१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘रिजाल, यो गीत सुन्नुस् !’

कालिप्रसाद रिजाल

एक दिन अचानक नारायणगोपाल मेरो अफिसमा आउनुभयो। उहाँ अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो। उहाँले मेरा कविता पढ्नुहुँदो रहेछ। उहाँको गायकीको म फ्यान थिएँ। उहाँका गीतहरू कहिलेकाहीँ गुनगुनाउने पनि गर्थें। उहाँले भन्नुभयो, ‘तपाईंका कविता राम्रा लागेर तपाईंसँग भेट गरौँ भनेर आएको।’ उहाँले त्यसो भन्दा छक्क परेँ। त्यो समयमा नारायणगोपाल राष्ट्रिय नाचघरमा कलाकार हुनुहुन्थ्यो। उहाँसँगको भेट बाक्लिँदै गयो। भेटमा धेरैजसो गीतकै विषयमा कुराकानी हुन्थ्यो। एक दिन उहाँले सोध्नुभयो, ‘तपाईंलाई गीतको बारेमा यति धेरै कुरा कसरी थाहा भयो ? गीत यस्तो हुनुपर्छ, यसो भयो भने अझ राम्रो हुन्छ भनेर प्रतिक्रिया दिनुहुन्छ। यो सब तपाईंलाई कसरी जानकारी भयो ?’

बेलाबेलामा उहाँले मेरो जाँच पनि गर्नुहुन्थ्यो– ‘यो गीत कस्तो छ ? यसमा के पुगेन’ जस्ता प्रश्न गरेर। मैले गीतमा भएका कमी–कमजोरी र सबल पक्षको बारेमा भनिदिन्थेँ। गीतप्रति मेरो रुचि देखेर उहाँले गीत लेख्न प्रस्ताव गर्नुभयो। त्यतिबेला मैले गीत लेख्न छाडेको झन्डै २० वर्ष भइसकेको थियो। उहाँको धेरैपटकको आग्रहपछि गीत लेख्ने निधो गरेँ।

फेरि मनमा धेरै कुरा खेल्न थाले। अफिसमा आएका बेला उहाँले धेरै जनाको गीत भएन भनेर च्यातेर फ्यालिदिएको मैले देखेको थिएँ। उहाँका लागि मैले गीत लेख्न सक्छु कि सक्दिनँ भन्ने दोधार थियो। तैपनि कोसिस गरेँ। उहाँले चार–पाँच दिनको समय दिनुभएको थियो, भनेकै समयमा उहाँ गीत लिन मेरो अफिसमा आउनुभयो। उहाँलाई दुईवटा गीत देखाएँ। उहाँले गीत हेर्नुभयो, कुनै प्रतिक्रिया दिनुभएन। मैले सोँचे, उहाँलाई मनपरेन होला।

उहाँ बेलाबेला मलाई भेट्न आउनुहुन्थ्यो, चिया गफ हुन्थ्यो। गीत लगेपछि उहाँ मलाई भेट्न आउनुभएन। मैले सोचेँ– यो गीतले हाम्रो नाता नै छुटायो, मेरो गीत पनि उहाँले च्यातेर फ्यालिदिनुभयो होला।

नारायणगोपालले मलाई एउटा धुन दिएर गीत लेख्न भन्नुभयो। त्यो धुनले अलि नराम्रो संकेत गरे जस्तो मलाई लागेको थियो। गीत लेखेर दिएँ। उहाँले गाइसकेपछि सुनाउनका लागि मलाई आफ्नो घरमा बोलाउनुभयो। त्यो दिन प्राविधिक कारण गीत सुन्न पाइनँ। पछि उहाँको निधन भयो। शवयात्राको दृश्य टिभीमा देखाइएको थियो। दृश्यसँगै मैले सुन्न नपाएको त्यो गीत टिभीमा बजिरहेको थियो– झ-यो जिन्दगी, फुट्यो जिन्दगी...।

