१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं – देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसं्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन्। कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल) र ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइनेछ। त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइन्छ। स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि सात सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिने छ। मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए। मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ। यी कार्यक्रमका लागि करीब तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक चार सय रुपैयाँ भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ।

 कात्तिक २ र ३ गते ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइने छ। त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको थियो। विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए। उनले भन्ने, ‘भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ।’

भिटामिन ‘ए’ किन आवश्यक
बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यक पर्छ। खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए।

यसैगरी सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्ने अल्वान्डाजोल खानापछि खुवाइने छ। जुकाका कारण रक्तअल्पता, एनेमिया, खाना नपच्ने हुन्छ। त्यस्तै बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ। हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा छन्। पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराबारेमा जानकारी दिइने छ। बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ। ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App