१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘गण्डकी प्रदेश संसारकै उत्कृष्ट गन्तव्य’

काशीराज भण्डारी
प्रमुख, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पर्यटनको अबस्था के छ ?
गण्डकी प्रदेशलाई प्रकृतिले नै एक सुरम्य र उत्कृष्ट घुम्नपर्ने स्थलका रुपमा मेहेनतसाथ सृजना गरे जस्तो लाग्छ। फेवातालमा माछापुच्छ्रे हिमालको प्रतिबिम्व, अन्नपूर्ण, धौलागिरि र मनास्लु जस्ता ८ हजार मिटर भन्दा अग्ला हिमश्रृंखला, तालतलैया, झरना, नदी, तातोपानीका कुण्ड र स्वच्छ वातावरणले पर्यटकलाई लोभ्याउँछ। मुक्तिनाथ, मनकामना, गोरखकाली, बाग्लुङ कालिका, पंचकोट, गलेश्वरधाम, बाल्मीकि आश्रम र त्रिवेणीधाम आदि तिर्थ पर्यटनका गन्तव्यले पनि पनि यस प्रदेशको छवि उज्यालो पारेका छन्। पदयात्रीले त अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रहरू गुल्जार नै थिए, व्यवसायीले पनि पर्यटकीय सुविधा र गतिविधिमा लगानी गरि पर्यटकलाई अन्र्तराष्टिय स्तरको सेवा उपलब्ध गराएका छन्। सरकार र पर्यटन बोर्डले पनि पूर्वाधार विकास र प्रवद्र्धनमा जोड दिँदै आएका छौं।   

पर्यटक कसरी बढाउन सकिन्छ  ?
विदेशी पर्यटक आगमनको तथ्याङ्कलाई आधार मान्ने हो हामीले धेरै काम गर्नुपर्ने देखिन्छ किनकी गत वर्ष लगभग ३ लाख विदेशी मात्र यस प्रदेशमा आएका थिए। संभावना र लगानीका हिसावले यो धेरै न्यून हो। त्यसैले पर्यटकको आगमन बढाउन नयाँ गन्तव्य, गतिविधि र विधा पहिचान गरि विकास गर्नु अपरिहार्य छ।

गत वर्ष लगभग ३ लाख विदेशी मात्र गण्डकी प्रदेशमा आएका थिए। संभावना र लगानीका हिसावले यो संख्या न्यून हो। त्यसैले पर्यटकको आगमन बढाउन नयाँ गन्तव्य, गतिविधि र विधा पहिचान गरि विकास र प्रवद्र्धन गर्नु जरुरी छ।

उदाहरणका लागि गण्डकी प्रदेशमा प्रारम्भिक चरणका विश्व सम्पदास्थल भनेर मुक्तिनाथ उपत्यकाका गुफाको संजाल र गोर्खाको मध्यकालिन दरबार क्षेत्रलाई ई.स. १९९६ मा र माटोको पर्खालले घेरिएको लो–मन्थाङ शहरलाई ई.स. २००८ मा युनेस्कोले सू्रचिकृत गरेको देखिन्छ। यस्ता विश्वव्यापी महत्व बोकेका सम्पदालाई विश्व सम्पदास्थलको पूर्ण सूचिमा प्रवर्धन गर्न सके पर्यटक बढाउन सकिन्छ। साथै गण्डकी प्रदेशमा ८ हजार मिटर भन्दा अग्ला हिमाल ३ वटा छन तर आरोहण इतिहास बोकेको अन्नपूर्ण लगायत हिमालमा आरोहीको संख्या पनि बढाउनु पर्ने देखिन्छ। हाम्रा दुई छिमेकी मुलुकबाट यथेष्ट संख्यामा पर्यटक भित्र्याउन सकिन्छ। त्यसैले गण्डकी प्रदेश सरकारले सन् २०२० लाई छिमेकी मुलुकमा पर्यटन प्रवद्र्धन गर्ने वर्षका रुपमा मनाउँदै छ। हाम्रो प्रयास यस्ता अभियान सफल बनाउनेतिर लक्षित छ।  

पर्यटन विकासमा सरोकारवालासँग कसरी साझेदारी गर्दै हुनुहुन्छ ?
मुलतः नेपाल पर्यटन बोर्ड सरकारी निजि साझेदारीको अवधारणमा काम गर्ने संस्था हो। गण्डकी प्रदेश कार्यालयले पनि यसैलाई आत्मसात गरेको छ। खासगरि प्रदेश सरकार र स्थानीय सरकारसँग पर्यटन पूर्वाधार र मूलप्रवाहका संचारमाध्यमसंग प्रवद्र्धनका लागि साझेदारी गर्ने हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा निजि क्षेत्रसँगको सहभागितामा पर्यटन मेलामा भाग लिने तथा  नेपालमै पनि आयोजना गछौं भने पोखरामा ब्राण्डकै रुपमा स्थापित भइसकेका उत्सवहरूलाई अझ गुणात्मक र व्यापक बनाउने सोचमा छौं। पर्यटन धेरै क्षेत्र र विषयसँग जोडिने भएकाले यसमा क्रियाशिल सबै सरोकारवालासँग कर्मकाण्डी भन्दा पनि परिणाममुखी र गुणात्मक साझेदारीमा जोड दिने सोच लिएको छु।

