको विकास र यसको इतिहास बुझ्न र बुझाउन करिब पर्याप्त सामग्री दिन्छ। यही इस्युलाई यहाँ संक्षिप्त चर्चा गरिन्छ।

चक्क्षुपाल नामका भिक्षु बाटोमा हिँड्दा कीरा–फट्याङ्ग्रा कुल्चिएर मर्थे। दृष्टिविहीन ती भिक्षुले जानीबुझी कीरा–फट्याङ्ग्रा कुल्चेर मारेको नभएको हुँदा त्यसलाई हिंसा भन्न नमिल्ने र अकुशल कर्म पनि नभएको भनी बुद्धले धर्मदेशना गरेका थिए।

आजभोलि जसलाई हामी हिन्दू धर्म वा दर्शन भनिरहेका छौं, इतिहासमा यो विभिन्न नामले अगाडि बढेको पाउँछौँ। ‘हिन्दू भन्ने कुनै धर्म नै छैन’ भनेर कसैले मन्तव्य दिँदा यसलाई अन्य अर्थमा लिई चित्त दुखाउने वा प्रतिवाद गरेर बस्नेको कमी छैन। अथवा, कसैलाई होच्याउनकै लागि यो कुरा गर्नेहरू नभएका होइनन् र पर्याप्त जानकारीको अभावमा यस्तो बोलेर बस्दा अर्थको अनर्थ हुने गरेको पाइन्छ। विकासका क्रम वा प्रक्रियालाई नबुझी झट्ट यस्ता मन्तव्य बनाउँदा यस्तै अनर्थ हुने हो। आजभोलि जसलाई हामी हिन्दू धर्मदर्शन भनिरहेका छौँ, उसले आफ्नो उद्गम वा स्रोत भनेर वेद वा वैदिक सभ्यतालाई देखाउने हो। तर वेद वा वैदिक मूल्य–मान्यतादेखि आज हिन्दूमा रूपान्तरण हुँदासम्मका कुरालाई नियाल्ने हो भने धेरै कुराले कोल्टे फेरेको पाउँछौँ। वैदिक समाज भनुँ वा वैदिक सभ्यता, त्यसको अध्ययन गर्ने भरपर्दो र एक मात्र स्रोत वेद र वेदपछि सिर्जना गरिएका साहित्य नै हुन्। ती साहित्यको अनुशीलन गर्दा र आजभोलि आफूलाई हिन्दू धर्मावलम्बी भन्ने समाजको दैनिक जनजीवन तथा सोच–विचारमाथि ध्यान दिँदा दृष्टिगोचर हुने कुरा हो, कतिपय अवस्थामा तालमेल नै मिल्दैन। बरु वैचारिक रूपमा परिवर्तनशील तथा गतिशील समाजका रूपमा यसलाई लिन सकिन्छ, जुन दर्शनशास्त्रको विकासमा रुचि राख्नेका लागि रोचक पक्ष हुन्छ। ती सबै पक्षको चर्चा वा विवेचना यो लेखको उद्देश्य नभएका कारण हिंसा र अहिंसामा नै सीमित हुनु मनासिब होला।

आजभोलिका हिन्दूले ‘अहिंसा परमोधर्म’ भने पनि वैदिक सभ्यता वा समाजले कहिल्यै पनि मूल रूपमा यस्तो भनेको पाइँदैन। वैदिकहरू आफूलाई आर्य भनाउन रुचाउँछन् र जसलाई जातीय समुदायका रूपमा चिनाउने गरिन्छ। यी आर्यको पहिचान लडाकुका रूपमा थियो। विभिन्न भौगोलिक सीमाभित्र छिर्ने, युद्ध गर्ने, पराजयीलाई निमिट्यान्न पार्ने वा आफूमा समाहित गर्ने यिनीहरूको प्रवृत्ति थियो। यी लडाकुसँग सुरुमा महिलाको संख्या कम थियो र पराजयी समुदायका महिलासँग विवाह गरी सन्तान वृद्धि गर्दथे। पछि विवाह नगर्ने तर दासदासी बनाउनेतिर लागे। हिंसाविना यस्तो इतिहास बन्दैन।

