१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ सिफारिस

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दक्षिण एयिसाकै प्रतिष्ठित एवं विशेषज्ञ चिकित्सकहरू भएको नमुना अस्पताल मानिन्छ। तर यहाँका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ।

औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठान बाहिरका औषधि पसलहरूमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण हुने गरेको पाइएको छ। ती फुड सप्लिमेन्टहरू विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पु-याए। विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको भेटिएको छ।

उक्त प्रेस्क्रिप्सन अनुसार सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न डाक्टरले सुझाएका छन्। तर त्यसमध्ये दुईवटा मात्र औषधि र बाँकी पाँचवटा खाद्य पूरक सामग्री (फुड सप्लिमेन्ट) प्रतिबन्धित हुन्। ‘यहाँ त ठूलो विकृति भएको पायौं, डाक्टरले नै प्रतिबन्धित फुड सप्लिमेन्ट बिरामीलाई किनाउने रहेछन,’ कट्टेलले भने, ‘डाक्टरले किन्न भनेका ती फुड सप्लिमेन्ट विभागमा दर्ता भएका छैनन र गुणस्तर परीक्षण पनि भएको छैन। यो त चरम लापरवाही हो।’

औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ। बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन्।

नेपालमा उत्पादित र विभागमा दर्ता फुड सप्लिमेन्ट मात्र प्रेस्क्राइब गर्न पाइने विभागको भनाइ छ। तर बिपी प्रतिष्ठानका चिकित्सकले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको विभागले अनुगमनको क्रममा पाएको छ। ती फुड सप्लिमेन्टहरू अस्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ।

जबकि कतिपय ती सप्लिमेन्टहरू ती देशमा नै प्रतिबन्धित रहेको बताइन्छ। ‘जिनसेङलाई अरूसँग मिसाएर बेच्न पाइँदैन। भिटामिनलाई आयुर्वेदिक कम्पोजिनसँग बेच्न हुँदैन तर यहाँ डाक्टरले नै प्रेस्क्राइब गरेको पायौं। मैले दुःखको साथ भन्नुपर्छ, यो सब कमिसनकै खेल हो,’ कट्टेलले भने, ‘खासमा तीन सयको औषधि छ तर फुड सप्लिमेन्ट बिरामीलाई १० हजारको किनाएको छ, त्यो पनि ६ महिनासम्म खानपर्ने भनेर। यसले गाउँका मान्छेको निकै ठूलो आर्थिक नोक्सानी भइरहेको छ।’

विभागका अनुसार प्रतिष्ठानबाहिरका मेडिकलहरूमा अनुगमन गर्दा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ। ती सामानहरू शुक्रबार विभागले जफत गर्न खोजे पनि औषधि बिक्रेताको अवरोधका कारण जफत गर्न सकेन। विभागले बिक्रेतालाई त्यस्ता फुड सप्लिमेन्ट फिर्ता गर्न एक साताको समय दिएको छ भने प्रतिष्ठानका कार्यवाहक उपकुलपति डाक्टर गुरु खनाल र अस्पताल निर्देशक डाक्टर गौरीशंकर साहलाई भेटेर डाक्टरहरूले प्रतिबन्धित फुड सप्लिमेन्ट प्रेस्क्राइब गरेकोबारे जानकारी गराएको छ।

‘मेडिकल पसलेहरूले डाक्टरले नलेख्ने हो भने हामीले बेच्दैनौं भने त्यसैले प्रतिष्ठान पदाधिकारीलाई सचेत गराएका छौं,’ विभागका प्रमुख कट्टेलले भने, ‘मेडिकल व्यवसायीहरूले पनि हाम्रो लगानी डुब्छ भनेर अवरोध गरे, हामीले एक साताभित्र जहाँबाट ल्याएका हो त्यहाँ फिर्ता गर्न भनेका छौं, नत्र सुरक्षा टोलीसहित जफत गर्छौं।’

प्रतिष्ठानका कार्यवाहक उपकुलपति खनालले विभागसँग सिफारिस गर्न मिल्ने र नमिल्ने औषधिको लिस्ट मागेको र प्राप्त भएपछि सोहीअनुसारको आन्तरिक परिपत्र गरिने बताए। यो विषय संवेदनशील भएको भन्दै खनालले विभागले पनि कडा रूपमा नियमित अनुगमन गर्नुपर्ने बताए। ‘विभागले नियमित र दह्रो अनुगमन गर्नुपर्छ। संवेदनशील कुरा छ, हामीले लिस्ट मागेका छौं,’ खनालले भने, आएपछि सोही अनुसार मात्र औषधि सिफारिस गर्न परिपत्र गर्छाैं।’

प्रकाशित: २ कार्तिक २०७६ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App