तर, पाँच–सात दिनपछि उहाँ मेरो अफिसमा आउनुभयो र एउटा क्यासेट दिँदै भन्नुभयो, ‘रिजाल जी , यो गीत सुन्नुस्। तपाईंलाई कस्तो लाग्छ ?’
भरे घर फर्केर त्यो क्यासेट बजाएँ–  
‘आँखा छोपी नरोउ भनी भन्नुप-या छ,
मुटुमाथि ढुंगा राखी हाँस्नुप-या छ...।
फेरि अर्को गीत बज्यो–
झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी,
निभेको दीपझैँ भयो उदास मेरो जिन्दगी...।
क्यासेटमा मेरो गीत होला भनेर मैले सोचेकै थिइनँ, त्यसैले उहाँसँग क्यासेट लिँदा कसको गीत हो भनेर सोधेको थिइनँ, उहाँले पनि भन्नुभएन। दुवै आफूले लेखेका गीत बजेपछि म औधि खुसी भएँ।

यी दुई गीत निकै लोकप्रिय भयो, धेरैले मनपराउनुभयो। गीत लेख्न छाडेको मलाई जबर्जस्ती गीत लेख्न लगाएर गीत क्षेत्रमा स्थापित गराएको श्रेय म नारायणगोपाललाई दिन्छु।

पञ्चायतकाल भएकाले गीतलाई राजनीतिक अर्थ लगाइयो– कालीप्रसादले व्यङ्ग्य गीत लेख्यो, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुप-या छ’को अर्थ नेपालीहरू सन्तुष्ट छैनन् भन्ने हुन्छ। त्यसपछि त्यो गीत बजाउन निषेध गरियो। पछि जाँचबुझ गर्दा गीतको अर्थ सामान्य ठानियो र बजाउन थालियो।

माथिको प्रसंग २०३१ सालतिरको हो। जतिबेला म अस्थायी कर्मचारीका रूपमा सूचना विभागको निर्देशक पद सम्हालेको थिएँ।

माथिका दुई गीतको भाव ममा कसरी वा के कुराले आयो भनेर म भन्न सक्दिनँ। सायद त्यो समय म आफ्नो जागिरमा सन्तुष्ट थिइनँ। वकिल बन्ने उद्देश्य लिएको मान्छे बाध्यताले जागिर गर्न पुगेको थिएँ। स्वतन्त्र रुपमा आफूले पढ्ने, लेख्ने मान्छे कहाँबाट यतातिर फसियो जस्तो लागिरहन्थ्यो। गीतमा यस्तै मनस्थिति व्यक्त भएजस्तो लाग्छ। त्यतिबेला म युवा थिएँ, लामो घुम्रिएको कपाल थियो, रोमान्टिक गीत लेख्नुपर्ने हो। तर, उदास मनस्थिति भएकाले होला, दुवै गीत उदासी नै लेखेँ।

भविष्यवाणी बन्यो
कहिलेकाहीँ मेरा गीतले भविष्यवाणी गरे जस्तो लाग्छ। नारायणगोपालले मलाई एउटा धुन दिएर गीत लेख्नका लागि आग्रह गर्नुभयो। त्यो धुनले अलि नराम्रो संकेत गरे जस्तो मलाई लागेको थियो। मैले गीत लेखेर उहाँलाई दिएँ। उहाँले गाइसकेपछि सुनाउनका लागि मलाई आफ्नो घरमा बोलाउनुभयो। त्यो दिन प्राविधिक कारण मैले गीत सुन्न पाइनँ। पछि नारायणगोपालको निधन भयो। उहाँको शवयात्राको दृश्य टिभीमा देखाइएको थियो। दृश्यसँगै मैले त्यसबेला सुन्न नपाएको त्यो गीत टिभीमा बजिरहेको थियो–
झ-यो जिन्दगी, फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी...।
वास्तवमा त्यस दिन उहाँले मलाई यो गीत सुनाउन खोज्दा बत्ती गएको थियो। यो कुनै खराब संकेत हो कि जस्तो मलाई लागेको थियो।
अर्को संयोग छ, यम बरालसँगको। उहाँका लागि पनि मैले एउटा गीत लेखेर दिएँ–
निष्ठुरीले छाडेर गइहाली
हेर्दाहेर्दै अर्कैकी भइहाली...।
पछि यो गीत उहाँको जीवनसँग मेल खायो, उहाँको श्रीमतीसँग सम्बन्धविच्छेद भयो। यसरी मेरा कुनै गीत भविष्यवाणी नै भएझैँ लाग्छ।