हिन्दूहरू आजभोलि गोमांसको कल्पना पनि गर्न सक्दैनन्। आजभोलिको मान्यता तथा जीवनशैली र सोच–विचार हेर्दा लाग्छ, यो समुदाय सुरुदेखि यस्तै हुन् तर यिनीहरूकै पुर्खा अर्थात् वैदिककालीन आर्यहरू गोमांसका भक्षक थिए भन्ने कुरा प्राचीन साहित्यमा यत्रतत्र उल्लेख पाइन्छन्। अन्य पशुपक्षीका मांसलाई सामान्य भोज्य पदार्थ र गोमांसलाई विशेष भोज्य पदार्थका रूपमा लिइन्थ्यो। गोमांस प्रतिष्ठाकै विषय हुन्थ्यो र विशेष अवसरमा यसको व्यवस्था गरिन्थ्यो। वैदिकहरू यज्ञमा जोड दिन्थे। एउटा यज्ञ कर्म सम्पन्न गर्न हजारौँ पशुको बलि दिइन्थ्यो। सुरुको सामान्य यज्ञपछि उत्ताउलो बन्ने क्रममा खर्चिलो र विकृतिपूर्ण पनि भयो। वैदिक समाजभित्र आन्तरिक रूपमा प्रश्न उठाई विद्रोह गर्नुको खास कारण यो पनि थियो। यसरी विद्रोह गर्नेहरूमा ‘भागवत धर्म’ उल्लेख्य छन् र इन्द्रका विरुद्ध कृष्णको अभियानलाई यही प्रसङ्गसँग जोड्न सकिन्छ।

वैदिक मूल्य–मान्यतामा रहेको हिंसा कर्मविरुद्ध आन्तरिक रूपमा विरोध वा विद्रोह गर्ने पहिलो समुदाय भागवत हुन् भने यसको विरोध गरी आफ्नो मतवादलाई स्थापित गर्ने वर्धमान महावीर हुन्। त्यसपछि जैन धर्मको विकास भयो। जैनहरूले आफ्नो मतवादको दुन्दुभी तत्कालीन समाजमा प्रभावपूर्ण ढंगले बजाइरहेका बेला गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेका थिएनन्, अर्थात् उनी बोधिसत्वकै अवस्थामा थिए। उनको मतवादमा ध्यान दिँदा कतिपय सन्दर्भमा अतिवाद पाइने गर्दछ। पछि ईपू ५२८ मा गौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरेर मतवाद स्थापना गर्दा मध्यममार्गी दृष्टिकोण अपनाएका थिए।

हिंसा कर्म कुनै पनि हालतमा नहोस् भन्ने कुरामा वर्धमान महावीर निकै मात्रामा सचेत थिए। प्राणीको त के कुरा, एउटा निर्जीव वस्तुमा पनि जीव भएको मान्दै त्यसको तोडफोडमा पनि हिंसा देख्नु जैनको विशेषता भनौँ वा अतिवादी दृष्टिकोण थियो। यस अवस्थामा ‘अहिंसा परमोधर्म’ हुने भइहाल्यो। तर वर्धमानको हिंसासम्बन्धी यो दृष्टिकोण बुद्धलाई मान्य थिएन। होस हवासमा भएको हिंसा अर्थात् चित्तलाई थाहा भएको हिंसालाई मात्र उनी हिंसाको रूपमा लिन्छन् र अकुशल कर्मअन्तर्गत राख्छन्। प्राणी हिंसाबाट विरक्त हुनुपर्ने अवस्थामा चक्क्षुपाल नामका एक दृष्टिविहीन बौद्ध भिक्षु बाटोमा हिँड्दा कीरा–फट्याङ्ग्रा कुल्चिएर मर्थे। यी भिक्षुको निन्दा गर्दै अन्य भिक्षुले बुद्धसमक्ष गुनासो गर्दा बुद्धले दिएको जवाफबाट हिंसासम्बन्धी उनको मान्यता बुझ्न सहायक हुन्छ। दृष्टिविहीन ती भिक्षुले जानीबुझी कीरा–फट्याङ्ग्रा कुल्चेर मारेको नभएको हुँदा त्यसलाई हिंसा भन्न नमिल्ने र अकुशल कर्म पनि नभएको भनी धर्मदेशना गरेका थिए।

