१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौबिसे–नागढुंगाको जाम हट्यो, कलंकी–नागढुंगा खण्डमा कालोपत्रे धमाधम

धादिङ - मर्मत–सम्भारको काम सकिएसँगै नौबिसे–नागढुंगा सडकमा जाम हुने समस्या कम भएको छ। दसैंअघिदेखि खाल्डाखुल्डी बनेको सडक पुर्ने काम सुरु गरेको जिएमआर कम्पनीले मर्मत–सम्भार र कालोपत्रेको काम सिध्याएको सहायक ठेकेदार ऋषि पाण्डेले बताए। ‘हामीले जिम्मा पाएको पीपलामोडदेखि नौबिसेसम्मको सडकको खाल्डाखुल्डी मर्मतको काम सकेका छौं,’ उनले भने, ‘सडक मर्मतको कामले जाम बढेको थियो, अब जामको समस्या आउँदैन।’

सडक मर्मत सुुरु गरेको छैटौं दिन शुक्रबार बिहान ११ बजेदेखि बेलुका चार बजेसम्म धुनीबेंसी नगरपालिका–९, स्याउलीदेखि सिक्रेखोलासम्म सडक कालोपत्रे तथा मर्मतको काम गरिएको थियो। सडक डिभिजन कार्यालय भरतपुरले जिएमआर ठेकेदार कम्पनीलाई मर्मतका लागि ठेक्का दिएको थियो। सूचना नै जारी गरेर एकतर्फी रूपमा यातायात सञ्चालन गरी काम सिध्याइएको छ।

यो सडकखण्डमा मुख्य रूपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या छ। सवारी आवागमनको चाप बढेपछि कालोपत्रे गर्न निकै कठिन हुने गरेको छ। कठिनाइका भए पनि दसैंअघि तीन दिन र दसैंपछि तीन दिन गरी ६ दिन मर्मतको काम गरेको सहायक ठेकेदार पाण्डेले बताए। ‘साँघुरा र मोड बढी भएका कारण सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरेर काम गरेका हौं,’ उनले भने, ‘दुईवटा साँघुरा घुम्ती र खाल्डाखुल्डी मर्मतको काम सकेका छौं, तर यस ठाउँमा मर्मतको काम गर्न एकदमै गाह्रो भयो।’

सडक जीर्ण बनेको, मर्मत पनि गर्नुपर्ने भएको र विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्पक स्वीकार गरिदिन सडक विभागले अनुरोध गरेको छ।

सडकको अवस्था निकै दयनीय बनेपछि ठेकेदार कम्पनीले दसैंंअघि तीन दिन सवारी रोकेर कालोपत्रे गर्न खोज्दा जामले समस्या भएपछि काम रोकिएको थियो। दसैंपश्चात सवारी चाप कम हुने दिउँसोको समय पारेर मर्मतको काम सिध्याइएको हो। धादिङको नौबिसेदेखि पीपलामोडसम्मको सडक मर्मतसम्भारको काम सकिएपछि पीपलामोडदेखि नागढुंगा–कंलकीतर्फको सडक मर्मत सुरु गरिएको छ। सो सडकको मर्मत–सम्भार र कालोपत्रेको काम भने सडक डिभिजन कार्यालय काठमाडौंले गर्दै आइरहेको छ।

बढी भारका सवारीसाधनका कारण पीपलामोडदेखि नागढुंगासम्मको सडकको देब्रे लेन पनि दबिएको छ। यस सडकमा मर्मतको काम पनि निकै असजिलो हुने ठेकेदार कम्पनीहरूले बताउँदै आएका छन्। उकालो बाटो र बढी भारका सवारीसाधनले कालोपत्रे गरेको सडक टिक्न दिँदैन, जसले गर्दा छिनमै बिग्रिने गरेको छ। सडक मर्मतको जटिलतालाई सहज बनाउन सडक विभागले छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिई काम सुरु गरेको हो। वर्षौदेखि जीर्ण सडकमा प्रत्येक वर्ष मर्मतका लागि लाखौं रकम खर्चने गरे पनि टिकाउ भने भएका छैनन्।

अहिले कलंकी–नागढुंगा सडकमा पनि कालोपत्रेको काम भइरहेको छ। एकतर्फी सवारी सञ्चालन गर्ने गरी कालोपत्रको काम भइरहेको छ। सडक जीर्ण बनेको, मर्मत पनि गर्नुपर्ने भएको र विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्पक स्वीकार गरिदिन सडक विभागले अनुरोध गरेको छ। ठेकेदार कम्पनीहरूले यो पटक धेरै कामदार परिचालन गरेर काम अघि बढाएको बताएका छन्।

सडकखण्डमा प्रहरीहरू पनि परिचालित छन्। बिग्रिएको सडक र मर्मतको समयमा ओभारटेक र ट्राफिक नियम उल्लंघन गर्न रोक्न ठाउँठाउँमा प्रहरी खटिएका छन्। यसले मर्मतको काम छिटो सकी सवारी व्यवस्थापनमा सहज हुने अपेक्षा लिइएको छ। उकालो र साँधुरो मोड भएका कारण बढी भार बोकेर आएका सवारीसाधनहरू प्रायः नौबिसे–नागढुंगा क्षेत्रमा बिग्रिने गर्छन्। बिग्रिएका सवारीसाधनलाई तत्काल छेउ लगाउन र जाम हुनबाट रोक्न नेपाल प्रहरीले नागढुंगामा २४ घण्टा तयारी अवस्थामा क्रेन राखेको छ।

साँघुरो सडकलाई फराकिलो बनाउन सडक विभागले मोडहरू कटिङ गरी चौडा बनाउन थालेको छ तर वर्षा, चाडपर्वका कारण काम ढिलासुस्ती भएको छ। साँघुरो मोडमा सवारीसाधन आउजाउमा कठिन हुने, मोड्न नमिल्ने, बिग्रिएर रोकिएका गाडीका कारण दसौं किमि दोहोरो जाम पर्ने समस्या हटाउनकै लागि ठूला मोड कटान गरी सडक फराकिलो बनाउन थालेका हुन्। मोड कटिङले पहिलेको तुलनामा जाम कम भएको छ।

प्रकाशित: २ कार्तिक २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App