१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शीर छेदन गरी युवाको हत्या

सिन्धुपाल्चोक- जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका एक युवाको शीर छेदन गरी विभत्स हत्या गरिएको छ। छिमेकी दुई युवा मिलेर स्थानीय २८ वर्षीय विजय लामाको हत्या गरेका हुन्। बिहीबार रातिको घटनापछि फरार हत्या आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ।

इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले स्थानीय २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङ्बोले धारिलो हतियार प्रयोग गरी विजयको हत्या गरेको बताए। स्थानीय एक होटलमा बसेर तीनै जनाले मादक पदार्थ सेवन गरेपछि सामान्य विवाद उत्पन्न हुँदा सोही ठाउँमा उनको हत्या गरिएको घटनास्थल रहेका दर्नालले जानकारी दिए।

प्रहरीले बिहीबार राति ९ देखि १० बजेको समय बीचमा घटना भएको अनुमान गरेको छ। नजिकैको मानेखर्क प्रहरी चौकीले भने राति ११ बजेको समयपछि मात्र घटनाबारे जानकारी पाएको थियो। हत्या खबरपछि मेलम्चीबाट मध्यराति नै घटनास्थल पुगेको इन्स्पेक्टर दर्नाल नेतृत्वको संयुक्त प्रहरी टोलीले फरार आरोपीको खोजी गरिरहेको छ। ‘हत्या आरोपी पक्राउ नपरेसम्म घटनाबारे विस्तृतमा भन्न सकिने अवस्था छैन,’ इन्स्पेक्टर दर्नालले भने।

आरोपीको खोजी गर्दै घटनाबारे अनुसन्धान अघि बढाएको उनले जनाए। उनका अनुसार घाँटी पछाडिबाट धारिलो हतियार प्रयोग गरी विजयको हत्या गरिएको छ । शरीरको बाहिरी छालाले मात्र मृतकको शीर छुट्टिन बाँकी थियो। मृतक र हत्या आरोपी नाताले नजिकको आफन्त रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टम (स्वास्थ्य परीक्षण) का लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची ल्याइएको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App