वर्धमान महावीरले जस्तो बुद्धले अहिंसालाई ‘परमोधर्म’ कहिल्यै भनेनन्, बरु यसलाई अकुशल कर्मका रूपमा मात्रै लिए। बुद्धका लागि धर्मको अर्थ बेग्लै हुन्छ। अविद्याका कारण अनेक संस्कार बन्ने हो र यी कुरा नै दुःखका स्रोत हुन्। अविद्याले तृष्णा बढाउने हो र तृष्णा क्षय गर्नु धर्म कमाउन गरिने साधना हुन्। यसका लागि आचरण शुद्धिमा ध्यान दिनुका साथै ध्यान साधना पनि गर्नुपर्छ। अनेक कर्तव्य निर्वाह गर्दै आध्यात्मिक रूपमा आफूलाई माझ्दै लानुपर्छ। अर्थात्, बुद्धका दृष्टिमा हिंसा वा अहिंसा मात्रै सबै कुरा होइन, यसर्थ ‘अहिंसा परमोधर्म’ बुद्धको शिक्षा होइन भन्न सकिन्छ।

हिंसा कर्ममा आधारित वैदिक धर्मविरुद्ध वर्धमान महावीर र गौतम बुद्धको प्रहारले तत्कालीन वैदिक मूल्य–मान्यताको जरालाई नै हल्लाइदिएको थियो। एक हिसाबले भन्नुपर्दा यी दुई मतवादका कारण वैदिक धर्मको अस्तित्वमाथि नै प्रश्न उठ्न पुुग्यो, वैदिक धर्मका पक्षपातीका लागि सुुधारबाहेक अन्य विकल्प रहेन। यही मौकामा वैदिकहरूले जैन र बौद्धहरूलाई चकित पार्ने गरी व्यापक रूपमा आफूूलाई सुुधार गरे। तत्कालीन समाजमा गाईगोरुको मांशलाई प्रतिष्ठाको विषय बनाउनुको तात्पर्य यो अन्य वस्तुुभाउको तुलनामा महँगो हुनुु हो। महँगा गाईगोरुको वध नगरिँदा धनको नोक्सान भएन। गाईलाई लक्ष्मीका रूपमा कल्पना गर्ने काम पनि यसै बेला भयो। गोमांश लगायत सबैलाई भोज्य पदार्थका रूपमा नलिनुका साथै पशुहिंसा पनि गर्नु हुँदैन भनेर व्यापक सन्देश दिने क्रममा अन्य धर्म सम्प्रदायलाई समेत सिकाउन थालियो र यसका लागि अनेक कथा–कहानीको सिर्जना र कल्पना गर्ने क्रमले आजभोलि पनि निरन्तरता पाइरहेकै छन्। यसै क्रममा ‘अहिंसा परमोधर्म’ हिन्दूको पनि बन्यो। अब गम्भीर प्रश्न उठ्छ, अहिंसा नै परमोधर्म भए उहिले हिंसा गर्ने वैदिकले धर्म गरेकै थिएनन् ? धर्मको नाममा बलि दिने दशैँलगायत चाडपर्व, पूजा तथा ठुल्ठूला मेला हिन्दूू धर्मसँग सम्बन्धित हुने गरेबाट यहाँ कथनी र करनी नमिलेको देखिन्छ। हिंसादेखि अहिंसासम्मको यात्राको ऐतिहासिक विकास क्रमले पनि स्पष्ट पार्दछ, यो समयको माग थियो।

अहिंसालाई ‘परमोधर्म’ मान्नु जैन मान्यता हो र यसको खण्डन यो लेखको उद्देश्य होइन। यही मान्यतालाई वैदिक, ब्राह्मण, सनातन हुँदै हिन्दूधर्मका रूपमा विकास भएको सम्प्रदायले आत्मसात् गर्नु बेग्लै विषयवस्तु हो। यहाँ त्यस कुरालाई ऐतिहासिक रूपमा केलाएको मात्रै हो। तर, त्यो मान्यता बौद्ध होइन र बौद्ध मान्यताका रूपमा लिनु र अथ्र्याउनु बौद्ध धर्म र दर्शनको अपव्याख्या हो। प्रत्येकका आ–आफ्नै निर्दिष्ट धर्मदर्शन रहेको हुन्छ र एउटाको धर्मदर्शन अर्कोमा प्रत्यार्पण गर्नु वा अपव्याख्या गर्नु ज्ञानमाथि खेलवाड हो। ‘अहिंसा परमोधर्म’ भन्ने वाक्यांशलाई बुद्ध र बौद्ध धर्मदर्शनसँग जोड्नु पनि यस्तै खेलवाड हो।

प्रकाशित: २ कार्तिक २०७६ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App