१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मैदान पुगेपछि मात्रै जानकारी

दर्शकिविहीन रंगशालामा दुई कोरियाबीचको खेल दृश्य। तस्बिरः एपी

इन्चोन (एएफपी) – दक्षिण कोरियाका खेलाडीलाई प्योङयाङमा उत्तर कोरियाविरुद्धको कतार विश्वकप २०२२ को छनोट खेल विश्वबाट चुपचुप राखेर खेलाइन्छ भन्ने थाहा थिएन। जुन खेललाई टोटेनह्यामका स्ट्राइकर सन ह्युङ मिनले आक्रामक खेल र अघोषित युद्ध सहरको संज्ञा दिएका छन्।

दुई कोरियाली चिर प्रतिद्वन्द्वीबीचको भिडन्त अन्ततः गोलरहित बराबरीमा टुंगिएको थियो। सारा विश्वलाई गुपचुप राखिएको उक्त खेल हुँदा मैदानमा केही दर्शक मात्र उपस्थित थिए, जसमध्ये एक थिए फिफा अध्यक्ष जियानी इन्फान्टिनो।

उत्तर कोरियाको प्योङयाङस्थित किम आइआई स्टेडियममा भएको ऐतिहासिक प्रतिस्पर्धा दुई कट्टर प्रतिद्वन्द्वी दक्षिण कोरिया र उत्तर कोरियाले गोलरहित बराबरीमा टुंग्याएका हुन्। तर, विश्वकप छनोट चरणजस्तो खेल निकै सन्नाटाको स्थितिमा खेलाइएको थियो। उक्त खेल हेर्न समग्र विश्वलाई नै प्रतिबन्ध लगाइएको थियो। टिभीमा प्रत्यक्ष प्रसारण, समर्थक र विदेशी मिडिया उक्त खेलमा प्रतिबन्धित थिए।

परमाणु हतियार निर्माणका कारण बिग्रिएको यी दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्ध खेलकुदको माध्यमबाट सुधार्ने प्रयास गरिए पनि यस कदमले भने त्यसलाई झल्काउँदैन।

खेलको अन्तिम समयसम्म पनि दक्षिण कोरियाली खेलाडीले दर्शकबिनाको खाली मैैदानमा उत्रिँदै छांै भन्ने थाहा थिएन।

‘हामीले ५० हजार समर्थकको अपेक्षा गरेका थियौं, तर त्यो भएन,’ दक्षिण कोरियाली फुटबल संघका उपाध्यक्ष चोई योङ इलले बिहीबार इन्चोन विमानस्थलमा अवतरणपछि भने, ‘रंगशालाको ढोका नै खोलिएन। म निकै अचम्मित भएँ। खेलाडी र प्रशिक्षक पनि अचम्मित भए।’

टोटेनह्याम हट्सपरका स्टार सन हुङ मिनको कप्तानीको दक्षिण कोरियाले पहिलो पटक उत्तर कोरियाली भूमि प्योङयाङमा खेले पनि सफलता हात पार्न भने सकेन। दक्षिण कोरियाली समर्थकलाई खेल हेर्न जान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। उक्त खेल टिभीमा हेर्नका लागि अझै केही दिन कुर्नुपर्नेछ। दक्षिण कोरियाली टोलीका अफिसियल घर फर्किएपछि उनीहरूले रेकर्ड गरेको डिभिडी ल्याएपछि मात्र उक्त खेल बाहिरिने बताइएको थियो।

दक्षिण कोरियाका एकीकरण मन्त्रीले पनि आफ्नो टोली स्वदेश फिर्ता भएपछि उक्त खेलबारे सार्वजनिक गर्ने उल्लेख गरेका थिए।

‘उत्तर कोरियालीले खेलको रेकर्ड उपलब्ध गराउने वचन दिएका छन्,’ उक्त मन्त्रीले भने, ‘हाम्रो टोली फिर्ता भएपछि मात्र खेलबारे सार्वजनिक गर्छौं।’

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले दुई कोरियाली टोलीबीचको खेललाई विशेष प्राथमिकता राख्दै यस वर्षको सबैभन्दा उत्सुकताका साथ हेरिएको खेलका रूपमा व्याख्या गरेको थियो।

चोईले मैदानमा दर्शक उपस्थित नुहनुको कारण उत्तर कोरियाली अधिकारीसँग मागे पनि उनीहरूले भने उत्तर कोरियाली समर्थक खेल हेर्न इच्छुक नभएको प्रतिक्रिया दिएको बताए।

‘उनीहरुले फिजिकल गेम खेले। भाग्यवश कुनै पनि खेलाडी घाइते भने भएनन्। यो नै ठूलो कुरा हो,’ सनले भने, ‘हामीले त्रासमा खेल्याैं।’

यी दुईबीचको खेलमा फिफा र एएफसीको वेबसाइडमा पनि कमै मात्र प्रत्यक्ष टेक्स लाइभ भएका थिए। जसमा खेलाडी परिवर्तन र कतारी रेफ्री अब्दुलरहमान अल जसिमले खेलाडीलाई देखाएको कार्डबारे मात्र अपडेट भएका थिए। एक मात्र फोटो दक्षिण कोरिया फुटबल संघले पनि आफ्नो वेबसाइड राखेको थियो। दक्षिण कोरियाको टोली प्रशिक्षक र केही व्यवस्थापकसहित सोमबार मात्र प्योङयाङ पुगेका थिए।

टोलीमा रहेका प्रत्येक सदस्यले आफ्नो साथमा रहेको मोबाइल फोन पनि बेइजिङमा रहेको दक्षिण कोरियाली दूतावासमा बुझाएर मात्र प्योङयाङ प्रवेश पाएका थिए। ‘हाम्रा टोलीसँग सञ्चार गर्ने कुनै माध्यम छैन,’ दक्षिण कोरियाली फुटबल संघका एक अफिसियलले भने,‘तर, उत्तरका अफिसियलले इमेलमार्पmत भने केही सूचनाहरू पठाए।’

खेलअघिको पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले आफ्ना दुई सहकर्मी र उत्तर कोरियाका पाँच पत्रकारको मात्र सामना गरेको उल्लेख गरेका छन्। यता, एएफपीका महासचिव विन्डसोर जोनले पनि प्रतिबन्धित व्यवस्था हुने यसअघि आफूहरूले अनुमान गरेको बताएका थिए। ‘हामी दक्षिण कोरियाप्रति परेको अवस्थाबारे जानकार छौं,’ जोनले भने,‘तर त्यो घटनाप्रति आश्चर्यचकित भने छैनौं।’

उत्तर कोरियाद्वारा भएको मिसाइल परीक्षणलाई लिएर दुई देशबीच पछिल्ला समय गर्मागर्मी हुँदै आएको छ। यसका बावजुद पनि खेल खेलाइएको थियो। यद्यपि, यसअघि खेलकुदकै माध्यमबाट दुईबीचको सम्बन्ध सुधारका प्रयास भइरहेका छन्। उनीहरूले यसअघि एउटा झन्डामा रहेर ठूला प्रतियोगितामा पनि खेलिसकेका छन्। फुटबल महासंघले पनि सोही किसिमको प्रयास गरिरहेको छ।

सारा विश्वलाई गुपचुप राखिएको उक्त खेल हुँदा मैदानमा केही दर्शक मात्र उपस्थित थिए, जसमध्ये एक थिए फिफा अध्यक्ष जियानी इन्फान्टिनो।

प्रकाशित: १ कार्तिक २०७६ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App