१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला लिगको ट्रफी सार्वजनिक

काठमाडौं – बुधबारबाट काठमाडौंमा हुने वुमेन च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको विजेता टिमले पाउने ट्रफी मंगलबार सार्वजनिक गरिएको छ ।

मंगलबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले महिला फ्रेन्चाइज प्रतियोगितामा विजेताले पाउने ट्रफी सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुने खेलमा किटक्याट काठमाडौं र चितवन राइनोजबीच उद्घाटन खेल हुनेछ ।

५ सहरका ५ टोलीको सहभागिता रहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले मंगलबार जानकारी दियो । विजेताले प्राप्त गर्ने ट्रफीलाई पाँच टोलीका मार्की खेलाडी र क्विन इभेन्ट्स म्यानेजमेन्टका कार्यकारी अधिकृत छुम्बी लामाले सार्वजनिक गरे ।

‘हाम्रो लक्ष्य भनेको समाजमा लुकेका महिला क्रिकेटरलाई उजागर गर्नु हो,’ कार्यकारी अधिकृत लामाले भने, ‘नेपाली महिला क्रिकेट पनि पछिल्लो समय राम्रो हुँदै आएको छ । पुरुष क्रिकेटजस्तै महिला क्रिकेटरलाई पनि अवसर दिएको खण्डमा महिला क्रिकेटले पनि राम्रो गर्न सक्छन् ।’
क्याट क्विनकी कप्तान रुबिना क्षेत्रीले आफ्नो टोली बलियो भएको र उपाधि जित्नका लागि हकदार भएको बताइन् ।

‘बुधबार कीर्तिपुरमा महिला लिगको उद्घाटन खेल हुँदा सबै नेपालीको ध्यान केन्द्रित हुनेमा म विश्वस्त छु,’ क्याट क्विन्सकी कप्तान रुबिनाले भनिन्, ‘घरेलु मैदानमा पहिलो पटक धेरै दर्शकअगाडि खेल्दै छौं त्यसैले उत्साहित छौं । यो प्रतियोगितामा मेरो टोली सबैभन्दा बलियो जस्तो लाग्छ ।’

कात्तिक ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सिसीको स्कुटर र ५० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने आयोजकले यसअघि नै जानकारी दिएको थियो ।

 

प्रकाशित: २९ आश्विन २०७६ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App