१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिथिला कलामा मुस्लिम महिला

क्यानभासमा मिथिला आर्ट कोर्दै मुनी खातुन। तस्बिर : मिथिलेश/नागरिक

लहान – उन्नाइस वर्षअघि श्रीमानको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनीमा आयो। छोरी सलमा खातुन काखमै थिइन् जब उनका पिताले यस दुनियाँबाट बिदा लिए। सलमासहित ६ जना छोराछोरीको लालनपालनको भार मुनीमाथि प-यो। जनकपुर–४ की मुनी खातुनका लागि आफू सम्हालिएर बच्चा हुर्काउनु उति सजिलो थिएन।

अक्षरसँग भेट नभएकी उनलाई कलिला बालबच्चा लालनपालन गर्न कुनै उपाय फुरेन। एक महिना जसोतसो पिताको घरमा आश्रय लिएर आफूलाई सम्हाल्ने कोसिस गरिन्। त्यसपछि उनी लागिन् रोजगारीको खोजीतर्फ। अलिक दिन मजदुरी (लेबर)को काम गरिन्। तर, भारी काम गर्न उनको शरीरले साथ दिएन।

उनी मजदुरीको काममा धेरै समय टिक्न सकिनन्। बेकामे बस्दा घरखर्च चलाउन मुस्किल भयो। अब के गरेर यतिका बच्चाको जीवन धान्ने भन्ने चिन्ताले रन्थनिइन् उनी। त्यही बीचमा उनको दिमागमा एउटा उपाय फु-यो। राजमिस्त्री पिताका कारण छिमेकी अजित साहसँग घनिष्ट थियो खातनु परिवार।

मुस्लिम समुदायको भए पनि अजितको परिवारसँग खातुन परिवारको राम्रो हिमचिम थियो। हिन्दुहरूको पर्वमा खातुन परिवार निम्ता मान्थे। मुस्लिमको पर्वमा साह परिवार खातुनको घर निम्ता मान्न पुग्थे। साह जनकपुर आर्ट एन्ड क्राफ्टका प्रबन्ध निर्देशक हुन्। कलामा जोडिएका कारण साह जातपात, सम्प्रदायको घेराभन्दा अगाडिको सोच राख्छन्। त्यसैले सामाजिक हिसाबले दुई फरक सम्प्रदाय र धर्म मान्ने यी दुई परिवारबीचको पारिवारिक सम्बन्ध फराकिलो थियो।

दुई दशक अघिदेखि नै खातुन र साह परिवार धार्मिक पर्वमा एकअर्काको घरमा निम्ता मान्न पुग्थे। यही घनिष्टताले आज मुनी खातुनलाई ६ वटा बच्चा हुर्काएर आत्मनिर्भर बनाउन सकेको छ।

मिथिला आर्टको क्यानभासमा आफ्नो नाम चम्काउन सफल मुनीले ललितकला प्रज्ञा प्रतिष्ठानको मिथिला कला कार्यशाला लहानमा आइतबार नागरिकसँग भावुकता पोखिन्, मुना बौबा (अजित)ले हौसला नबढाएको भए म कहाँ हुन्थे मेरा बालबच्चा कहाँ हुन्थे ?
अलमलिएर बसेकी मुनीलाई उनका पिताले अजितको कला केन्द्रतर्फ डो-याइदिए।
मुनीलाई काकी (अन्टी) सम्बोधन गर्ने अजितले उनको हातमा ब्रस थमाइदिए। ब्रस समातेर कलाको क्यानभास स्पर्श गर्नेबित्तिकै आँसुले पाना भिज्थ्यो। तर, पछिबाट अजितले हौसला बढाउँदै आँसु पुछिदिन्थे। त्यो क्षण सम्झिँदै मुनी भन्छिन्, पन्ध्र दिनजति लाग्यो ब्रसमा रङ चोपेर क्यानभासमा जीवन्त कला उतार्न।

उनले आफ्नो कलामा निखार ल्याउन दिनरात मिहिनेत सुरु गरिन्। काममा लगन र दृढ अठोट भएपछि गर्न नसकिने केही छैन। दिमागमा राखेर अनवरत मिथिला कला क्यानभासमा उतार्दै गइन्। यो काम गर्दा उनलाई पत्तै भएन मुस्लिम समुदायमा जीवन्त कला कर्म गर्न बन्देज छ भनेर।

जब उनको लगनले कलामा निखार आउन थाल्यो समुदायबाट यो कलाकर्मबाट पछि हट्न सामुदायिक दबाब सुरु भयो। तर, उनी हरेस खाइनन्। समुदायलाई सम्झाउँदै उनी आफ्नो कलाकर्ममा लागिरहिन्। धर्मगुरु (मौलाना)हरूलाई आफ्नो बाध्यता बताउँदै आफूले गरेको कामका बारे सम्झाउन थालिन्।

के पेटका लागि गरेको काम गुनाहु(अपराध) हो ?’ मौलानाहरूसँग उनले प्रश्न राख्ने गर्थिन्। पछि मौलानाहरू पनि मुनीको तर्कबाट सहमत हुँदै गए। उनी सम्झिन्छिन्, पछि मौलानाहरू पनि हौस्याउन थाले काम गरेर बच्चा हुर्काउनु कुनै गुनाह होइन।

