१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फिल्म सुटिङको हब बन्दै इलाम

इलामको जस्बिरेस्थित एक घरमा फिल्म ‘म यस्तो गीत गाउँछु–२’ फिल्मको सुटिङ गरिँदै। तस्बिर: नागरिक

इलाम - अभिनेता दयाहाङ राई गत वर्ष इलामको पर्यटकीयस्थल सन्दकपुर भ्रमणमा आएर १० दिन बसे। एकैछिनमा उघ्रिने, क्षणभरमै धुम्मिने, पानी पर्ने र घाम पनि लागि हाल्ने इलामको मौसममा उनलाई यतिका दिन बितेको पत्तो भएन।
‘आप्पा’ फिल्मको सुटिङका लागि आएका दयाहाङसहितको टोलीले सन्दकपुरको मनोरम दृश्य फिल्ममा उता-यो। नेपाल–भारत सीमा क्षेत्रको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत तथा भुटानलगायत देशका तीन दर्जनभन्दा बढी हिमाल देखिन्छन् नै, त्यहाँको जैविक विविधताले धेरैलाई लोभ्याउँछ।

‘आप्पा’ फिल्मका लागि मात्र होइन, ‘हाइवे’ फिल्मको सुटिङका लागि इलाममा उनले १५ दिन र ‘मेरो एउटा साथी छ’ फिल्मको दौरान ११ दिन बसे। ‘नेपालको पूर्व भेगमा रहेको रमणीय इलामको ल्यान्डस्केप, मनोरम दृश्यले फिल्मकर्मीलाई लोभ्याउने गरेको छ,’ उनले नागरिकसँग भने, ‘इलामको विविधतालाई फिल्ममा देखाउँदाको मज्जा बेग्लै हुन्छ।’

जता हेरेपनि चित्ताकर्षक इलामका डाँडापाखा हेर्नेको मात्र होइन, फिल्म, म्युजिक भिडियोलगायत खिच्नेको लहर चलिरहेको छ। अहिलेमात्र होइन, करिब दशकयता जिल्लाका धेरै पर्यटकीय गन्तव्य फिल्मी रिलमा कैद भइसकेका छन्। र, इलामको सौन्दर्य समेटिएका म्युजिक भिडियो अनगिन्ती छन्। ‘फिल्मको नाम जुरिसकेको छैन। तर, त्यसको सुटिङ इलाम, पाँचथरतिर गर्ने टुंगो चाहिँ भइसकेकाले करिब १० दिनपछि इलामतिर आउँदैछु,’ अभिनेता दयाहाङले सुनाए।

दसैंअघि इलाम आएर १८ दिन बिताएको ‘म यस्तो गीत गाउँछु–२’ फिल्मको सुटिङ युनिटले अझ ‘अर्गानिक दृश्य’ पक्रेको छ। जिल्लाकै जस्बिरे, नेपालमै पहिलोपटक चिया रोपिएको इलाम चियाबारी, नजिकैको नयाँ पर्यटकीय गन्तव्य भालुढुंगालगायत स्थानमा यो फिल्मको सुटिङ चलिरहेको छ। फिल्म निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु–२’ को ६० प्रतिशत दृश्य इलामका खिचिने बताए। ‘जस्बिरे, भालुढुंगा, इलाम चियाबारी, सूर्याेदय नगरपालिकालगायत स्थानका आकर्षक दृश्य फिल्मका लागि लिएका छौं,’ उनले भने, ‘मौसम अझ खुलेपछि थप दृश्य खिच्नका लागि इलाम आउँदैछौं।’ निर्देशक थापाले ११ वर्षअघि बनेको ‘मेरो एउटा साथी छ’ फिल्मको सुटिङ इलाम गरेका थिए। ‘मलाई त्यतिबेलैदेखि इलामको दृश्यले आकर्षित गरेको थियो। यो पटक त्यही रहरले इलाम पु¥याएको हो,’ उनले भने, ‘इलामको हरियाली र दर्जनौं सौन्दर्य फिल्ममा अटाउनु राम्रो अवसर नै हो।’

विशेषगरी इलाम सदरमुकाम, कन्याम, करफोक, पशुपतिनगरलगायतका क्षेत्र वर्षाैंदेखि फिल्म सुटिङको रोजाइमा स्थापितजस्तै हुन्। तर, पछिल्लो समय सन्दकपुर, माइपोखरी अनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाएका अन्तुडाँडा, भालुढुंगा, जस्बिरे र ढापपोखरीलगायतले पनि फिल्मकर्मीको ध्यान खिच्दैछन्। कन्याम र अन्तुडाँडाको हरियाली ‘नोटबुक’ फिल्ममा भरेका निर्देशक योगेश घिमिरे गतवर्ष ‘प्रेम दिवस’ फिल्म लिएर अर्काे अर्गानिक क्षेत्र ढापपोखरी र सन्दकपुर हानिए। साताभन्दा बढी समय बसेर सन्दकपुर, ढापपोखरी र सदरमुकामआसपासमा ‘प्रेम दिवस’ छायांकन गरियो। केही समयअघि ‘लभ स्टेसन’ खोज्दै त्यस फिल्मको टोली इलाम नै रोजेर आएको थियो।

सदरमुकामको ठूलो टुँडिखेलमा गत वर्ष माइभ्याली गोल्डकप चलिरहेका बेला ‘क्याप्टेन’ फिल्मको सुटिङ पनि यहीं थियो। अभिनेता अनमोल केसीलाई लिएर फिल्मका लागि आएका थिए उनका बुबा भुवन केसी। ‘नाइँ नभन्नु ल’ फिल्ममा पनि इलामकै हरियाली डाँडापाखा र चियाबारीका दृश्य सजिएका छन्। कन्याम चियाबारी झापाबाट इलाम आउँदा बाटैमा पर्ने भएकाले धेरै पर्यटक र फिल्मकर्मीलाई त्यसले तान्छ। ‘पिरती’, ‘दिदी’, ‘पुकार’,‘साथी’ र ‘नोटबुक’ लगायत दर्जनौं फिल्म र म्युजिक भिडियोमा कन्याम छाइसकेको छ। होम–स्टेसमेतको व्यवस्था रहेको अन्तुडाँडामा ‘नोटबुक’, ‘राधा’, ‘झिल्के’लगायतका फिल्म र म्युजिक भिडियो खिचिएका छन्।

‘फिल्म सुटिङ गर्न ठूलो टिम आउने भएकाले स्थानीय पर्यटन व्यवसायमा समेत सहयोग पुगिरहेको छ,’ श्रीअन्तु सामुदायिक होम–स्टेका रुद्र घिमिरे भन्छन्, ‘इलामका भर्जिन पर्यटकीयस्थलमा फिल्म सुटिङ गर्न अचेल धेरै फिल्मकर्मी आइरहेका छन्।’ जिल्लाका गाउँ–गाउँसम्म फिल्मकर्मीको आउ–जाउले यातायात व्यवसायलाई पनि भरथेग गर्ने आशा गरेको पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बा बताउँछन्।

पाँचथरको नवीन पर्यटकीय गन्तव्य साधुटार, इलामसँगै जोडिएको भारतको दार्जिलिङ, मिरिकलगायतका स्थानमा पनि फिल्म सुटिङ गर्नेको संख्या बढ्दैछ। विशेषगरी काठमाडौंबाट आउने फिल्मको टोली इलाम हुँदै पाँचथर र दार्जिलिङसम्मका स्थान पुगेर सुटिङ गरिरहेका छन्।

प्रकाशित: १ कार्तिक २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App