१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युक्रेनको टिकट पक्का

पेरिस – युक्रेनले पोर्चुगललाई सोमबार २–१ ले पराजित गर्दै युरो कप २०२० का लागि छनोट भएको छ। यससँगै युक्रेन युरो कप २०२० का लागि छनोट हुने पाँचौं टोली भएको छ।

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि गोल गरे पनि हारलाई टार्न सकेनन्। रोनाल्डोले करियरको ७ सयौं गोल पूरा गरेका छन्। युरो कपमा स्थान बनाउनका लागि सोमबार युक्रेनले पहिलो हाफमा गोल गर्दै भ्रमणकारी टोलीलाई दबाबमा राखेको थियो। युक्रेन अन्तिम १८ मिनेटमा १० खेलाडीमा सीमित भएको फाइदा उठाउन असफल पोर्चुगलका लागि रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता छोट्याएका थिए। अग्रता बनाइसकेको युक्रेनले अन्तिम समयतिर रक्षात्मक बन्दै पाहुना टोलीका प्रयासलाई विफल पारेको थियो।

समूह ‘बी’ मा रहेको युक्रेनले छैटौं मिनेटमा नै गोलको खाता खोलेको थियो। रोमन यरम्चुकले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। अग्रता बनाए पनि आक्रामक रणनीतिलाई अवलम्बन गरिरहेको युक्रेनले २७औं मिनेटमा एन्ड्री एरमोलेन्कोले गोल गर्दै अग्रता २–० मा पु¥याए। पहिलो हाफमा २–० को अग्रता बनाएको युक्रेनलाई ७२औं मिनेटमा नराम्रो झट्का लागेको थियो। टारेस स्टेफेन्कोले दुई पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि युक्रेन बाँकी समय १० खेलाडीमा खेल्नुपरेको थियो। कम खेलाडी भएको फाइदा उठाउँदै खेलमा फर्किन संघर्षरत पोर्चुगलले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो।

‘खेलमा कुनै दिन भाग्यले साथ दिँदैन। अनेकांै प्रयास गरे पनि बलले गोलको दिसा लिन सकेन,’ पोर्चुगलका मिडफिल्डर ड्यानिलोले भने, ‘भूतलाई सम्झेर व्याख्या गर्नुभन्दा भविष्यमा राम्रो गर्ने संकल्प गर्नु राम्रो हुन्छ। अझै दुई खेल बाँकी छन्। ती खेलमा जित निकाल्न सके हाम्रो ढोका उघ्रिनेछ।’

समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अपराजित रहेको युक्रेनको सोमबारको जितसँगै समूहतालिकामा १९ अंक भएको छ। सात खेलमध्ये ६ खेलमा जित र एक खेल बराबरी खेलेको युक्रेन समूह ‘ए’ को एक मात्र अपराजित टोली हो। पराजित पोर्चुगल ६ खेलबाट ११ अंकका साथ समूहतालिकाको दोस्रो स्थानमा छ।

यस्तै युरो कप छनोटअन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा इङ्ल्यान्डले बुल्गेरियालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ। फराकिलो जित निकाले पनि इङ्ल्यान्ड छनोटका लागि अर्को खेल कुर्नुपर्ने भएको छ।

फराकिलो जित दिलाउन इङ्ल्यान्डका कप्तान ह्यारी केन र मार्कुस रसफोर्डले समान एक गोल गर्दा रोस बाक्र्ली र रहिम स्टर्लिङले समान दुई गोल गरे। इङ्ल्यान्डका लागि रसफोर्डले सातौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। २०औं र ३२औं मिनेटमा बाक्र्लीले गोल गर्दै अग्रता ३–० मा पु¥याउँदा स्टर्लिङले ४५औं र ६९औं मिनेटमा गोल गर्दै इङ्लिस टोलीको अग्रता फराकिलो पारेका थिए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा केनले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए।

यससँगै समूह ‘ए’ को इङ्ल्यान्डको ६ खेलबाट १५ अंक भएको छ। लज्जास्पद पराजय भोगेको बुल्गेरिया ३ अंकका साथ समूह तालिकाको पुछारमा छ। समूह ‘ए’ कै अर्को खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २–० ले पराजित गर्दा समूह ‘बी’ को सर्बियाले लिथुआनियालाई २–१ पराजित ग¥यो। समूह ‘एच’ का टोली फ्रान्स र टर्कीले १–१ को बराबरी खेल्दै अंक बाँडे। सोही समूहमा आइसल्यान्डले एन्डोरालाई २–० तथा अल्बानियाले मोल्डोलाई ४–० को फराकिलो अन्तरले पराजित गरे।

प्रकाशित: २९ आश्विन २०७६ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App