परिवेश र प्रेरणा
हाम्रो पालामा भारतीय मास्टर राख्ने चलन थियो, हिन्दीमा पढाइ हुन्थ्यो। मैले धरान बसेर पढेँ। पढाइका सिलसिलामा सानैमा आमाबुबादेखि टाढा बस्नुपरेकाले अलिकति संवेदनशीलता बढ्यो।

परिवारमा हजुरबुबा, काकाहरूले नेपाली साहित्यका किताब पढिरहनुहुन्थ्यो। त्यसकै बारेमा चर्चा हुन्थ्यो। त्यो समय हिन्दी फिल्मी गीतको प्रभाव बढी थियो। नेपाली गीत त भरियाहरुबाटमात्र सुन्न पाइन्थ्यो। मैले उनीहरूको गीत सुनेर नेपाली लय हालेर गाउने गर्थें। त्यो समय तराईमा सात–आठ वर्षको केटोले लय हालेर नेपाली गीत गाएको ठूलो कुरा हुन्थ्यो। त्यो बेला साथीसंगीसँग फिल्मका बारेमा मात्र कुरा हुन्थ्यो। नेपाली गीतका बारेमा धेरै कम कुरा हुन्थ्यो।

सुरुमा मैले धरान, विराटनगरमा गीत गाएर पुरस्कार पनि पाएको थिएँ। २०१३ सालमा जब म काठमाडौं आएँ, त्यसपछि गीत लेख्न छाडिदिएँ। यहाँ कविताको माहोल थियो। लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजयबहादुर मल्ल, भूपि शेरचन जस्ता ठूला स्रष्टाका सिर्जनाको प्र्रभाव थियो। काठमाडौं आएर रेडियो नेपालमा गीत गाउने सोचेको थिएँ, तर यहाँ आएर यी स्रष्टाको कविता सुनेपछि मलाई कविता लेख्न मन लाग्यो, गीत लेख्न र गाउन छाड्ने निधो गरेँ।

मलाई साहित्य र गीततर्फ प्रेरित गर्ने श्रेय मेरी आमालाई जान्छ। पहाडमा जन्मिुनभएकी मेरी आमाको नौ वर्षको उमेरमा बिहे भएको थियो। उहाँले पढ्न–लेख्न पाउनुभएन। त्यस समय स्कुल थिएन। उहाँले घरमै गुरुहरूबाट अक्षर चिन्न सिक्नुभयो। आमालाई पढ्ने रहर धेरै थियो, लुकीलुकी किताब पढ्ने गर्नुहुन्थ्यो।

म पढ्नका लागि धरानमा थिएँ। आमाबुबा खेतीपातीको कामले विराटनगरमा बस्नुहुन्थ्यो। बिदामा घर गएका बेला आमाले आफूले पढेका कुरा मलाई सुनाउनुहुन्थ्यो। लेखनाथ, बालकृष्ण समका कविताहरू र लक्ष्मीप्रसाद देवकोटाको मुनामदन मैले आमाको मुखबाट सुनेको हुँ। यसले मलाई साहित्यतर्फ प्रेरित ग-यो।

गीत र जीवन
गीत मानिसको सबैभन्दा पुरानो कला हो। विश्वका पुराना जति पनि ग्रन्थ छन्, ती सबै गीतमा छन्। गीत सबैले गाउने र कथ्ने चिज हो। कुनै निश्चित ठाउँको मान्छेले मात्र गाउने र लेख्ने भन्ने हुँदैन। लोकगीत त गाउँबाट निस्कन्छ, उनीहरूले कथ्छन्, बनाउँछन्। सहरका मानिसले आधुनिक गीत बनाउँछन्। गीत भनेको एउटा यस्तो सिर्जना हो, जो सबैभन्दा सशक्त छ र सबैभन्दा व्यापक छ।

