१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘स्वदेशमा लगानी बढाऊ’

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत। तस्बिर : प्रदिपराज वन्त/रासस

दिलीप पौडेल/होम लम्साल

काठमाडौं – गैरआवासीय नेपालीले जन्मभूमीमा लगानी भित्र्याउनभन्दा प्रचारबाजी बढी गर्ने गरेको आरोप लागिरहेका बेला सरकारसहित सरोकारवालाले स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्।

मंगलबार राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलन उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासम्मले स्वदेशमा लगानी बढाउन आग्रह गरे।

राष्ट्रपति भण्डारीले व्यक्तिगत र सामूहिक लगानी ल्याउन एनआरएनलाई आग्रह गरिन्। ‘लगानीका लागि मुलुकमा वातावरण बनेको छ,’ उनले भनिन्, ‘विदेशमा आर्जन गरेको सीप र पुँजीलाई नेपालमा ल्याउनुहोस्।’ मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले पूर्वाधार क्षेत्रमा लगानीको खाँचो रहेको उनले औंल्याइन्।

‘स्थिर सरकार बनेकाले ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भनिन्, ‘लगानीका लागि सरकारले वातावरण तयार गरेको छ।’ उनले एनआरएनहरुले सामाजिक र लोककल्याणकारी क्षेत्रमा गरेको लगानीको प्रसंशा गरिन्। सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मनाउन सहयोग गर्न पनि भण्डारीले आग्रह गरिन्।

नेपालमा विकसित हुँदै गईरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई  आह्वान गरिन्।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले विदेशमा रहेका नेपालीबाट वार्षिक ६०/७० अर्ब रुपैयाँ लगानीको अपेक्षा गरेको बताए। सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न सहयोग चाहिएको बताए। ‘१० हजार मेगावाट विद्युत् उत्पादन गर्न २० खर्ब रुपैयाँ लगानी चाहिन्छ,’ खतिवडाले भने, ‘बैंकले ७० प्रतिशत ऋण लगानी गरे पनि बाँकी पुँजी आवश्यक छ। त्यसमा तपाईंहरुले लगानी गर्नुहोस्।’

अर्थमन्त्री खतिवडाले जलविद्युत् क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने बताए। उनले छिमेकी मुलुकबाट ऊर्जा आपूर्ति गरेर संकट समाधान गरेकाले ऊर्जामा लगानीको अवसर रहेको बताए। एनआरएनएसहित निजी क्षेत्रले गर्ने लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताए।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको आर्थिक समृद्धिमा सघाउन आग्रह गरे। ज्ञवालीले सरकार लगानीको वातावरण बनाएर सहकार्य गर्न तत्पर रहेको बताए। ‘आर्थिक समृद्धिका लागि एनआरएनसँग सहकार्य गर्न तयार छ,’ उनले भने।

एनआरएनसँग साझेदारी गरेर लगानी गर्न निजी क्षेत्र तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्। सरकारले गैरआवासीय नेपालीको सीप र पुँजी प्रयोगमा ल्याउन सुझाव दिइन्। अध्यक्ष राणाले सरकारले अघि सारेको भ्रमण वर्ष सफल पार्ने काममा सहयोग गर्न पनि आह्वान गरिन्। ‘भिजिट नेपाल २०२० लाई सफल बनाउन विदेशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण छ,’ उनले भनिन्, ‘विदेशमा रहे पनि स्वदेशको समृद्धिमा सघाउन सकिन्छ।’

विदेशमा रहेका नेपालीले आफूले विदेशमा सिकेको ज्ञान, सीप, पुँजीलाई स्वदेशमा लगानी गर्न तत्पर रहेको बताए। राष्ट्रपतिदेखि अर्थमन्त्रीसम्मले लगानीको वातावरण बनेको दाबी गरे पनि एनआरएनका नेताहरुले लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने सुझाव दिए।

संघका अध्यक्ष भवन भट्टले एनआरएन जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार रहेकाले सरकारले वातावरण बनाउनुपर्ने बताए। ‘नीतिगत रुपमा एनआरएनएले उठाएका मुद्दा सरकारले सम्बोधन गर्नुपर्छ,’ भट्टले भने, ‘त्यसपछि अझै लगानी बढ्ने वातावरण बन्छ।’

संघका पूर्वअध्यक्ष शेष घलेले पनि लगानी बढाउन नीतिगत सुधारको आवश्यकता रहेको बताए। ‘अहिलेसम्म लगानी नाफा केन्द्रितभन्दा पनि भावनात्मक रुपमा गरेका छौं,’ उनले भने, ‘सरकारले नीतिगत सुधार गर्नुपर्छ।’

सम्मेलनको अवसरमा स्वदेशमा लगानी वृद्धिका लागि समूहगत छलफल पनि भएको थियो। आर्थिक उन्नतिका लागि स्रोतहरुको परिचालन विषयक कार्यक्रमका बहालवालादेखि पूर्वअर्थमन्त्री, निजी क्षेत्रका प्रतिनिधिसम्मले स्वदेशमा लगानीको अवसर रहेको बताएका थिए।

कार्यक्रममा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुकले आर्थिक उदारीकरणको नीति लिएकाले लगानी गरेर फाइदा लिन आग्रह गरे। ‘विदेशमा बसेर कमाएको आम्दानी नेपालमा लगानी गर्न सकिन्छ,’ उनले भने, ‘यहाँ लगानीका लागि अवसर छ।’ निजी लगानी बढाउन एनआरएनको भूमिका महत्वपूर्ण हुने उनले बताए।

महतले ४६ सालपछि नेपालले सुरु गरेको आर्थिक उदारीकरणले आर्थिक विकासमा योगदान गरेको बताए। विदेशबाट लगानी ल्याउन अहिलेको प्रशासनिक संयन्त्रको काम गर्ने शैली परिवर्तन गर्नुपर्ने उनले सुझाए। ‘लगानी ल्याउन सरकारले संस्थागत क्षमता पनि विकास गर्नुपर्छ,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले मुलुकमा लगानीको वातावरण बनेको बताए। ‘अहिले नेपालमा लगानीको वातावरण बनेको छ,’ उनले भने, ‘लगानी गरेर मुनाफा आर्जन गर्न सकिन्छ।’ एनआरएनले लगानी गरेका परियोजना सफल भएको दाबी पनि उनले गरे। कपितय आयोजनामा सामुहिक लगानी गर्न सकिने बताए। ‘जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानीको अवसर छ,’ उनले भने।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले मुलुकको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान गरे। ‘विदेशी पर्यटक आकर्षित गर्न पर्यटकीय क्षेत्रमा लगानी गर्न सकिन्छ,’ मोरले भने। मुलुकमा एनआरएनले गरेको लागनीको यकिन तथ्यांक नभए पनि विदेशबाट वार्षिक सात खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स आउने गरेको छ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २८ सय प्रतिनिधि सहभागी छन्। विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ। आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित: २९ आश्विन २०७६ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App