१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहकारीबाट ठगिँदै सेवाग्राही

स्याङ्याजा– स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ।

वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो।

उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट एक वर्ष पहिले ६० लाख रुपयाँ ऋण लिएकोमा अहिले उक्त रकमको साँवा र ब्याज बुझाएर खाता बन्द गर्न खोज्दा ८४ हजार ५०० लिएको उनको गुनासो थियोे। 

‘मैले सहकारीबाट निकालेको रकमको साँवाब्याज सबै बुझाएर खाता बन्द गर्छुभन्दा पनि सुख पाइन’ उपाध्यायले भनिन्, ‘मैले अन्य बैंकबाट सस्तो ब्याजदरमा पैसा पाएपछि  साँवा, ब्याज र सेवा शुल्कसमेतको रकम तिरिसकेपछि सहकारीले आफूसँग  बढी रकम लिएको छ।’

ऋण लिएपछि पहिला १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले ब्याज बुझाउँदै आएकामा सहकारीले तीनैजना शेयर सदस्यको र घरकोसमेत बीमा गर्नुपर्ने भन्दै बीमाबापतको ३२ हजारसमेत लिएकाले आफू अन्यायमा परेको भन्दै गुनासो गर्दा कतै पनि सुनुवाइ नभएको उनको गुनासो छ। 

जिल्ला सहकारी सङ्घका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले ब्याज र नवीकरण शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नमिल्ने र योभन्दा अन्य शीर्षकमा रकम लिनु ठगी भएको बताए।

यसबारे संस्थाकी अध्यक्ष गैह्रेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। वालिङ नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले सो विषयमा नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र संस्था तथा शेयर सदस्यबीचको आन्तरिक कुरा भएकाले एकापसमा बसेर विवाद मिलाउन भनिएको बताए। रासस

प्रकाशित: ३० आश्विन २०७६ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App