१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपामा उम्मेदवार चर्चा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छान्न गृहकार्य थालेको छ । मंगलबार सचिवालयको अनौपचारिक बैठकमा उम्मेदवार छनोटबारे छलफल भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणबारे समीक्षा गर्ने भनेर बोलाएको बैठकमा उपनिर्वाचनसम्बन्धी कुरा उठेपछि थप छलफल गर्न बुधबार सचिवालय बैठक बालाइएको छ ।

‘उपनिर्वाचन आइसकेकाले त्यसको तयारी थाल्न ढिला भइसकेको छ । उम्मेदवार छनोट प्रक्रियामा तल्लो तहको सिफारिस आवश्यक भएकाले तयारी थाल्नेगरी सिफारिस पठाउन तल्लो तहका कमिटीलाई निर्देशन दिन लागिएको हो’, स्रोतले भन्यो ।

पार्टीको आन्तरिक विषयम भएकाले यसलाई तत्काल बाहिर नल्याउने तथा आगामी कात्तिक २ गते सचिवालय बैठक डाक्ने त्यसअघि प्रदेश कमिटी र जिल्ला कमिटीबाट उम्मेदवार सिफारिस माग्ने तयारी भएको स्रोतले बतायो । मंगलबार नै गण्डकी प्रदेश कमिटीको बैठकसमेत बसेको थियो ।

व्यवस्थापनमा जुट्यो आयोग
निर्वाचन आयोगले उपनिर्वाचन व्यवस्थापनको तयारी थालेको छ । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका एक सदस्य, प्रदेशसभाका तीनजना सदस्य, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, वडाध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामवलीसमेत स्वीकृत गरेको छ । उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामवली अद्यावधिक गरिएको आयोगका प्रवक्ता गिरिजा शर्माले बताएका छन् । मंसिर १५ को उपनिर्वाचन प्रयोजनका लागि कुल मतदाता संख्या ४ लाख ५४ हजार १ सय १४ छ । तीमध्ये २ लाख ३३ हजार ४ सय २ जना महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नं. २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुरमा ४५ हजार १५ जना, बागलुङमा ३६ हजार ९ सय २६ जना, दाङमा ७३ हजार १ सय ७२ जना मतदाता छन् । आयोगले मतदान केन्द्रसमेत तोकिसकेको छ । ११ सय मतदाता हुनेगरी एक मतदान केन्द्र तोकिएको छ । २ सय ४७ स्थानमा ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित: २९ आश्विन २०७६ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App