१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'केही भएन भन्नेले आँखा खोलेर हेर'

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सरकाले केही पनि गरेको छैन भनेर आलोचना गर्नेलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन्। पार्टीले दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ। लोकतन्त्र आएको छ। मुलुकले विकासको बाटो समातेको छ। नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं। आँखा खोलेपछि मात्र सबै देखिन्छ।’

ओलीले सामन्त वर्गले मात्र मुलुकमा ‘केही पनि भएको छैन’ भनेर हल्ला पिटाएको बताए। ‘उनीहरुका हिजो घर थिए, गाडी थिए, उद्योग थिए, कलकारखाना थिए, छोराछोरी विदेशमा पढेकै थिए। उनीहरु अहिले पनि सम्पन्न नै छन् त्यसकारण केही पनि नभएको हल्ला गर्छन्। बूढाबूढीलाई गएर सोध्नुस् केही भएको छ कि छैन’, उनले भने। प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमा लागु गरिएको, जनताको लगानीमा जलविद्युत् आयोजनाहरू बनिरहेको, ऊर्जामा जनतालाई सेयर दिएको, पोखरा र लुम्बिनीमा एयरपोर्ट बनिरहेको, फास्ट ट्र्याकको काम द्रुतगतिमा भइरहेको, पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम सकिएको, सयौं ठाउँमा पुल बनिरहेको, तुइनहरु विस्थापित भइरहेकाले आँखा चिम्लेर सरकारले केही पनि गरेन भन्नु पूर्वाग्रहमात्र भएको बताए। उनले अब चतराबाट २० मिनेटमा स्टिमरबाट भोजपुर पुग्न सकिने पनि बताए।

‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ। लोकतन्त्र आएको छ। मुलुकले विकासको बाटो समातेको छ। नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं। आँखा खोलेपछि मात्र सबै देखिन्छ।’

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भारत, चीन र नेपाल त्रिदेशीय साझेदारी रणनीतिअनुसार अघि बढ्नुपर्ने बताए। ‘मैले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा यो विषयमा कुरा उठाएको थिएँ,’ दाहालले भने, ‘अहिले त्रिदेशीय साझेदारी, खासगरी आर्थिक विकास रणनीतिको कुरा भारत र चीनले पनि उठाउन थालेका छन् र नयाँ परिस्थिति बन्न थालेको छ।’

दाहालले जनताको आकांक्षा पूरा गर्न राजनीतिक दलहरुबीच सुदृढ सम्बन्ध र एकता हुनुपर्नेमा जोड दिए। ‘हामीले नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने छ। राष्ट्रिय एकताको उचाइका साथ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै विकास र समृद्धिको आकांक्षा पूरा गर्न जरुरी छ,’ उनले भने।

दाहालले संविधानसभाबाट संविधान जारी भएपछि सात दशक लामो आन्दोलन संस्थागत भएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनबाट सात दशक लामो आन्दोलनको उपलब्धि संस्थागत भएको छ।’ उनले नेपालमा भएको परिवर्तनले गर्व गर्ने मौका पाएको बताउँदै राजनीतिक स्थायित्व आफैंमा सकारात्मक भएको टिप्पणी गरे।

दाहाल कार्यक्रमलाई सुरुमै सम्बोधन गरेर बाहिरिएका थिए। चितवनस्थित दाहालको निर्वाचन क्षेत्रमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम तथा राप्ती महोत्सवमा माग लिन उनी अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग बिदा मागेर हिँडेका थिए। ‘उहाँको निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम तथा राप्ती महोत्सव भएकाले चाँडै जानु भएको हो’, दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने।

नेकपाको चियापानमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता कार्यक्रमले दलहरुबीचको सम्बन्ध नजिक ल्याउने काम गरेको बताए। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देउवाले नेपाली कांग्रेसले सुरु गरेको चियापान कार्यक्रमलाई अन्य दलहरुले पनि पछ्याउन थालेकाले यसबाट सकारात्मक सन्देश गएको बताए। ‘शुभकामना आदानप्रदान र चियापान जस्ता कार्यक्रमबाट दलहरुबीचको सम्बन्ध नजिक बनाउने काम भएको छ’, उनले भने।

कार्यक्रममा नेकपा नेता माधवकुमार नेपालले उपचुनावसम्म मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका थिए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले मन्त्रिपरिषद्मा हेरफेर गरे चुनाव प्रभावित हुन सक्ने तर्क गरे। ‘मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। तत्तकाल मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छैन। भए पनि त्यसपछि होला’, उनले भने। उनले चियापान कार्यक्रमले एकआपसमा सदभाव व्यक्त गर्ने र राजनीतिक दलका नेताहरुबीच सम्बन्ध सुमधुर बनाउने काम गरेको बताए।

नेकपाका सचिवायल सदस्य वामदेव गौतमले ओलीपछि दाहाल प्रधानमन्त्री हुने बताए। सञ्चारकर्मीले दाहाल कहिले प्रधानमन्त्री हुन्छन् भनेर सोधेको प्रश्नमा गौतमले भने, ‘ओलीपछि दाहाल नै प्रधानमन्त्री हो।’ चियापान कार्याक्रममा नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमानसिंह, रामशरण महत, विदेशी कूटनीतिक नियोगमा प्रतिनिधि, एमाले नेताm कार्यकतालगायत सहभागी थिए।

प्रकाशित: ३० आश्विन २०७६ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App