बुलन्द हौसलाका साथ लगनशील भएर मिथिला पेन्टिङमा उन्नाइस वर्षदेखि जोडिएकी मुनी यही पेसाबाट कमाएर पाँच छोरीको विवाह गर्न सफल भएको बताउँछिन्। ‘अब त छोराछोरीजस्तै यो कलाप्रति माया लाग्छ,’ उनले भनिन्।

उनले कोरेको कला अहिले विश्वबजारमा बिक्री हुन्छ। ‘विश्वभरका धनवानहरूका घरका भित्तामा मेरो कला झुन्डिएको छ,’ उनी भन्छिन्, मिथिला कलाले मेरो परिवार मात्र सम्हाल्ने अवसर जुराइदिएन, मलाई गर्वको अवसर पनि जुराइदियो। कलाले हिन्दु मुस्लिम भनेर दूरी बढाउने काम नगर्ने उनी बताउँछिन्। भन्छिन्, कलाले सबै धर्म, संस्कृति र संस्कारलाई जोड्ने काम गर्छ।

उनी प्रत्येक शुक्रबार कर्मथलोमै आफ्नो धर्म परम्पराअनुसार नवाज पढ्छिन्। मिथिला कला उत्कृष्ट कला भएको उनको बुझाइ छ। मिथिलाको सभ्यता, रहनसहन, जीवनशैलीलाई चित्रको माध्यमले प्रस्तुत गर्ने कला कसरी धार्मिक घेरामा खुम्चिन सक्छ ?’ उनी प्रश्न गर्छिन्। यस क्षेत्रको सभ्यताभित्र सबै धर्म र जाति समेटिएका छन्।

पहिचान मिथिला आर्ट
मिथिला क्षेत्रको घर–आँगनको शृंगारका लागि कोरिँदै आएको मिथिला कलाले विश्व बजार मात्र पाएको छैन, मिथिलवासीको पहिचानसमेत स्थापित गरेको छ। अहिलेको नेपाल र भारतको नक्शामा मिथिला राज्य भेटिँदैन। तर, इतिहासमा भारतको उत्तरी बिहारदेखि नेपालको तराईसम्म मिथिला राज्य थियो।

जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले अग्रणी मानिन्थ्यो। पहिला माटाका घरले भरिएको मिथिला क्षेत्र पक्की घरको स्वरूपमा लम्किँदै छ। ‘यद्यपि, मिथिला क्षेत्रले आफ्नो क्षवि गुमाइसकेको भने छैन,’ ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एससी सुमन भन्छन्, कुनै समय जातिविशेषमा सीमित मिथिला आर्ट अहिले विश्वभर फैलिँदै छ।

मिथिला आर्टमा नयाँ प्रयोग
चाडपर्व वा विवाहलगायत उत्सवमा आँगन र भित्तामा कोरिने मिथिला आर्ट अहिले लोक्ता (नेपाली कागज), कपडा र क्यान्भासमा पनि उतार्न थालिएको छ। ‘पहिले घरगाउँकै सजावटमा चित्र बनाउने चलन थियो,’ जनकपुर आर्ट एन्ड क्राफ्टका प्रबन्ध निर्देशक अजित साह भन्छन्, अहिले प्रयोग बृहत बन्दै गएको छ।

आँगन र पर्खालमा बुट्टा कोर्ने काममा प्रायः महिला सरिक हुन्थे। तर, यो शृंगारिक कलालाई लोक्ता वा क्यान्भासमा उतार्न थालेयता महिला–पुरुष दुवैको सहभागिता बराबरीजसो छ। यद्यपि, गाउँ–घरमा अझै पनि महिलाहरूले नै कोहबर, बाँस, लट्पटिया सुगा, विधि–विधाता आदि विषयमा कला कोर्ने गरेका छन्।

उसो त पछिल्लो समय मैथिल मूलबाहेकले पनि मिथिला कलामा रुचि देखाउन थालेका छन्। ‘मैथिल कलामाथि नयाँ पुस्ताले नयाँ–नयाँ प्रयोग गरिरहेका छन्,’ साह भन्छन्, कतिले त आधुनिक कलालाई पनि मिथिलासँग संयोजन गरी नयाँ कला निर्माण गरिरहेका छन्।

मिथिला कलाको बजार बढेसँगै कलाकारले पनि ‘एक्स्पोजर’ पाइरहेका छन्। देश–विदेशमा मिथिला कला प्रदर्शनी हुन थालेको छ। आउँदो २० मेदेखि अमेरिमा हुने आर्ट प्रदर्शनीमा भाग लिन जनकपुर आर्ट एन्ड क्राफ्टका अजय साह जाँदै छन्। मिथिला लोक कलाको बजार बढे पनि नेपालमा यसले उचित स्थान नपाएको कलाकारको गुनासो छ।

प्रकाशित: २९ आश्विन २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App