१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

केरुङ जाने कन्टेनरलाई टोकन प्रणाली लागू

रसुवा- रसुवागढी हुँदै चीनको केरुङ जाने कन्टेनरका लागि अब टोकन प्रणालीबाट मात्रै प्रवेश दिइने भएको छ। एक सातादेखि केरुङ प्रवेश नपाएर नाकामै कन्टेनर थुप्रने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले टोकन प्रणाली लागू गरेको हो। रसुवागढीदेखि चीनको केरुङसम्मको २४ किलोमिटर खण्डको ६ ठाउँमा पहिरोका कारण भत्किएको सडक निर्माणका लागि भन्दै चीनको जिओलोङ प्रान्तले नाका बन्द गरेपछि रसुवागढीमा कन्टेनर थुप्रेका हुन्। अहिले चीनले नाका दैनिक एक घन्टा मात्रै आवतजावत खोल्छ।

नाकाबन्दी भएको बेला गाडीलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले बताए। 'चीनको सीमा क्षेत्रदेखि नुवाकोटको बेत्रावतीसम्म कन्टेनरले सडक जाम हुन थालेपछि हामीले ४ दिनअघि यो प्रणाली सुरु गरेका हौं,' प्रहरी नायब उपरीक्षक प्रसाईले भने, 'त्यसपछि चीनबाट प्रत्येक दिन ५० वटा कन्टेर मात्रै आउने र नेपालबाट पनि त्यत्तितै कन्टेनर मात्रै चीन पठाउने व्यवस्था गरेका छौं।'

नुवाकोटको सीमाक्षेत्र बेत्रावतीबाट टोकन लागू हुने उनले बताए। उनका अनुसार बेत्रावतीबाट धुन्चे, स्याफ्रु हुँदै रसुवागढी जाने ठूला कन्टेनरलाई टोकन वितरण गर्ने र निकासी मालसामान लोड गरेका सवारी साधनलाई पहिलो प्राथमिकता दिइने छ। बीचमा सामान झार्ने र फर्कने गाडीको हकमा टोकन लागू हुँदैन। नुवाकोटको सीमा क्षेत्रमा बुझेको टोकन प्रहरी चौकी स्याफ्रुबेसीमा बुझाएर अर्को लिएपछि मात्रै रसुवागढी भन्सार जान पाइन्छ।

बेत्रावतीबाट आएका कन्टेनरको टोकन बुझेपछि स्याफ्रुबेसीबाट प्रत्येक दुई घन्टाको बीचमा १० वटा गाडीलाई मात्रै रसुवागढी जान दिने व्यवस्था छ। फलफूल लगायत बिग्रने सामानको हकमा रसुवागढीमै पार्किङ गर्ने र तयारी पोसाक बोक्ने गाडीलाई यार्डमा पठाउने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक प्रसाईले बताए।

सडकमा अव्यवस्थित पार्किङ हुँदा दुर्घटना समेत बढेकाले अहिले उक्त प्रणाली लागू गरिएको उनले बताए। अव्यवस्थित पार्किङ तथा कन्टेनरको चाप बढेपछि निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको काम समेत प्रभावित भएपछि ऊर्जा मन्त्रालयले नाका सहज र व्यवस्थित बनाउन भनेकाले टोकन प्रणाली लागू गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए।

सडक जाम हुँदा जलविद्युत आयोजनाको काम हप्तौंसम्म प्रभावित हुन थालेपछि यो प्रणाली लागू गरिएको हो। उक्त आयोजना रसुवागढी नजिकै पर्छ। सोही बाटो हुँदै सामान ढुवानी गर्नुपर्दा सडक जामले एक हप्ता काम रोकिएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आर्थिक वर्षको ४ महिनाको अवधिमा कन्टेनरको चापकै कारण १७ वटा सवारी दुर्घटना भएको रेकर्ड छ। जसमध्ये १० वटा मालबाहक कन्टेनर, दुईवटा ट्रक, तीनवटा मोटरसाइकल, एउटा जिप र एउटा टि्रपर दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा परेर १ जनाको मृत्युका साथै ५ जना घाइते भएका थिए।

व्यवस्थित नभई नाका खुल्दैन

चिनियाँ अधिकारीहरु नाका व्यवस्थित नभई पूर्ण रुपमा नखुल्ने बताउँछन्। 'रसुवागढीदेखि करिब ५ किलोमिटर टाढा भूकम्पसँगै वर्षामा गएको पहिरोले सडक राम्रोसँग सुधार भइसकेको छैन। त्यसलाई व्यवस्थित गर्नु पहिलो प्राथमिकता हो,' चीनका अधिकारीलाई उद्धृत गर्दै व्यापारी मकुन्द पौडेलले भने, 'तत्काल नाका खोल्नुभन्दा पनि व्यवस्थित बनाएर खोल्ने बताउँछन्।' रसुवागढीदेखि केरुङसम्म ६ ठाउँमा साना तथा ठूलो पहिरो गएको छ, कतै ब्लास्टिङ गरेर सडक खुलाउने कार्य र बाटो स्तरोन्नति गर्ने कार्य भइरहेकाले नाका बन्द गरिएको हो।

के छ रसुवागढीमा समस्या?

चीनतर्फ रसुवागढीदेखि केरुङसम्मको मार्ग दुई लेनको निर्माण भए पनि नेपालतर्फ ग्राभेल समेत राम्रोसँग भएको छैन। 'चीनको खम्बाटारदेखि केरुङसम्मको २४ किलोमिटर दुई लेनको छ। नेपालतर्फ स्याफ्रुबेसीदेखि रसुवागढीसम्म अझै ग्राभेल पनि गरिएको छैन,' रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले भने, 'व्यापार सहज बनाउन सडक र जलविद्युतसँग पहल गरेर रसुवागढीसम्मको बाटो जसोतसो सुधारको काम भन्सार कार्यालयले गर्नुपरेको छ।'

साँघुरो र जोखिमयुक्त बाटो भएकाले दुर्घटनालाई मध्यनजर गर्दै कन्टेनर चालकले फुल फेजमा सामान बोक्न समेत सकिरहेका छैनन्। ९ देखि १० टन सामान भन्सार गरेर पठाए बीच बाटोमै गाडी फस्ने समस्या रहेको भन्सार प्रमुख पनेरुले बताए। यस्तै समस्या समाधानका लागि भन्सारले पनि सडकको सुधारमा लागेको उनको भनाइ छ। 'बाटो बनाउने काम त भन्सारको होइन तर यहाँ त व्यापारीको समस्यालाई लिएर आफैंले पहल गर्नुपरेको छ,' उनले भने, 'नाका सञ्चालन भएपछि ९० भन्दा बढी गाडी अट्ने यार्ड निर्माण गरेर पार्किङको व्यवस्था मिलाए पनि गाडीको चापका कारण पार्किङको अभाव अझै छ।'

प्रकाशित: १४ मंसिर २०७३ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App