काशीराज भण्डारी

अन्नपूर्ण क्षेत्र विशेषतः पदयात्राका लागि प्रख्यात छ, तर दिनदिनै मोटर बाटो निर्माणले पदमार्ग मासिँदै छन्। पदयात्रा पर्यटनलाई कसरी जोगाउन सकिएला ?
विगतमा मोटर बाटो निर्माणले पदमार्ग मासिने क्रम विकराल समस्याका रुपमा देखियो तर हाल आएर स्थानीय सरोकारवाला नै यसमा चिन्तित छन्। मोटर बाटो निर्माणले खास गरि अन्नपूर्ण सर्किट र जोमसोम पदमार्गको विद्यमान अवस्था के छ सबैलाई थाहै छ। कतिपय अवस्थामा हामीले पदमार्ग विस्थापित नगरौं भन्दा विकासको विरोध गरेजस्तो पनि देखियो तर विकासका लागि मोटर बाटो निर्माण र पदमार्ग संरक्षण दुवै महत्वपूर्ण विषय हुन्। त्यसैले संतुलन मिलाउनु सबैभन्दा ठुलो चुनौती हो। पदयात्रा पर्यटनलाई जोगाउन स्थानीयकै भूमिका गहन हुन्छ। उनीहरूलाई सचेत बनाउनु पनि उत्तिकै आवश्यक छ। साथै कार्बन फ्रि (कार्बन रहित) ब्यारियर फ्र्रि (फरक तवरले सबलाङ्ग) जस्ता नयाँ अवधारणा कार्यान्वयन गर्न सकेमा पनि हामीले पदयात्रा पर्यटनबाट फाइदा लिन सक्छौ र पदयात्रा पर्यटनलाई जोगाउन सकिन्छ।

ग्रामीण पर्यटनको मुहान गण्डकी प्रदेश नै हो, यसको प्रवद्र्धनमा तपाइँहरू के गर्दै हुनुहुन्छ ?
ग्रामीण पर्यटन र घरवासलाई हामीले प्राथमिकतामा राखेका छौं भने गण्डकी प्रदेश सरकारले त अझ बढी जोड दिएको छ। खासगरि हाम्रो मौलिक संस्कृति, स्थानीय खाना र परम्परागत रितिरिवाज, भेषभुषा आदि अन्तर्राष्ट्रिय पर्यटकका लागि विशिष्ट उपज र चाखलाग्दा विषय हुन सक्छन्। यस्ता सम्पदालाई स्रोत बजारसँग जोडने हो यसका लागि परम्परागत प्रवद्र्धनका सामाग्रीका साथै सामाजिक संजाल उपयोगी माध्यम हो। हामी यस्ता प्रवद्र्धनका उपाय पनि अवलम्बन गर्दैछौ।

गण्डकी क्षेत्रको पर्यटन विकासमा देखिएका प्रमुख समस्या केके हुन् ?
घुम्न आउने पर्यटकले पोखरा र गण्डकी प्रदेशलाई कसरी हेर्छन भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। गण्डकी प्रदेशको पर्यटकीय छवि राम्रो छ तर उत्तम र उत्कृष्ट बनाउनु पर्दछ। यसका लागि पर्यटकीय ब्राण्ड तयार पार्ने, पर्यटकका लागि आर्कषक प्याकेज तयार पार्ने र व्यापक रुपमा हाम्रा स्रोत मुलुकमा प्रचार गर्नु आबश्यक छ। पोखरा धेरै पर्यटकको पहिलो रोजाईको गन्तव्य हुँदाहुँदै पनि सडकको अवस्था र सानो विमानस्थलका कारण समस्या छ। आशा गरौं निर्माणाधिन विमानस्थलले पोखरालाई सिधै स्रोत मुलुकसँग चाँडै जोड्ने छ। र, यो पहुँचको समस्या समाधान हुने छ।  

मुलुकभित्र आन्तरिक पर्यटन बढिरहेका छन्, उनीहरूलाई व्यवस्थित ढंगले घुम्न प्रेरित गर्ने दायित्व कसको हो ?
यो हामी सबैको दायित्व हो। आन्तरिक पर्यटनलाई व्यवस्थित गर्न चेतनामुलक कार्यक्रम संचालन जरुरी छ। हामीले घुम्न जाने स्थानलाई सफा, व्यवस्थित राख्न मद्दत गर्ने, सकभर स्थानीय उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिलाई सम्मान गर्ने र प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदालाई जोगाउनु पर्छ। र, हाम्रा सन्ततीहरूले समेत हाम्रो पहिचानमा गौरब गर्ने वातावरण बनाउनु जरुरी छ। 

अन्त्यमा, नेपाल भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिएला ?
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन हामी सबैले दिन रात खटेर अथक परिश्रम गर्नुको विकल्प छैन।

प्रकाशित: २ कार्तिक २०७६ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App