गीत गाउनु मानिसको नैसर्गिक स्वभाव हो। हाँस्ने, रुने, खुसी हुँदा नाच्ने–गाउने– यो सबै मानिसको स्वभाव हो। गीतको सुरुवात कहिले भयो यकिन भन्न सकिँदैन। म त हाम्रा हरेक कुरामा गीत देख्छु। हाम्रो विविध पर्व, संस्कार र संस्कृतिमा गीत छ। त्यसकारण गीत एउटा यस्तो विधा हो, जुन मानिसको जीवनसँग जोडिएको छ।

गीतमा शब्द चयनले ठूलो महत्व राख्छ। सुन्दा पनि मधुर सुनिने र सबैले बुझ्ने खालको सरल शब्द हुनुपर्छ। गीतको विषय, भाषा, स्वरुप, अभिव्यक्ति र शब्द सबै गीतिमय हुनुपर्छ। अभिव्यक्ति मार्मिक र मन छुने खालको हुनुपर्छ। यी सबै तत्व भयो भने गीत राम्रो बन्छ।

नेपाली गीतको सुरुवात लोकगीतबाट भएको हो। तर, बीचमा हिन्दी गीतको प्रभाव देखियो। एक समय हिन्दी गीतको लयमा गीत लेख्ने प्रचलन थियो। रेडियो नेपाल सुरु भएपछि रेडियोमा नेपाली गीत बज्न थाले। नातिकाजी, तारादेवी, शिवशंकर, जनार्दन सम, हरिप्रसाद रिमाल, अम्बर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन लगायतले आधुनिक गीतको सिर्जना गर्नुभयो। हिन्दी फिल्मी गीतको प्रभाव भएका बेला नेपाली आधुनिक गीत सिर्जना गरेर त्यसलाई लोकप्रिय बनाउन यी अग्रजको ठूलो देन छ।

पहिले नेपाली गीत–संगीतमा भारतीय प्रभाव बढी थियो। पछि गएर लोकलय भएका आधुनिक गीतको विकास भयो। अहिले भने भारतीय प्रभाव मात्र होइन, पश्चिमा प्रभाव पनि गीतमा देखिन्छ, जसलाई छेक्न सकिँदैन। यत्ति हो कि प्रभाव ग्रहण गरे पनि त्यसमा नेपालीपन हुनुपर्छ। समयअनुसार पप, आधुनिक, लोक वा जस्तो गीत बनाए पनि त्यसमा नेपालीपन झल्किनुपर्छ।

विश्वका हरेक भाषामा पप गीत छन्, सबैका गीतमा आफ्नोपन पाइन्छ, हाम्रो नेपाली पप गीतमा पनि नेपालीपन हुनुपर्छ। हामीले आफ्नो लोक संस्कृतिलाई बिर्सनु हुँदैन।

पहिलेका गीतमा लोकभाषा र अभिव्यक्ति धेरै पाइन्थ्यो। अहिले त हाम्रो भाषा पनि परिमार्जित भइसकेको छ। हुँदाहुँदा अहिलेका लोकगीतमा बाहिरी भाषा प्रयोग गर्ने चलन छ। जस्तोः म तिमीलाई धेरै माया गर्छु भन्ने शब्दलाई अहिले ‘म तिमीलाई लास्टै माया गर्छु’ भन्न थालिएको छ। वास्तवमा हामीले गीतमा आफ्नै भाषाका शब्द प्रयोग गर्नुपर्छ। समय अनुसार, कुनै गीतमा बाहिरी भाषाको प्रयोग भए पनि त्यसमा नेपालीपन भने हराउनुहुँदैन।

गीतलाई बुझ्ने संगीतकारका रुपमा म अद्भुत प्रतिभा भएका नातिकाजी दाइलाई सम्झन्छु। २०१३ सालदेखि नै उहाँसँग संगत गर्न पाएँ। म गीत गाउन काठमाडौं आएको थिएँ। स्वर परीक्षणका लागि उहाँले गीत गाउन मलाई रेडियो नेपाल लैजाने भन्नुभएको थियो, पछि रुचि घट्दै गएकाले गइनँ। शिवशंकरबाट पनि म धेरै प्रभावित छु। अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा उहाँहरूको नेपाली संगीत क्षेत्रमा ठूलो योगदान छ। नारायणगोपालसँग त मेरो नजिकको सम्बन्ध रह्यो।

