१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नियन्त्रण उन्मुख चाइनिज सिट्रस फ्लाइ प्रकोप

विपी राजमार्गस्थित सिन्धुलीको खनियाखर्कका जुनार व्यापारीलाई किरा व्यवस्थापन गर्न प्लाष्टिक वितरण गरिदै । तस्विर: अनिल/नागरिक

सिन्धुली– लामो समयदेखि विकराल समस्याको रुपमा देखिएको फल कुहाउने किराको प्रकोप नियन्त्रण उन्मुख हुन थालेको छ। जुनारको दानामा फल कुहाउने तथा औषा पार्ने झिंगा चाइनिज सिट्रस फ्लाई व्याक्ट्रोसेरा मिन्याक्सले चिन्तित जुनार कृषकलाई यस बर्षदेखि नियन्त्रणमा आएपनि खुसी भएका छन्।

जुनार क्षेत्रमा नमुनाको रुपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष जिल्लाका विभिन्न स्थानका थप  गैचामा प्रोटिनबेट(औषधि) छरेपछि औषधिको प्रभावले चाइनिज सिट्रस फ्लाइ नियन्त्रणतर्फ आएको जुनार कृषकले बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई(जुनार सुपर जोन) कार्यालयले जुनारमा लागेको किरा नियन्त्रण गर्नका लागि अभियानकै रुपमा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गरि स्प्रेकर्ताहरुलाई पारिश्रमिक दिएर समयमै औषधि छर्नका लागि प्रेरित गरेसँगै किसानले औषधि छरेपछि विगतको वर्षभन्दा यस बर्ष किराको प्रकोप घटेको हो।

गत बर्ष यहाँको गोलञ्जोर गाउँपालिका ४ तिनकन्यामा नमुनाको रुपमा करिब ८ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको नमुना परिक्षणनै प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरि किरा नियन्त्रण गर्ने अभियान सुरु गरिएको जुनार सुपर जोन कार्यालयले जनाएको छ। क्षेत्रगत किरा नियन्त्रण कार्यक्रममा फलमा किरा देखिएको जुनारको बोटमा प्रोटिन बेट नामक औषधिको प्रयोग गरिएको थियो। औषधिको प्रयोग गरेसँगै किरा नियन्त्रणतर्फ आएको जुनार कृषक बताउँछन्। 

यष वर्ष विगतको वर्ष जस्तो औषधी पार्ने किराको समस्या छैन्, जुनार कृषक कृष्ण थापामगरले भने, ओसिलो स्थानमा जुनारमा पुतलीको केहि समस्या देखिएको छ, तर चाइनिज सिट्रस फ्लाइ औषा पार्ने किराको समस्या घटेको छ। नमुना परिक्षणका लागि गरिएको सो औषधिनै प्रभावकारी भएपछि यस वर्ष जिल्लाभरको जुनारको उत्पादन हुने क्षेत्रमा औषधि वितरण गरि स्प्रेकर्ताहरुलाई बगैचामा स्प्रे गर्न लगाइएको थियो।

किरा नियन्त्रणतर्फ आएको पाइएको छ, कति प्रतिशत नियन्त्रणमा आयो भन्ने कुरा किसानलेनै भन्ने हो, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई(जुनार सुपर जोन) कार्यालयका प्रमुख देबराज अधिकारीले भने, हाम्रो तथ्याङक र हालसम्मको अवस्थालाई हेर्दा झन्डै ८५ प्रतिशत किरा नियन्त्रणमा आएको छ। उनले प्रोटिन बेट छरिएका स्थानमा नियन्त्रणमा आएपनि औषधि नछरेको बगैचामा किराको समस्या भएकाले सबैले औषधि छर्नुपर्ने बताए।

कार्यालयको ५० प्रतिशत अनुदानमा उक्त ग्रेट फ्रुट फ्लाई बेट(हाईड्रोलाइज प्रोटिन) उपलब्ध गराउनका लागि किसानको तर्फबाट ५० प्रतिश रकम जम्मा भएपछि कार्यालयले थप पचास प्रतिशत बजेटबाट उक्त औषधि खरिद गरि स्प्रेकर्तामार्फत बगैचामा पु¥याएको थियो। जुनारको फल कुहाउने औषा पार्ने किराको पोथी झिगाले फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र तत्कालिन सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट फल दिने जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक जहानसिंह कार्कीले जनाए। यो सस्तो र भरपर्दा विषादी हो, उनले भने–‘स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउने र मर्ने भएकाले यस बर्ष किराको समस्या धेरै देखिएको छैन्। 

व्यापारीलाई प्लाष्टिक वितरण
जुनारको कारोबार गर्ने जुनार व्यापारीले समेत किरा नियन्त्रणका लागि सजग हुनुपर्ने भन्दै जुनार व्यापारीलाई किराको नियन्त्रण गर्न प्लाष्टिक वितरण गरिएको छ। जुनार सुपर जोन कार्यालयले औषा परेर कुहिएको जुनार जथाभावी फाल्दा त्यसको किरा पुन अर्को वर्ष जुनारमा देखिने भएकाले त्यसलाई व्यवस्थित गरि प्लाष्टिकमा प्याकिङ गरेर उचित व्यवस्थापन गर्न प्लाष्टिक वितरण गरिएको जुनार सुपरजोन सञ्चालक समितिका अध्यक्ष गोविन्द लुङगेलीले जनाए। उनका अनुसार जुनार विक्रि गरिने गोलञ्जोर गाँउपालिकाको खनियाखर्क तथा सदरमुकाम सिन्धुलीमाढीका व्यापारीलाई प्लाष्टिक वितरण गरि कुहिएका जुनारलाई उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App