१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दसैंको फोहोर दश दिनपछि उठ्यो

दोलखा - भीमेश्वर नगरपालिकाको चरिकोट बजार क्षेत्रमा दसैंको अवधिमा थुप्रिएको फोहोर १० दिनपछि बल्ल उठेको छ । दसैं बिदाका कारण सदरमुकाम चरिकोटको फोहोर लामो समय नउठ्दा बजार क्षेत्र दुर्गन्धित बनेको थियो । फोहोर उठाएर व्यवस्थापन गर्ने जिम्मा पाएको एउटा निजी कम्पनीले दसैंयता सोमबारसम्म चरिकोट बजार क्षेत्रको फोहोर उठाउन सकेको थिएन ।

दसैं अवधिभरको फोहोर मंगलबार दिउँसोसम्म बजार क्षेत्रका सबै ठाउँबाट उठाइसकिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । ‘दसैं बिदा अवधिभर फोहोर नउठेपछि ताकेता गरेर उठाउन लगायौं,’ खड्काले भने, ‘मंगलबार बिहानसम्म बजार क्षेत्रमा थुप्रिएको सबै फोहोर उठिसकेको छ ।’

भीमेश्वर नगरपालिकाले वडा नं ७ स्थित एडिबी फोहोर मैला कवाडी प्रोसेसिङ एन्ड मल उत्पादन केन्द्रलाई ३८ महिनाका लागि फोहोर उठाउन ठेक्का दिएको छ । त्यसबापत नगरपालिकाले उसलाई ३८ महिनाको ५१ लाख रुपैयाँ रकम दिने सम्झौतामा उल्लेख छ । फोहोर संकलन गर्ने सो कम्पनीले चरिकोट बजार क्षेत्र बढार्नुपर्नेलगायत विषयसमेत उल्लेख भए पनि सम्झौताअनुसार काम भएको छैन । फोहोर उठाउँदा ढुवानी गर्ने गाडी भने नगरपालिकाले उपलब्ध गराउने उल्लेख छ । कम्पनीका सञ्चालक ध्रुव बस्नेतले दसैं बिदाका कारण फोहोर उठाउने काम ५ दिन मात्र रोकिएको दाबी गरे । ‘कर्मचारीले समेत दसैं मान्नुपर्ने कारण फुलपातीदेखि टीकाको भोलिपल्टसम्म्म ५ दिन नउठेको हो,’ उनले भने, ‘२३ गतेदेखि निरन्तर फोहोर उठाएका छौं ।’

नगरपालिकाले गत वैशाख ५ गते सम्झौता गरेर सो कम्पनीलाई ३८ महिनाका लागि ठेक्का दिएको थियो । कम्पनीले भने जेठबाट मात्र कामको जिम्मेवारी लिएको थियो । यसअघि आफैं फोहोर उठाउँदा मासिक १८ लाख रुपैयाँसम्म खर्च हुने गरेको र निजी क्षेत्रलाई दिँदा अहिले मासिक १ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च भएको अधिकृत खड्काले सुनाए ।

‘उहाँहरूलाई व्यवस्थापन गर्ने जिम्मा दिँदा नगरले धेरै ठूलो रकम बचाएको छ,’ उनले भने, ‘अब सम्झौताअनुसार फोहोरको प्रशोधन गरेर प्रांगारिक मल बनाउनेतिर लाग्न भनेका छौं, राम्रो व्यवस्थापन गरेर कार्यान्वयन भयो भने सरसफाइमा नमुना नगर बनाउन सक्छौं ।’ निजी कम्पनीलाई ठेक्का दिँदा नगरले यसअघि आफू मातहत रहेका २ जना सवारीचालक र ९ कूचीकारलाई निजी कम्पनी मातहत रहने गरी हस्तान्तरण गरेको थियो ।

ठेक्का सम्झौताअनुसार एडिबी फोहोरमैलाले दोलखा बजार र चरिकोट बजारको पशुपति डाँडादेखि सातदोबाटो, बसपार्क, पार्टीखोला, मानेडाँडा सिमपानीलगायत क्षेत्रमा फोहोर संकलन गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित: २९ आश्विन २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App