अहिले विशेषतः आधुनिक गीत, त्यसमा पनि माया प्रीतिका गीतले बजार लिएको देखिन्छ। गम्भीर खालका गीत गाउने प्रचलन अलिकति कम भएको हो कि जस्तो लाग्दै छ। अलिकति बाहिरको प्रभाव पनि पाइन्छ।

आम्दानी भनेकै श्रोता
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्...।
यो गीत लेख्दा म अमेरिका थिएँ। त्यहाँ मलाई केही कुराको अभाव भए जस्तो भयो। नेपालमा हुँदा त उठेर कौशीबाटै हिमाल देखिन्थ्यो। त्यहाँ त घरमा कौशी पनि छैन। धेरै नै दौडधुप हुन्थ्यो। त्यहाँ मलाई नेपालको धेरै याद आयो। ती यादहरूलाई शब्दमा उतारेर गीत बनाए। यो गीत गायक रामकृष्ण ढकालले गाए। यो गीत पनि धेरै चर्चित भयो।

गीत लेखन व्यावसायिक हुन सकेको छैन। एउटा आत्मसन्तुष्टिका लागि मात्र गीत लेखिन्छ। सबैभन्दा ठूलो पुरस्कार र प्राप्ति भनेकै श्रोताहरूले गीत मन पराइदिनुहुन्छ र माया गर्नुहुन्छ। हाम्रो आम्दानी भनेकै श्रोताहरुको माया हो।

अहिले गायक–गायिकाले अलिअलि पारिश्रमिक पाउँछन्। पहिले क्यासेट र सिडीबाट राम्रै कमाई हुन्थ्यो। अहिले युट्युबबाट त्यति हुँदैन। तर, उनीहरू विदेशमा गएर स्टेज सो गर्छन्। त्यसबाट उनीहरूले राम्रै आम्दानी गर्न सक्छन्। गीतकार र संगीतकारले भने त्यति पाउँदैनन्। हुन त गीतमा गीतकार, संगीतकार र गायकको मेहनत हुन्छ। त्यसमा पनि सबैको हक लाग्छ। अझ कम्पनी छ भने कम्पनीको पनि हक लाग्छ।

अहिले धेरै कुरामा विकृति आएका छन्। पारिवारिक, दाम्पत्य जीवनमा पनि समस्या आएको देखिन्छ। हरेक क्षेत्रमा सानातिना समस्या आइपरेका छन्। यो त एउटा कुरा भयो, अर्को बाहिरको प्रभाव पनि परिरहेको छ। मान्छेहरू अहिले सोखिन पनि भएका छन्। खालि आफ्नो विषयमा सोच्ने, नैतिक धरातल कमजोर हुँदै गएको छ। आफ्नो आमाबुबा, समाज, देशको बारेमा कम सोच्न थालिएको छ। यसले गर्दा सम्बन्धमा तनाव र अप्ठेरो आउन थालेको छ। यसकारण पनि पछिल्ला गीतहरूमा थोरै परिवर्तन आएको छ।

यद्यपि, नेपाली संगीत क्षेत्रको भविष्य उज्ज्वल छ। किनभने, धेरै प्रतिभाशाली व्यक्तिहरू आइरहनुभएको छ। संगीत सिकेर साधना गरिरहनुभएको छ। संगीतलाई शिक्षाको रुपमा लिने र सिक्ने गर्नुपर्छ। मलाई लाग्छ, नेपाली संगीतले अझ धेरै प्रगति गर्नेछ।

(नागरिककर्मी ज्योति श्रेष्ठले वरिष्ठ गीतकार कालीप्रसाद रिजालसँग गरेको कुराकानीमा आधारित।)

प्रकाशित: २ कार्तिक २०७६ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App